शुक्रबार, ०४ असोज २०८१

बाजुरामा बसले लिन थाले ४ सय बढाएर मनोमानी भाडा, प्रहरी प्रशासन मौन

बाजुरा : बाजुराबाट चल्ने बस व्यवसायीहरुले मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । बाजुरादेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, महेन्द्रनगर लगायतका ठाउँका लागि छुट्ने बसहरुले तिहारपछिको चापलाई ध्यानमा राखेर भाडा असुली धन्दा सुरु गरेको आरोप यात्रुहरुको छ । 

१६ सय रुपैया भाडा तय गरिएको मार्तडी धनगढीसम्मको भाडा ४ सय रुपैया बढाएर लिने गरेको यात्रुहरुको भनाई छ । तोकिएको भाडाभन्दा ४ सय कसैलाई थाहै नदिई असुली गर्ने गरेको आरोप यात्रुहरुको छ । 

तोकिएको समयमा पनि बस नहिडाउँने र यात्रुको चापलाई देखाएर आफूखुसी भाडा असुल्ने गरेको आरोप लागेको छ । यात्रुहरुले भाडा ४ सय किन बढेको भन्दा उल्टै जान मन छैन्, भन्दै थर्काउने काम समेत मार्तडी काउन्टरबाटै हुने गरेको आक्रोश यात्रुहरुको छ ।

एक जना यात्रुबाट ४ सय असुल्ने गरेपनि स्थानीय प्रहरी प्रशासन मौन छ । चाड पर्व लक्षित भाडा घटाउनुको साँटो उल्टै कसैलाई थाहै नदिई सम्बन्धी बस धनी र काउन्टरमा बस्नेहरुको मिलोमतोमा भाडा असुली धन्दा सुरु गरिएको आक्रोश यात्रुहरुको छ । 

मार्तडीबाट अत्तरिया माथि झर्नेहरुका लागि सिटै नदिने, दिएपनि चर्को भाडा लिने, अत्तरियासम्म गएपनि २ हजार भाडा असुल्ने गरेका छन् । बाजुराबाट सुदूरपश्चिम यातायात, पवनदुत, मालिका, खप्तड डिलक्स, महाकाली यातायात, बैजथान डिलक्स, भेरी, बडीमालिका यातायात सहीतका बससेवा सञ्चालनमा छन् ।

बाजुरा मार्तडीमा रहेको काउन्टर पनि सामुहीक भएकोले सबै समितिका बस र बस धनीलाई जानकारी गराएर काउन्टर समितिबाटै मनोमानी भाडा असुल्नेकाम भइरहेको छ । नजिकै रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भने बेखबर छ । 

यात्रुहरुले बेला बेला गुनासो गर्दा समेत प्रहरी नसुनेझै गर्ने गरेका छन् । बसधनी र काउन्टर समितिलाई पैसा असुली भए पुग्ने मान्यता राखेका छन् ।

यात्रुहरुलाई पनि जानै पर्ने भएकोले महँगो भाडा तिर्न बाध्य छन् । प्रहरी निरीक्षक किशोर सिंह ऐरीले उजुरी नआएकोले चेकजाँच नगरिपनि भोलिबाट अनिवार्य निगरानी गर्ने बताएको छ । जिल्ला प्रशासन कार्यालयले पनि तत्काल बुझेर छानवीन गर्ने बताएको छ । 

यता बस काउन्टरका प्रतिनिधीले भने नम्बर बाहेकका बसहरुले मात्रै एकतर्फी खाली आउनु पर्ने भएकोले २ हजार लिएपनि १६ सय भन्दा बढी कसैलाई नलिएको दाबी गरेका छन् । काउन्टरमा टिकट नै नकाटेको र बाहिर थप गरिएका बसहरुले मात्रै भाडा लिएकोले यसलाई मनोमानी र असुली भन्न नमिल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस