बिहिबार, ०३ असोज २०८१

जस्ले समाजवादी पार्टी बनाउन विद्रोहको गरे, आन्तरिक चुनावमा आफै बढारिए

नेकपा एसमा एसमेन खोजी हुँदा झाँक्री, खतिवडा र सोडारी विश्वासमै परेनन्

काठमाडौँ : नेकपा एकीकृतले गएको असारमा सम्पन्न महाधिवेशनबाट पूर्ण पदाधिकारी छान्न सकेन् । प्रतिनिधी बीच चुनाव गराउन नेतृत्व डरायो र समझादारी गराउन आँटै गरेन् । अनुकुलका र आफूले रुचाइएका पात्रहरु नआउने निश्चित भएपछि ९९ जनाको कमिटी घोषणा गर्दै महाधिवेशन सकायो । त्यो बेला अध्यक्षमा माधव कुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल र महासचिव धनश्याम भुषाल मात्रै छानीए । 

प्रतिनिधीहरु अन्योलका बीच घर फर्किए । विधी, प्रक्रिया र व्यक्तित्वमा फरक परिचय दिने र वैकल्पीक धारका रुपमा स्थापित हुने विद्रोको अडान पुरा गर्न सकेन र कार्यकर्ता निराशा बोकेर घर फर्किए । महाधिवेशनका दुई महिना पनि कस्लाई केन्द्रीय सदस्य बनाउने र कस्लाई छुटाउनेमै समाजवादीका नेताहरु अल्झीए । सुरुमा २ सय ९९ जनाको केन्द्रीय कमिटी बनाउने घोषणा गरेपनि नेतृत्वले थेग्न सकेन् । अन्तः ३ सय ४४ सदस्यीय जम्बो टोली घोषणा गरियो । 

सकसपूर्ण तरिकाले केन्द्रीय सदस्यको टुंगो लगाएपनि बाँकी पदाधिकारी सर्वसम्मत गराउन फेरि नेतृत्व असफल भयो र केन्द्रीय कमिटी बैठकमा मतदान गरायो । १७ सदस्यीय पदाधिकारीका लागि अन्तिममा आएर चुनाव भयो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत भएपनि अन्य सबै पदमा चुनाव गरियो । चुनावको परिणाम पनि घोषणा भइसकेको छ । ३ सय ४४ जना मध्ये २२ जनाले मतदानमा भाग नै लिएनन् । 

व्यक्ति नमान्ने, विधी मान्ने, व्यक्ति पुजा छोडेर पार्टी प्रणालीमा विश्वास गर्ने, एक पद एक व्यक्तिको अवधारणा लागु गर्ने, आचरणमा सफा र गुटरहीत पार्टी बनाउने माधव कुमार नेपालको उद्घोष पार्टी विभाजन गरेका थिए । तर भदौ ११ को चुनावको झल्को हेर्दा तत्कालिन एमालेमा रहँदा भन्दा गुटको पीडा उम्मेदवारहरुले समाजवादीमा सहन पर्यो । 

विद्रोमा साथ दिएका, आम कार्यकर्ताले रुचाएका र भविष्यको आश गरिएका भन्दा आफ्नाहरुलाई नै जिताउने गरि नेताहरुले मतदान स्थलमा चिट नै बाँडे । मन नपरेकालाई छानी छानी तह लगाए । निर्वाचित पदाधिकारीको सूची हेर्दा माधव र धनश्याम दुबै गुटका मिश्रीत अनुहार विजयी भएका छन् । तर अधिकाशं अनुहार व्यक्ति पुजाका अनुयायी र भक्तीभाव गर्नेहरु नै छन् । 

जस्ले पार्टी विद्रोहमा मुख्य स्ट्राइकरको भूमिका निर्वाह गरे, जवाफ प्रतिवादमा उत्रिए, एमाले र ओली विरुद्ध खरोरुपमा उत्रिए ती अनुहारले हारेको देखिन्छ । त्यसको पहिलो उदारण हुन्, रामकुमारी झाँक्री । मुखमा टेप बाँधेर ओली विरुद्ध अराजनीतिक शैलीको भाषण गर्नु देखि, व्यक्तिगत रुपमा इगोहटका अभिव्यक्ति दिनेमा रामकुमारी पहिलो नम्बरमा थिइन् । यतिसम्मकी निर्वाचन आयोगमा पार्टी दर्ताका लागि माधव कुमार नेपालीलाई हात तानेरै पुर्याइन् । तस्वीरको दृश्य हेर्दा त्यही देखिन्छ । 

त्यो वापत समाजवादी पार्टीले विभाजन पछि बनाएको केन्द्रीय पदाधिकारीको सचिवमा अटाइन् । दुर्भाग्य तीनै झाँक्री अहिले आन्तरिक चुनावमा हारिन् । महिला उपाध्यक्षमा उम्मेदवार बनेकी झाँक्रीले जयन्ती राईसँग ठुलो मतान्तरले हारिन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । झाँक्री युवा पुस्ताले आश गरिएकी र आत्मबलका साथ बोल्न सक्ने नेतृ हुन् । तर पार्टी चुनावमा झाँक्रीलाई अन्तिममा माधव नेपालले धोका दिए, मतदाताले पत्याएनन् र हार्न पुगिन् । उनलाई पुरानै पार्टी एमाले र ओलीका पक्षमा बोल्ने गरेको आरोप पनि लाग्ने गरेको छ । 

