बाजुरा : विगतका चुनावले बद्नामीत बनेको बाजुराको परिचय फेर्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार सहमत भएका छन् । बाजुरालाई विगतका अभ्यासले बढी बद्नामीत परिचय बनाएको प्रति जिम्मेवार बन्दै दल र स्वतन्त्रबाट उम्मेदवार बनेका आठै जनाले स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन सामुहीक प्रतिवद्धता जनाएका हुन् ।
बाजुराबाट ७ वटा राजनीतिक दल र एक जना स्वतन्त्र गरि ८ जनाले फागुन २१ को प्रतिनिधी सभा निर्वाचनमा भाग लिएका छन् । बाजुराका सबै बुथमा शान्तिपूर्वक मतदान गराउने र भयरहीत वातावरणमा चुनाव प्रचारको परिस्थिति सिर्जना गर्न दलहरुका उम्मेदवारले सामुहीक हस्ताक्षर सहीत पत्रकार सम्मेलन मार्फत घोषणा गरेका हुन् ।
नेपाल पत्रकार महासंघ बाजुराले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत नौ बुँदे प्रतिवद्धता पत्र जारी गरिएको हो । नेकपा एमालेका अध्यक्ष लालबहादुर ओली र एमालेको तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार लालबहादुर थापाको अगुवाई र आठै जना उम्मेदवारहरुको सामुहीक संवाद पछि सबैजना सहमत भएका थिए । प्रतिवद्धता पत्र एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले प्रस्तुत गरेका थिए ।
बाजुराबाट नेपाली कांग्रेसबाट जनक गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर बहादुर शाही, नेकपा माओवादीबाट भुपेन्द्र वि.क, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही उम्मेदवार छन् । उहाँहरु आठै जनाले सामुहीक हस्ताक्षर सहीत प्रतिवद्धता जारी गरेका हुन् ।
संयुक्त प्रतिबद्धता पत्रमार्फत दलहरू र उम्मेदवारहरूले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने स्पष्ट अडान व्यक्त गरेका छन् । प्रचार–प्रसारलाई शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने तथा उम्मेदवारको व्यक्तिगत जीवनमाथि टीकाटिप्पणी नगर्ने भनाइले विगतका चुनावी विकृतिप्रति आत्मसमीक्षा गरिएको छ ।
यस्तै उम्मेदवारहरुको सामूहिक प्रतिबद्धतामा जिल्लामा सामाजिक शान्ति तथा अमन चयन, समानता, राजनीतिक सद्भाव र सुशासनका लागि उम्मेदवारी रहेको भन्दै यसको कार्यान्वयनमा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
आगामी निर्वाचनमा मतदान प्रक्रिया स्वतन्त्र र शान्तिपूर्ण बनाउन, प्रचार कार्य सौहार्दपूर्ण र मर्यादित बनाउने, एक–अर्को राजनीतिक दल र उम्मेदवारको सम्मान गर्ने, उम्मेदवारको व्यक्तिगत जीवनका विषयमा टिकाटिप्पणी गर्ने गराउने कार्य नगर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै निर्वाचनको प्रचार र मतदान प्रक्रियामा कसैबाट कुनै प्रकारको धाँधली, घुसपैठ जस्ता कार्य तथा व्यवहार भएमा संयुक्त अस्वीकार गर्ने, निर्वाचनमा उत्पन्न हुने विवाद आपसी संवादबाट व्यवस्थापन गर्ने, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, उम्मेदवारीको विषय बनाई व्यक्ति, समूह तथा समुदायविच द्धन्द्ध उत्पन्न हुने कार्य नगर्न नगराउन आम जनसमुदाय र मतदातामा अनुरोध सहितको प्रतिबद्धता जनाएका छन् ।
एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र भएको ८ जना उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षरसहित यो जिल्लाको मात्रै नभई समग्र राजनीतिक असल अभ्यास भएको भन्दै यसको पूर्ण कार्यान्वयनमा सम्बन्धीत दलहरुले पनि समर्थन गरेका छन् । उम्मेदवारहरुले देशकै लागि नयाँ अभ्यास र सुरुवाद भएको भन्दै सबैले नैतिक जिम्मेवारी र जवाफदेहीता लिन पनि आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेको अध्यक्षतामा सञ्चालन भएका पत्रकार सम्मेलनमा सबै उम्मेदवार, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, पत्रकार लगायतको सहभागीता रहेको थियो । बडीमालिका नगरपालिकाको सभाहलमा सञ्चालन भएको पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन पत्रकार महासंघ बाजुराका सह–सचिव जनक बोहराले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस