शुक्रबार, ०२ कार्तिक २०८१

खप्तड छेडेदह ६ नाइनाको बस्ती नै पहिरोको जोखिममा, ६० बढी परिवार विस्थापितको खतरा

बाजुरा : खप्तड छेडेदह गाउँपालिका ६ नाइनाको सिंगो बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ । गाउँको तलबाट सडक निर्माण पछि सिंगो बस्ती नै जोखिममा पर्ने गरि पहिरो खस्न सुरु भएको छ । मार्तडी थामलेक सडक निर्माण पछि २०७५ सालबाट पहिरो बग्न थालेको स्थानीय रमेश विष्टले बताएका छन् ।  

पहिरोका कारण नाइनाका २५ परिवार पूर्णरुपमा विस्थापितमा छन् । भने ६० बढी परिवार उठिबासको चिन्तामा छन् ।  सुरुको वर्ष सामान्यरुपमा पहिरो लाग्यो, पछि विस्तार बस्ती नजिकैबाट पहिरो बग्न थालेको पहिरो प्रभावित जोगी विष्टले बताएका छन् । पहिरो घरको आँगनसम्मै पुगिसकेको छ ।  

पहिरो लगातार बगिरहेको छ । सडक पुरै भासिएर पैदल यात्रा समेत असंभव छ । आवत जावत गर्ने स्थानीय र छिमेकी गाउँका स्थानीयले गाउँको शिरमा पर्ने बेणुसैनबाट पैदल हिँड्न बाध्य छन् । सिंगो बस्ती सार्न सकिने अवस्था नभएपछि स्थानीय ननिदाएरै रात काट्ने गरेका छन् । पानी नपरेको दिन निद्रा परेपनि पानी पर्न सुरु भएपछि घर बाहिर निस्केर जागराम बस्नु पर्ने बाध्यता रहेको स्थानीय पहिरो पीडितको साझा गुनासो छ ।

गाउँमा रहेको चदारा बस्तीकै बीचमा पहिरो बग्न थालेको छ । स्थानीय चदारा टोलमा बस्ने धनसरा चदारा, प्रेम चदारा, जया चदारा, राम चदारा, विर्ख चदारा, सुनिल चदारा र धने चदारा सहीत ९ परिवार खरक हालेर बस्न थालेका छन् । उनीहरुले आफू बस्ने घरहरु नै छोडी सकेका छन् ।  

पहिरोबाट स्थानीय वीर विष्ट, राम विष्ट, प्रेम विष्ट, अम्म विष्ट, शेर बहादुर विष्ट, राम विष्ट, जोगी विष्ट, नन्दु विष्ट, राम विष्ट, विर्ख विष्ट, भक्त विष्ट, कलक विष्ट, दीपेन्द्र विष्ट, भाने विष्ट, वीर बहादुर विष्ट, सुरेश विष्ट, सौरे विष्ट, राम विष्ट आइते विष्ट, वीरु विष्ट, तुल विष्ट, आइते विष्ट, केशे विष्ट, खडक विष्ट, वीरेन्द्र विष्ट, जया विष्ट र सिद्ध गन्दर्भ सहीत २५ परिवार पूर्णरुपमा विस्थापित हुने खतरा छ ।

रात दिन पहिरो बग्ने गरेको छ । बस्तीको तल १२ मिटरको सडक निर्माण गरिएको छ । डोजरले सडक निर्माण गरेकै वर्षदेखि गाउँमा पहिरो बग्न थालेको हो । सिंगो बस्ती सार्न मिल्ने अर्को वैकल्पीक ठाउँ छैन् । सहज बासका लागि नजिकै खुला चौर पनि नहुँदा स्थानीय घरकै कौशीमा बसेर रात काट्ने गरेका छन् ।

दिनमा गाई गोरु चराउने र खेतको काम गर्नु पर्ने हुँदा बिर्से जस्तो हुन्छ, जब साँझ घर फर्कियो, मनमा डर पस्छ, रात नपरेको भए हुन्थ्यो जस्तो लाग्ने गरेको भन्नु हुन्छ, स्थानीय शेरबहादुर विष्ट । पाँच वर्षदेखि स्थानीय तहलाई अनुरोध गर्दापनि बेवास्ता गरिएको आरोप स्थानीयको छ ।  

पानी पर्नासाथ पहिरो बग्न थाल्छ, सिंगो बस्ती नै बगीसक्यो भन्ने चिन्ता लाग्ने गरेको छिमेकी गाउँ मैतोलाका स्थानीयको भनाई छ । उनीहरु रातदिन पहिरो बगेको हेर्दैमा बिताउने गरेका छन् ।बस्ती ढिलो चाँडो पहिरोमा भासिने खतरा भएकोले समयमै विकल्प खोजिनु पर्ने माग स्थानीयले गर्दै आएका छन् ।  

स्थानीय तहले पनि तत्काल बस्ती सार्ने कुनै योजना बनाएको छैन । पाल दिएर बर्खा काट्ने योजना बाहेक पालिकासँग पनि अर्को योजना देखिदैन । यो वर्ष त्यही पाल समेत दिएको छैन् । पालिकाको तर्फबाट कोही कसैले वास्ता नगरेको गुनासो स्थानीयको छ । 

पालिका अध्यक्ष दीलबहादुर रावत र उपाध्यक्ष बिसुदेवी नाथ पहिराले बस्ती उठिबास हुन लाग्दा पनि अनुगमनका लागि नआएको स्थानीय रमेश विष्टले बताएका छन् । उपाध्यक्ष नाथ स्वयम त्यही वडाकी स्थानीय हुन् । ६ नम्बर वडाका अध्यक्ष हर्कबहादुर विष्टको घर समेत पहिरोको जोखिममा छ । 

घर भित्रको समान अस्तव्यस्त छ । बालबालिका र महिला पानी परेकै रात खरक छाना र गोठ छानाको चिसो सहदै बिताउन बाध्य छन् । विद्यालय जान बालबालिकाले समयमै खाना र बासको व्यवस्था पाएका छैनन् । समस्या हेर्दा नै कहाली लाग्दो देखिने गरेको छ । महिला बालबालिकालाई रातभर जागराम बस्नु पर्ने समस्याले चिसोको संक्रमण हुन सक्ने खतरा बढेको छ । 

स्थानीयले हरेक वर्ष कष्कटर दैनिक बिताउनुपर्ने बाध्यता छ । तर समाधान र सहजताका लागि कहिँ कतैबाट पहल गरिएको देखिदैन् । तर गाउँपालिकाले भने सडककै कारण भए उचित व्यवस्थापन सहीत निर्माण बारे छलफल भइरहेको र बाँकी सिंगो बस्ती सार्ने कुरामा माथिल्लो तहलाई जानकारी गराएको बताउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस