आइतबार, १३ पुष २०८२

राष्ट्रिय युवा संघ बाजुरा अन्तरजिल्लामा नयाँ टिम, अध्यक्ष बने पवन मल्ल

काठमाडौं: राष्ट्रिय युवा संघ नेपाल बाजुरा अन्तरजिल्ला कमिटीको दोस्रो अधिवेशन काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। संगठनलाई अझ सुदृढ, क्रियाशील र परिणाममुखी बनाउने संकल्पसहित सम्पन्न अधिवेशनले पवन मल्लको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट चयन भएको कमिटीको उपाध्यक्षमा प्रेम नेपाली, सचिवमा टेक चदरा, कोषाध्यक्षमा खगेन्द्र नेपाली तथा सह–सचिवमा कमला बिष्ट रहेका छन्।

नवगठित नेतृत्वले संगठनलाई अनुशासित, एकताबद्ध र अभियानमुखी बनाउँदै युवालाई राष्ट्र निर्माणको अग्रपंक्तिमा उभ्याउने प्रतिबद्धता जनाएको छ। युवा संघ सुदूरपश्चिम अन्तरजिल्ला संयोजक करण भण्डारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले सम्बोधन गर्दै युवाशक्ति विभाजित होइन, एकीकृत हुनुपर्ने आवश्यकता औंल्याए।

गुरुङले राष्ट्रको राष्ट्रियता रक्षा, सामाजिक स्थायित्व र समृद्ध नेपाल निर्माणको जिम्मेवारी फेरि एकपटक नेकपा एमाले र केपी शर्मा ओलीको नेतृत्वले नै सम्हाल्नुपर्ने समय आएको बताए। कार्यक्रमको सञ्चालन दीपराज बोगटीले गरेका थिए। अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया र एलिसा गौतम, एमाले बाजुराका अध्यक्ष लालबहादुर ओली तथा राष्ट्रिय युवा संघका उपाध्यक्ष विनय शाहलगायत नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले युवाशक्तिलाई वैचारिक रूपमा सुदृढ बनाउँदै संगठनात्मक एकता मजबुत गर्नुपर्नेमा जोड दिए।

उनीहरूले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विकासको पक्षमा युवा संघले निर्णायक भूमिका खेल्नुपर्ने धारणा राखे। साथै, सामाजिक विकृति–विसंगतिविरुद्ध उभिन, सकारात्मक सोच र सिर्जनात्मक ऊर्जालाई देश निर्माणतर्फ मोड्न युवालाई आह्वान गरिएको थियो। अधिवेशनले बाजुरा अन्तरजिल्ला कमिटीलाई नयाँ गति दिने विश्वास व्यक्त गरिएको छ। संगठन विस्तार, युवाको क्षमता अभिवृद्धि र राजनीतिक चेतना विकासमार्फत राष्ट्रिय युवा संघलाई अझ बलियो बनाउने लक्ष्यसहित अधिवेशन सम्पन्न भएको जनाइएको अनेरास्ववियुका नेता लक्ष्मण रोकायाले दिएका छन्।

प्रतिक्रिया दिनुहोस