बिहिबार, ०३ असोज २०८१

२० वर्ष नपुगी सुदूरपश्चिममा ४ हजार बढीले बच्चा जन्माए, बाजुरामा मात्रै ४ सय नाघे

बाजुरा : सुदूरपश्चिम प्रदेशमा उमेर नपुग्दै चार हजार बढी महिलाले बच्चा जन्माएको तथ्याकं रहेको छ । ती मध्ये बाजुरामा ४ सय ३८ आमाले बच्चा जन्माएका छन् । कानुन अनुसार २० वर्ष नपुगी बच्चा जन्माउनु अवैध कार्य हो । यस्तो संख्या वर्षेनि बढ्दै गएको छ ।

उमेर नपुग्दै बच्चा जन्माउने महिलाको संख्या सबैभन्दा बढी कैलालीमा देखिएको छ । स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कले सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९र८० मा ४ हजार ४५५ महिला २० वर्ष नपुग्दै आमा बनेको देखाएको छ। सो वर्ष प्रदेशभर ४२ हजार ६४२ महिला सुत्केरी भएको तथ्याङ्क छ ।

जसअनुसार कुल सुत्केरीको १० दशमलव ४५ प्रतिशत महिला २० वर्ष नपुग्दै सुत्केरी भएका छन्। कैलालीमा आर्थिक वर्ष २०७९र८० मा एक हजार ७१९ महिला २० वर्ष नपुग्दै आमा बनेका छन्। तथ्याङ्कले बझाङमा ४६८ महिला २० वर्ष नपुग्दै सुत्केरी भएका छन्।

यसैगरी कञ्चनपुरमा ४११, अछाममा ४०९, डोटीमा ३२६, डडेल्धुरामा २५९, बैतडीमा २३३ र दार्चुलामा १९५ महिला २० वर्ष नपुग्दै आमा बनेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ। यस्तै आर्थिक वर्ष २०८०र८१ मा सुदूरपश्चिममा कुल ३८ हजार ८५३ महिला सुत्केरी भएका छन्। जसमध्ये २० वर्ष भन्दा कम उमेरमा सुत्केरी हुनेको सङ्ख्या ४ हजार ३८ देखिएको छ।

यो कुल आमा बन्ने जनसंख्याको १० दशमलव ३९ प्रतिशतमा हो। गत आर्थिक वर्षमा २० वर्ष नपुग्दै आमा बन्ने महिलाको संख्या कैलालीमा बढी छ। कैलालीमा १ हजार ४५८ जना महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन्। गत आर्थिक वर्ष कञ्चनपुरमा ५०३, बझाङमा ३९९, अछाममा ३७८, डडेल्धुरामा ३१०, डोटीमा २७२, बाजुरामा २६४, दार्चुलामा २२९ र बैतडीमा २२५ महिला २० वर्ष पूरा नहुँदै आमा बनेका छन्।

प्रतिक्रिया दिनुहोस