शनिबार, १२ साउन २०८१

बडीमालिकाले न्याय सम्पादन र नगर सुरक्षाका लागि नगर प्रहरी नियुक्त गर्न ऐन पारित

१० वटा ऐन नियम र कार्यविधी पारित गरि १४ औं नगर सभा सकियो

बाजुरा : बडीमालिका नगरपालिकाले नगर प्रहरी ऐन २०८० संसोधन सहीत पारित गरेको छ । पालिकाको १४ औं नगर सभाबाट २०७५ मा बनेको नगर प्रहरी ऐनलाई संसोधन गर्दै बडीमालिकाले संसोधन ऐन २०८० पारित गरेको हो । 

ऐन पारित भएसँगै बडीमालिकाले नगर प्रहरी नियुक्ती गर्ने बाटो खुला गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । न्यायीक समितिमा आउने उजुरीको न्यायीक सम्पादन र नगरको शान्ति सुरक्षाका लागि नगर प्रहरी नियुक्ती आवश्यक रहेको पत्रकार सम्मेलनमा नगर उपप्रमुख नन्दा कुमारी थापाले जानकारी गराएकी छन् ।

सानो कुरामा पनि नेपाल प्रहरीकै सहयोग लिनु पर्ने अवस्थामा नगर प्रहरी नियुक्तीले शान्ति सुरक्षा, बजार व्यवस्थापन, फोहर मैला व्यवस्थापन र न्याय सम्पादनमा सहज हुने विश्वास सहीत ऐन पारित गरेर नियुक्त प्रक्रिया अघि बढाउन लागिएको उपप्रमुख थापाको भनाई छ । 

नगर सभाले प्रहरी ऐन सहीत १० वटा ऐन, नियम र कार्यविधी पारित गरेको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताएका छन् । पहिलो कुरा कानुन नै बनाउन जरुरी हुन्छ, कानुन बनेपछि काम गर्न सहज हुने भएकोले पालिकाले यो सभालाई कानुन निर्माण र विगतमा बनेका कानुनको कार्यान्वयनको प्रभावकारी बारे समीक्षामा केन्द्रीत गराएको अधिकृत केसीको भनाई छ । 

सभाले नगर प्रहरी ऐन तथा परिचालन सम्बन्धि कार्यविधि, घ बर्गको निर्माण व्यवसायी इजाजत सम्वन्धी कार्यविधि २०८०, विद्युतिय, छापा तथा अनलाइन लोक कल्याणकारी विज्ञापन वितरण सम्बन्धि कार्यविधि २०८०, एकीकृत छात्रवृत्ति वितरण सम्बन्धि कार्यविधि २०८०, विनियोजित विधेयक संसोधन ऐन, महिला युवा संञ्जाल परिचालन सम्बन्धि कार्यविधि २०८० पारित गरेको छ । 

यसैगरी कार्य स्थलमा हुने यौनजन्य दुर्व्यहार निवारण आचार सहिंता, कृषि कार्यक्रम सञ्चालन कार्यविधि २०८०, निर्माण सम्पन्न भवन सम्बन्धि अभिलेखिकरण कार्यविधि पारित गरिएको नगर प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिएका छन् ।

नगर प्रवक्ता धर्मराज पाध्यायले नै सञ्चालन गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख अमर खड्काले पालिकाले जनताको काम र समृद्धिलाई प्राथमिकतामा राखेर नीति निर्णय गर्ने गरिएको बताएका छन् । नगर पालिकाले आर्थिक वर्षका ६ महिनाको अवधीमा कुल बजेटको २६.३१ प्रतिशत मात्रै खर्च गरेको छ । पुजिँगत र चालु दुबै शिर्षक मध्ये कर्मचारीको तलबभत्ता बाहेक निर्माणको विकास बजेट निकै कम खर्च देखिएको छ ।

निर्माणको काम भुक्तानी हुन बाँकी रहेको, केही योजना सम्झौता भइरहेको र केही ठूला योजना ठेका मार्फत चलिरहेकोले कामको भुक्तानी एकै पटक हुने हुँदा कम देखिए पनि कामको प्रगति धेरै रहेको नगर प्रमुख अमर खड्काले बताएका छन् । 

नगर सभाले प्रशासनिक, आर्थिक तथा भौतिक एवं विषय गत समितिको प्रगति समीक्षा गरि प्रतिवेदन पारित गरेको छ । कार्यपालिका तथा विषय गत समितिका निर्णय तथा खर्च अनुमोदन पनि गरेको छ । महालेखाबाट औल्याएका बेरुजो र सुझाव माथि छलफल तथा असुल गर्न निर्देशन समेत दिएको छ ।

नगर सभा हलमा आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख नटिक्ने समस्या समाधान भयो भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले कार्यालयको काम बाहेक घरमा पनि साउनमा मात्रै घर फर्किने गरि आएको जवाफ दिएका थिए । आन्तरिक आम्दानी बढाउने गरि आफूहरु लागि परेको जवाफ समेत दिएका छन् । नगर सभाका सदस्य र कर्मचारी पनि पत्रकार सम्मेलनमा सहभागि थिए । 

प्रतिक्रिया दिनुहोस