शनिबार, ०६ पुष २०८१

अध्यक्ष र उपाध्यक्षको अन्तरद्धन्द्धमा अल्झियो खप्तड छेडेदह

अध्यक्षसँग काम गर्न साहस छैन्, उपाध्यक्षले पार्टीको घेरा तोडेर सहयोग गर्दिनन्

मिनबहादुर खड्का 
बाजुरा : 
खप्तड छेडेदह गाउँपालिका विगत एक वर्ष यता अन्यौल र अन्तरसंघर्षमै चलेको देखिन्छ । पालिकाका ७ मध्ये ५ वडा र उपाध्यक्ष नेपाली काँग्रेसले जितेको छ । भने अध्यक्ष सहीत २ वटा वडा नेकपा एमालेले जितेको छ । दुई पार्टीको जितको प्रत्यक्ष प्रभाव पालिकाको विकास निर्माण र कर्मचारी व्यवस्थापनमा पनि परेको देखिन्छ । 

अध्यक्षले काम सुरु गर्न खोज्दा उपाध्यक्षले असहयोग गर्ने र बहुमतको दम्भ सहीत विकास निर्माणका काममा पनि बाधा अड्चन सिर्जना गर्ने कामको श्रृखला चलिनै रहेको छ । पालिका अध्यक्ष दिलबहादुर रावतले चुनाव जितेर पद बहाली गरेको दिन निशुल्क एम्बुलेन्स सेवा सञ्चालनका लागि एम्बुलेन्स खरिद गर्ने निर्णय गरे । तर त्यो कार्यान्वयन हुन दिइएन् ।

 कार्यान्वयन हुन नदिएको आरोप उपाध्यक्ष माथी लगाइएको छ । अध्यक्षले गरेका एकल निर्णयहरुलाई उपाअध्यक्ष सहितको टिमले अश्विकार गर्ने र असहयोग गर्दै आएको उपाध्यक्ष निकट श्रोतको दावी छ । निर्णय जसले गरेपनि राम्रो कुरामा जनप्रतिनिनिधिहरु एकताबद्ध भएर कार्यान्वयन गर्नुपर्नेमा उल्टै बिरोध गर्नु उचित बिषय नभएको सर्वसाधारणको बुझाई छ ।

अध्यक्षले गरेको घोषणामा उपाध्यक्ष सहीत बहुमत पालिका सदस्यले सोझै असहयोग गरे । यति निर्णय कार्यान्वयनमा उपाध्यक्ष सहीतले गरेको असहयोगबाटै पालिका भित्र दुई पार्टी बीचको अन्तर संघर्ष चलिरहेको छ । अध्यक्षले पार्टीसँगको समन्वय नगरि काम गर्न खोजेको विषयलाई पनि उपाध्यक्ष विसु नाथ सहीतको टिमले राजनीति आँखाले हेर्ने गरेको प्रमाण एम्बुलेन्स खरिदबाटै सुरु भएको देखिन्छ । 

कार्यपालिका भित्र पनि विकास निर्माणका भन्दा बढी पार्टी योजना र एजेण्डाका विषयमा बहस छलफल र दबाब हुने गरेको कर्मचारी श्रोतकै दाबी छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बहुमत सदस्य भएको दल आवद्धलाई अदृश्य तरिकाले सहयोग गर्ने र केही काममा अध्यक्ष उपाध्यक्षलाई समेत नाघेर निर्णय लिने गरेको सर्वसाधरणले प्रमुख प्रशासकिय अधिकृत माथि लगाउने गरेका छन् । तर प्रमुख प्रशासकिय अधिकृत जोशी भने यो कुरा स्विकार्ने पक्षमा छैनन् । यो आफुमाथि लगाइएको मिथ्या आरोप मात्रै रहेको प्रमुख प्रशासकिय अधिकृत जोशीको दावी छ । 

पालिकामा पछिल्लो समयमा देखिएको साँस्कृतिक विचलनको विषयलाई पनि नैतिकतासँग जोड्नु पर्ने र सम्बन्धीत व्यक्तिलाई कर्मचारीको रुपमा निरन्तरता दिन नसकिने अडान लिएका छन् । भने उपाध्यक्षले पार्टीको एजेण्डा नै बोकेर यस्ता काम सबैले गर्न सक्छन्, केही फरक पर्दैन, भन्ने खुलेआम बचाउ गर्दै आएकी छन् ।