झाँक्री जस्तै विद्रोहका अगुवा थिए, रामचन्द्र झा । माधव नेपालका विश्वास पात्र । मधेसको ठेका आफूले पाएको दम्भ झामा थियो । ओली र एमाले विरुद्ध खरो उत्रिने मध्येका झा, मुलधारका नेता हुन् । तीनै झा ले मधेशी कलस्टरको उपाध्यक्ष पदमा धर्मनाथ प्रसाद शाहसँग हार बेहोरे । शाहले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मतमा चित्त बुझाए । सबैभन्दा खरो देखिएका विरोध खतिवडा पनि पराजित बने । नाम जस्तै विरोधले पनि ओली र एमाले विरुद्ध विरोध गरिरहे । जो हालपनि आफ्नो कर्म जारी राखेका छन् । ४ जना खुला उपाध्यक्षको पदमा उम्मेदवारी दिएका विरोधले अन्तिममा आएर हारे । उपाध्यक्षमा प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर र भानुभक्त जोशी विजयी भए । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद पाण्डे सर्वसम्मत भए । डाक्टर विजयकुमार पौड्याल देखि सुदूरपश्चिमका उर्वादत्त पन्तले पनि चुनाव हारे । 

उपमहासचिवमा पनि नामी अनुहार बाहिरिएका छन् । गरिमा शाह, राजेन्द्र राइ, मेटमणी चौधरी र रामकुमार भट्टराई विजयी हुँदा हरि पराजुली, नागेन्द्र चौधरी, शत्रुधन महतो जस्ता माधव नेपालका सारथी बाहिरिएका छन् । हरि पराजुली एमालेको आयु सकिएको निष्कर्ष सहीत बामदेव गौतमसँग जोडिए पछि समाजवादी भएका पात्र हुन् । 

झाँक्री र विरोध जस्तै पार्टी विभाजनमा प्रमुख सहयोगीको भूमिका निर्वाह गरेका दीर्घ सोडारी र नरेश कुमार शाहीले पनि चुनाव हारे । ५ जना खुला सचिव पदमा २६ जनाको उम्मेदवारी थियो । शेरबहादुर कुँवर, चन्द्र बहादुर शाही, सोम प्रसाद पाण्डे, सावुत्री भुसाल र श्रीनाथ बरालले चुनाव जिते । तर दिर्घ सोडारी, नरेश कुमार शाही र हस्त शाही जस्ता माधवको काध थापेकाहरुले हार्नु परेको छ । ५३ मतमा चित्त बुझाए । शाहीले भने सोडारीको भन्दा १३ मत बढी पाए । 

यो दृश्यबाट पनि पार्टी बनाएहरुले न्याय पाएको भन्न सकिन्छ त । अरुको योगदान नै छैन, भनेको होइन् । तर बेशी योगदान र साथ अवश्यै दिर्घ नरेशहरुको थियो । भीम रावल जस्तो प्रभावशाली नेताको गृह प्रदेशमा सोडारीले चुनौति दिएर एमालेसँग संसदीय दलमा बहुमत सांसद समाजवादीमा राख्न सफल भएका थिए, सोडारी । आफ्नो नेता, अभिभावक र बाटो छोड्दाको परिणाम के हुने रैछ, बल्ल सोडारीले थाह पाए होलान् । तर चुनाव हार्नु भनेको राजनीति सकिनु भने होइन्, सिकाइ पनि हो, थप बलियो हुनु पनि हो ।

नरेश शाहीले सिंगो युवा पंक्तिको देश व्यापी अगुवाई गरे । हाइ हाइ देखि जिन्दावादका नाराले माधवको पक्षमा युवा समर्थन जुटाउन योगदान गरे वापतको सजाय नरेश, दिलु, हस्तहरुले पनि पाए । टिका थापेर, आशिर्वाद दिएर बनाएको केन्द्रीय कमिटीले न्याय र योगदानको कदर गर्नेमा आशंका नै थियो, त्यही भएको बुझाइ पनि समाजवादी भित्रका इमान्दार कार्यकर्ताको छ । 

हुन त, यो पार्टी हो की माधव समूह हो, पहिचान बाँकी छ । दुई पूर्व प्रधानमन्त्री भएको पार्टी, एमालेको विकल्पमा बनेको वैकल्पिक पार्टी राष्ट्रिय दल नै हुन, सकेन् । अरुको बैशागी विना उभिनै मुस्कील छ, समाजवादीलाई । पार्टी हो, की समूह केन्द्रीय महाधिवेशनकै निर्णय शैलीले प्रमाणित गरिसकेको छ । 

चुनावमा गएपछि एक हार,जीत स्वभाविक हो । तर समाजवादी पार्टीमा झाँक्रीहरुको हार, राजनीतिक भविष्य माथिको प्रश्न जस्तै हो । युवाको खोजी भइरहेको नेपाली राजनीतिमा समाजवादीको चुनावले सबै जसो युवाहरुलाई पराजित गरिदिएको छ । यो सन्देशले पनि समाजवादी राजनीतिक भविष्य बोकेको पार्टी भन्दा पनि व्यक्तिको इगो र रिस बोकेको पार्टी हो, भन्नेमा प्रमाणित गरिदिएको टिप्पोणी हुन थालेको छ ।  
 

प्रतिक्रिया दिनुहोस