शुक्रबार, ०४ असोज २०८१

आकर्षक बन्दै नाटेश्वरी मन्दिर, सुदूरपश्चिमकै भव्य संरचना तयार

नरेन्द्र रौले 

बाजुरा :  नाटेश्वरी मन्दिर बाजुरा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र हो । हिन्दू धर्मालम्बीहरु विशेषगरी बडा दसैंमा देवीको पूजा गर्नका लागि नाटेश्वरी मन्दिरमा आउने गर्छन् । बाजुरा जिल्लाका बिभिन्न क्षेत्रबाट देवी भगवतिको पूजा गर्न, बलि चढाउँन नाटेश्वरी आउने गर्छन् । समुन्द्री सतहबाट एक हजार ४ सय फिट्को उचाईमा अवस्थित छ, नाटेश्वरी ।

त्रिबेणी नगरपालिकास्थित ७ मा पर्ने नाटेश्वरी पछिल्लो समय भब्य संरचना बनेका छन् । नगरपालिकाका अनुसार ६ करोड रुपैंयाँको लगानीमा नाटेश्वरीमा आकर्षक संरचनाहरु बनेका छन् । मन्दिर बाहेक धर्मशाला, खानेपानीका धारा, मन्दिरसम्म पुग्ने सिंढी, ठाउँ—ठाउँमा गेट र बलि चढाउने ठाउको निमार्ण भएका छन् ।

यस्तो छ नाटेश्वरी मन्दिरको इतिहास बाजुरा जिल्लाको प्रसिद्ध तिर्थ स्थल हो, बडिमालिका । स्वस्थानीमा उल्लेख भए अनुसार महादेवकी पत्नी सतिदेवीको बायाँकुम बडिमालिकामा पतन भएको थियो । बडिमालिका बहिनी र नाटेश्वरी दिदी भएको कथन पढ्न, सुन्न पाईन्छ । नाटेश्वरी सतिदेवीको एउटा अंग खसेर शक्ति पिठ उत्पत्ति भएको कथन छ । स्थानीवासी नाटेश्वरीलाई नाचनथली पनि भन्ने गर्छन् । अर्थात्, नाँच (डान्स) र थली भन्नाले थियटर । भगवान शिव, पार्वती लगायत अन्य देवी देवताको नाँचगान गर्ने स्थलका रुपमा यो पावनभूमी चर्चित छ ।

नाटेश्वरी प्यागोडा शैलीमा निमार्ण गरिएको मन्दिर हो । परापूर्व कालमा कति वर्ष अगाडी यो मन्दिरको स्थापना भयो भन्ने बारे कुनै एकिन इतिहास छैन । हालै पुनःनिमार्ण भएको २ वर्ष भएको छ ।

योगी नरहरीनाथले विक्रम सम्बत २०५६ सालमा बाजुराको नाटेश्वरीमा कोटी होम लगाएका थिए । त्रिवेणी नगरपालिकाका मेयर कर्ण बहादुर थापाका अनुसार राष्ट्रगुरु योगी नरहरी नाथ यस पवित्र क्षेत्रमा कोटी होम लगाउने खबरले धेरै जनताहरुमा खुसीयाली छाएको थियो । सुदूरपश्चिमका बाजुरा, अछाम, डोटी, दार्चुला लगायत दैलेखबाट पनि श्रद्धालु भक्तजनहरु त्यसबेला पावनभुमी नाटेश्वरीमा पाईला टेकेका थिए । योगी नरहरीनाथले एक महिना नाटेश्वरी बस्दा नाटेश्वरीको इतिहास, धर्म, संस्कृतिको महत्व जडिबुटीको महत्वका बारेमा बयान गरेका थिए । कोटी होममा १ सय ८ गाई, १ सय ८ जोगी, १ सय ब्राह्मणको सहभागिता रहेको थियो । यस्तै स्वर्गिय राजा वीरेन्द्रले बिक्रम सम्बत २०३४ सालमा हेलिकप्टरबाट नाटेश्वरी मन्दिरको दर्शन गरेका थिए ।

मन्दिर र यहाँको खानेपानीको समस्या समाधान गर्न राजा वीरेन्द्रले तत्कालै सहयोग गरेको नाटेश्वरीका पुजारी रोहिणी प्रसाद पाध्यायले बताए । नाटेश्वरीमा भगवती देवी बाहेक कालिकादेवी र धल्पुरादेवीको पनि मन्दिर छ । यी तीन वटै मन्दिरमा  एकै साथमा पूजाआजा गरिन्छ । भगवती देवी  कालिकादेवीमा  बलि चढाईन्छ  भने धलपुरा देिवकाे मन्दिरमा खाली पुजा चढाइन गरेकाे पुराजी राेहिणी प्रशाद पायाले बताए। उनका अनुसार नाटेश्वरीमा वर्षको तीन पटक पूजाआजा तथा मेला लाग्छ । साउने जनै पूर्णिमा, चैते अस्टमी र बडा दसैंमा मेला लाग्छ । जेठको दशहरामा सुदूरपश्चिमको दिपायलबाट जर्नेल आएर पूजा गर्ने परम्परा छ ।बडिमालिका दर्शन गरेर फर्किएपछि नाटेश्वरीमा पूजा गरेपछि मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

जलुकेनी निमार्ण सेवा प्रा.लि.बालाजु, काठमाडौँले नाटेश्वरी क्षेत्रको संरचना निमार्णको ठेक्का लिएको छ । नयाँ धर्मशाला, पानीका धारा, सिंढी निमार्ण भईसकेका छन् । ६ करोड रुपैंयाँको लागतमा मन्दिर पुनःनिमार्ण र फन पार्कका लागि बजेट छुट्ट्याईएको थियो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र त्रिबेणी नगरपालिकाको संयुक्त सहयोगमा नाटेश्वरीमा मन्दिर लगायत विविध संरचना निर्माण गरिएका हुन् ।

नाटेश्वरीबाट के—के अवलोकन गर्न सकिन्छ ? नाटेश्वरीको दर्शन गर्न आउने दर्शनार्थि एवं पर्यटकहरुले यहाँका केही पुराना गुफा पनि अवलोकन गर्न सक्छन् । हालै यहाँ १ सय १ किलोको त्रिशुल राखिएको छ । जनैपूर्णीमाको अवसरमा ५ वटा ब्राह्मणबाट विधिवत् पुजा पाठ गरेर नाटेश्वरी कालीका माताको मन्दिरमा २४ फिट् अग्लो त्रिशुल राखिएको छ । स्वदेश तथा विदेशमा रहेका ४६ जना नेपालीको आर्थिक सहयोगबाट मन्दिरमा सबैभन्दा लामो त्रिशुल राखिएको साउदी अरवलाई कर्मथलो बनाउँदै आएका र आर्थिक संकलनका संयोजक बीर बहादुर खड्काले बताए । सुदूरपश्चिम लगायत विदेशमा बस्ने बिभिन्न जिल्लाका मनकारीहरुबाट १ लाख ५५ हजार ५ सय १८ रुपैंयाँको लागतमा सो त्रिशुल बनाईएको हो । उनका अनुसार बाजुराका अन्य मन्दिरमा चढाईएका त्रिशुल भन्दा बढी तौल र अग्लो त्रिशुल भएको दावी गरेका छन् । संयोजक खड्का र सुदूरपश्चिम नेपाली समाज साइप्रसका अध्यक्ष डम्मर बहादुर खड्काको सह—संयोजनमा आर्थिक संकलन गरेर सो त्रिशुलको निमार्ण गरिएको हो ।

नाटेश्वरीबाट बडिमालिका आँखै अगाडी नियाल्न सकिन्छ ।

बडिमालिकाकै रेन्जमा गतेखौला मन्दिर पनि हेर्न सकिन्छ । केही घण्टाको यात्रा गर्ने हो भने धवलपुरी दह हेरेर आनन्द लिन सकिन्छ । नजिकै केही पाइला हिंड्ने हो भने तत्काालिन २२ बाइसे राज्य छँदा जिल्ला सञ्चालन गर्ने बार्जुकोट दरबार हेर्न सकिन्छ । यस्तै बझाङको जेठी बहुरानी डाँडा, बाजुराको बडालेख, कुँडीकोट हेर्न सकिन्छ । कसरी पुग्ने नाटेश्वरी ? बाजुराको व्यापारिक केन्द्र बाम्का बजारसम्म सार्वजनिक सवारी साधन चल्ने गर्छन् । बाम्का बजारबाट मौरे धाम हुँदै नाटेश्वरी पुग्न सकिन्छ । निजी सवारी साधन, मोटरसाइकल, स्कुटरबाट सालडाँडा हुँदै पनि नाटेश्वरी पुग्न सकिन्छ ।

साभार गगन वाणी 

 

प्रतिक्रिया दिनुहोस