यो गाउँ सभाको बजेटमा समेत बहुमतको आडमा एकलौटी गरेको अध्यक्ष निकट श्रोतको दाबी छ । भने उपाध्यक्ष सहीतका कार्यपालिका सदस्यले पालिकाको दिर्घकालिन महत्वको योजना भन्दा पार्टी कार्यकर्ता र केही आफ्ना अनि अनुकुलका वडामा बजेट बढी विनियोजन गरेको अवस्था छ ।

त्यसमा प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले आफ्नो अनुकुल हुने र स्वार्थ बाझिने योजनामा बजेट विनियोजन गर्न लगाएको श्रोतको दाबी छ । 
पालिका अध्यक्ष दिलबहादुर रावत गाउँ सभा समापन गरिएपनि बजेटको बाँकी काम र विमतिको विषयलाई छलफल नगरिए र प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष सहीतको टिमको एकलौटी गर्ने तरिकालाई सुधार नगरिएसम्म बजेट कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन नदिने मानसिकतामा देखिन्छन् ।  

पालिकामा हरेक कुरामा विवाद र राजनीति हुने गरेको छ । अध्यक्ष रावतले सही योजना र सामुहीक कामको प्रस्ताव गरेपनि उपाध्यक्ष नाथ सहीतको टिमले हुदै नहुने भन्दै असहयोग गर्ने गरेका छन् । उसोत पालिका भित्रै काँग्रेस निकटहरुले पनि निवर्तमान गाउँपालिका अध्यक्ष नरबहादुर रावत र शिक्षक संघका नेता पदमबहादुर रावतको निर्देशन हाबी भएकोमा आपत्ती जनाउने गरेको पाइएको छ ।

अध्यक्ष जिताउन पनि रावत दाजुभाइ लागेको र अहिलेपनि पालिका अध्यक्ष दिलबहादुर रावत उम्मेदवारी दिएको पार्टी नेकपा एमाले भन्दा बाहिर रहेर हरेक साँझ घरमै पुगेर सल्लाह लिने र खानपीन हुने गरेको आरोप पनि छ । दुबै तिरबाट लाग्ने आरोपको अध्यक्ष उपाध्यक्ष दुबैले खण्डन गर्ने र विमति जनाउने गरेका छन् ।

जनताको माग र आवश्यकता भन्दा जनप्रतिनिधीका चाहना र रोजाइका योजनामा बढीले प्राथमिकता पाउने गरेको सर्वसाधारणको आरोप छ । एक पक्षले अर्को पक्षको कुरा सुन्दैनन् । एक पक्षले गर्न खोजेको राम्रो काममा समेत अर्को पक्षले समर्थन नगर्ने गरेको पाइएको छ । 

गाउँसभाले गरेका कतिपय निर्णयहरु कार्यपालिकाबाट पारित हुदैनन् । कांग्रेसको बहुमत भएकाले कार्यपालिकाबाट स्वीकृत नभएको एमाले निकट श्रोतको आरोप छ । आफु अनुकुल अध्यक्षले बिना सहकार्य निर्णय गर्ने गरेको कांग्रेस निकट श्रोतको आरोप छ । यहीँ आरोप प्रत्यारोपका बीच खप्तड छेडेदहले विकासमा गति लिन सकेको छैन् । 

संभावना र अवसरमा खप्तड पहिलो हो । उत्पादन, पशुपालन, पर्यटन र खेलकुदका लागि प्रचुर संभावनाको पालिकामा जनप्रतिनिधीकै कारण समस्या विकासको खाका कोरिन ढिलाइ भइरहेको छ । पहिलो कार्यकाल पनि लगानी बढी उपलब्धी कममै बित्यो, यो पनि त्यो भन्दा गतिलो हुने सुरुवादी संकेत नभेटिएको आरोप जानकारहरुको छ । 

पालिकाका विरुद्ध पालिकाका युवा विद्यार्थीले सामाजिक सञ्जाल मार्फत विरोध गरिरहेका छन् । पालिकाको कार्यशैलीमा गुनासो गरिरहेका छन्, तर अध्यक्ष उपाध्यक्ष सहीतको टिम त्यसमा कुनै जिम्मेवार र जानकार देखिदैन् ।आर्थिक वर्ष २०७९ भाद्र १० गते  आर्थिक वर्षमा रोजगार सहायकका लागि गरिएको विज्ञापनको अझै टुंगो छैन्, योग्यहरुलाई नै अयोग्य सावित गरेर त्यस यता कुनै प्रक्रिया नै सुरु गरिएको छैन् । अनुकुलको मान्छे ननिस्कीने भएपछि अध्यक्ष उपाध्यक्ष दुबै पक्षले कुनै उम्मेदवार पनि सफल नभएको परीक्षाफल प्रकाशित गरेका थिए ।

वर्षदिन बितिसक्दा पनि नखोजिएपछि चौतर्फी आलोचना र विरोध भइरहेको छ । यता प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशी बचाउका लागि मात्रै छिट्टै खोल्ने तयारी भइरहेको बताउँछन् । पालिकाको शैक्षिक स्तर खस्कीदै गएको छ । विद्यालयका दरबन्दी अभाव छ । पालिकाले संरचना विकासका लागि गरिएको लगानी अनुसारका भवन समयमै निर्माण भइरहेका छैनन् । झन उल्टै ठेकेदारको संरक्षण गर्ने गरिएको छ ।

दर्जनौ बस्ती विद्युत सेवाबाट वञ्चित छन् । खानेपानीको समस्या स्वयम पालिका केन्द्र रहेको डोगटीमा नै चरम छ । उपचारका लागि बयालगडा जानु पर्ने बाध्यता छ । तर जानका लागि एम्बुलेन्स छैन् । पालिका केन्द्रमै नेट इन्टरनेट सहीतको फोन सेवा प्रभावकारी नभएको अवस्था छ । प्रत्यक वडामा सडक पुगेको भएपनि स्त्तरउन्नति  हुन  सकेको छैन । ५ महिना मात्र गाडी सञ्चालन हुन्छन् ।

सिँर्चाको पहँचमा गाँउपालिका बासि छैन् । सिचाँइको असुबिधाका कारण उत्पादन कम हुन्छ , बारिमा फलाएको अन्न ५ महिनालाई समेत पुग्दैन,  पेट पाल्नकै लागी भारत जानेहरुको लहर रोकिएको छैन । तर यि यावद समस्याहरुको समाधानका लागी राम्रा कामको सुरुवाद भएपनि राजनिति घेरावन्दिबाट माथि उठन जनप्रतिनिधि नै नसक्ने भएपछी गरिएको प्रयास पनि बालुवामा पानी सरह नै भएको छ । 

जिल्लाकै प्रतिष्ठीत ताल छेडेदह र पहिलो अन्तरर्राष्ट्रिय मापदण्ड सहीतको निर्माणाधीन दशरथ मावि खेल मैदानका लागि बजेट कहिल्यै विनियोजन गरिदैन् । अस्तव्यस्त नै देखिन्छ गाउँपालिका । ६ वर्ष यता कहिल्यै पालिकाले सार्वजनिक सुनुवाई र सामाजिक लेखा परिक्षण गरेको छैन् । तेस्रो पक्षले आयोजना गर्न लागेकको सार्वजनिक सुनुवाई समेत उपाध्यक्ष सहीतको टिमले बहिष्कार गरेको थियो । 

सबै वडामा सडक पुगेको छ । एमबिबिएस डाक्टर नियुक्त गरिएको छ । १० शैयाको अस्पताल निर्माण भइरहेको छ । केही राम्रो सुरुवादमा पनि राजनीतिक आग्रह पूर्वाग्रहले विकासको गति बढ्न सकेको छैन् । पालिकामा राजनीतिक बेथिती नै बढेको छ । 

उपाध्यक्ष विसु नाथले काम गरेर देखाउन जनप्रतिनिधी भएकोले कोही कसैको दबाब र प्रभावका काम नगरेको र आफ्नो तर्फबाट कुनै ठाउँमा असहयोग नभएको बताउने गरेकी छन् । अध्यक्ष दिलबहादुर रावतले राम्रो काम सुरु गर्न खोज्दा पनि बहुमतको संख्याका जोड घटाउन गरेर असफल पार्ने षड्यन्त्रले समस्या आएको स्वीकार गर्ने गरेका छन् ।

उसोत पालिका अध्यक्ष उपाध्यक्ष आफ्नो कमजोरी स्वीकार्न तयार छैन् । दुबैले एक अर्कालाई दोष दिनमा ठिक्क देखिन्छन् । खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष उपाध्यक्षको आपसी अन्तरसंघर्षले प्रमुख प्रशासकीय अधिकृतलाई पनि फाइदा देखिएको छ । अनुकुलको निर्णय र आफू खुसी काम गर्न पाएको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस