मङ्गलबार, ११ कार्तिक २०८२

महेश बस्नेतकाे एमालेप्रति अलौकिक सहयोग

 गोपाल ओली :मेरो लागि पहिलो पटक इतिहासमा दोस्रो विधान महाधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गरी सम्पूर्ण एमालेजन आफ्ना बास स्थान (काठमाडौंमा घर नभएका होटल)मा पुग्यौं। आमसञ्चार र सामाजिक सञ्जालका पानाहरूमा दोस्रो विधान महाधिवेशन सम्पन्नका तस्विर र शब्दले रंगिएका थिए। भोली बिहान भेट्ने वाचा साथ चौक चौतार र रेष्टुरेन्टमा विदाई हातमिलाएर बासस्थानमा पुग्ने म पनि एक थिए। सामाजिक सञ्जालमा सरकारी निर्णयले बन्द भनिएपनि विभिन्न एप र तौरतरिकाबाट सबैले चलाई रहेको यथेष्ट प्रमाण त्यस दिन विपक्ष दलका नेताको स्टाटस समेत प्रमाण थिए। तर सरकारी निर्णय भने बन्द थियो।

भोलीपल्ट बिहान नित्यकर्म पश्चात मैले पनि फेसबुक, टिकटक खोल्दा निराशाले भरिएका पोष्टहरू, सरकार विरोधी नारा, बालबालिकालाई आन्दोलनमा आउन आह्वान, पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध अपमानित शब्दका लालछना यस्तै थिए। माइतिघरमा विद्यार्थीलाई आह्वान नगर्नेको माग थियो, पहिलो सामाजिक सञ्जालमाथि लगाइएको प्रतिवन्ध खुल्ला गर, भ्रष्टाचार अन्त्य गर। बिहानको करिब ९ बजेको हाराहारी थियो। सरकारले सामाजिक सञ्जाल बन्द गर्‍यो भनि समाचार प्रकाशित गरेका अनलाइनहरूले नै माइतिघरबाट त्यही अनलाइन खबर डट कम लगायतका अनलाइनहरूले प्रत्यक्ष प्रसारण गरिरहेका थिए। म जस्तै त्यो दृश्य लाखौंले हेरिरहेका थिए। अनलाइनका पेजहरूमा कति विद्यार्थी जम्मा भएका छन्, कस्ता विद्यार्थी, कहाँ–कहाँबाट कसरी आउँदै छन्, उनीहरूको धारणा के छन्, यस्तै एकछिन पनि डिस्कनेक्ट नगरी प्रसारण गरिरहेका थिए। माइतिघर मण्डलामा सबैले आन्दोलन गर्ने ठाउँ मेरो ध्यान धेरै तानेन। मेलो मेसो मिलाएर विधान महाधिवेशन जस्तो ऐतिहासिक कार्यमा काठमाडौं गएको बेला केही व्यक्तिगत र केही पार्टीका व्यक्तित्वसँगको भेटघाटका लागि होटलबाट निस्किएर आफ्नो योजनामा अगाडि बढे।

घटना २३ गते करिब ३ बजे तिर बानेश्वरको संसद भवनमा आन्दोलनकारी प्रवेश गरे भन्ने सुने, केही छिन पछि गोली चल्यो, विद्यार्थीको मृत्यु भयो, त्यो पनि सुने। स्थानीय प्रशासनले पहिले नै निषेधाज्ञा जारी गरी सकेको रहेछ। यी र यस्ता विषयमा साथीहरूसँग विभिन्न तर्क, संवाद र छलफल भयो। साँझ काठमाडौं त्रसित देखिन्थ्यो। संचारमन्त्रीको केही प्रतिक्रिया सुनिएन। अब भोली के हुन्छ? गोली लाग्ने डरले आमाबुवाले बालबालिकालाई आन्दोलनमा जानबाट रोक्छन्। मर्न को जान्छ भन्छन्, आन्दोलन धेरै जर्किदैन होला। फेरि माग त सरकारले पुरा गरि सक्यो, सामाजिक सञ्जाल खुला भयो त। विद्यार्थीलाई किन गोली हानेको? यस्तै धेरै तर्क, विवेचनासँगै हामी बासतिर लाग्यौं।

२४ गते बिहानैबाट सडकमा सिकार खोसिएको बाघ जस्तै आयोजन भनिएको उमेर समूह भन्दा पाकाहरू निहूपाउन साथ जाइलाग्ने गरी तैनाथ छन्। अघिल्लो दिनको घटनाले जनपथ प्रहरीको मनोबल पूर्ण गिरेको थियो। प्रहरी रोकटोकको अवस्थामा देखिदैन। काला पोषकधारी, मुखमा मास्कधारी, ठूला मोटरसाइकल, सुरक्षा तालिम केन्द्रबाट भागेका जस्ता टिलपिलाउदा आँखाहरू भएका सबै पूर्ण तयारीसाथ सडकमा छन्। बिहान करिब ११ बजेको हाराहारीमा बानेश्वरको संसद भवन, नेकपा(एमाले)को पार्टी कार्यालय, महासचिव शंकर पोखरेलको निवासमा खरानी बनाउने कार्य भयो। यस्तै काठमाडौं हिन्दी फिल्मभन्दा बढी दृश्यहरू देखिन थाले। सहर खरानी भइरहेको थियो। जननिर्वाचित प्रधानमन्त्रीलाई सुरक्षा निकायको असहयोगका कारण राजीनामा दिइ सक्नु भएको थियो। यस्तो थियो कि मानव वस्तीमा एलिएन प्रवेश गरी मानव र मानव वस्ती एकैपटक ध्वस्त बनाउने लक्ष्यका साथ प्रवेश गरेको जस्तो थियो। सामाजिक सञ्जालमा भनिएका आन्दोलनकारी भन्दा पनि नाममात्रै आयोजक त्यो पुस्ता थियो। सबै गैर उमेर समूहका लुटपाट, आगजनी, तोडफोड काठमाडौं र देशभर भयो। मृत्युको संख्या २३ गते प्रहरीको गोलीबाट भयो भनियो, तर २४ गते प्रहरीले बन्दुक नै समातेका देखिदैनथ्यो। प्रहरी वर्दीमा समेत देखिदैन थियो। शसस्त्र प्रहरी संगठन पनि नेपालमा छ र भन्ने जस्तो थियो। सेना प्रधानमन्त्रीको राजीनामा गराउने र अर्को प्रधानमन्त्री खोज्दै वा आफै सरकार भएको घोषणा गर्ने भन्ने विभिन्न तर्कहरू व्यक्तिगत संवाद र सामाजिक सञ्जालमा देखिन्थ्यो। २४ गतेको दृश्य र व्याख्या यहाँ विश्लेषण गर्न सकिने अवस्थाको छैन। नेपालमा माओवादी नाममा भएको युद्ध भन्दा कयौं गुणा त्रसित बनाएको थियो करिब २४ घण्टा त्यो अकल्पनीय घटना नेपालमा पृथ्वी उत्पत्ति पछिको सबैभन्दा ठूलो विध्वंस हो।

आन्दोलनमा म आफैले चिनेका राजावादीवाला, माओवादीवाला, केही कांग्रेस, एमाले नामधारी पनि थिए। आन्दोलन कसरी, कुन सवाल, कुन माग र केका लागि भन्दा पनि यो आन्दोलन तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भौतिक रूपमा समाप्त गर्न र नेकपा(एमाले) पार्टीलाई बदनाम गर्ने, बृहत एमाले इतर देश–विदेशका सबै खालका शक्तिको गठजोड़ थियो। तर पार्टी अध्यक्षलाई करिब १० दिन सैनिक नियन्त्रण राखियो। बुढो केपी शर्मा ओलीलाई हटाएर उहाँभन्दा मात्रै करिब २ वर्ष जेठ व्यक्तिलाई यही फागुन २१ गते निर्वाचन सम्पन्न गर्नका लागि गठित वर्तमान अन्तरिम सरकारका प्रधानमन्त्रीलाई तीनै जेन जेड नामधारीको सिफारिसमा नियुक्त गरिएको छ। यो दृश्य अकल्पनीय मात्रै होइन, मानव सभ्यताको अनिष्ट घटना थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीमा केही यस्ता गुण छन्, जो आजसम्म कोही पनि त्यो नेतृत्वमा पुगेकासँग त्यस प्रकारका गुण छैनन्, यो मेरो ठोकुवा हो। उहाँ एमालेको नौ महिनाको सरकारको गृहमन्त्री हुँदा देशमा एक जना व्यक्तिले गृह प्रशासनको तर्फबाट लठ्ठी समेत प्रहार भएको थिएन। परराष्ट्रमन्त्री हुँदा अन्तर्राष्ट्रिय स्तरमा देशको शिर जहिले उच्च रहेको थियो। आफु र आफ्नो श्रीमतीका नाममा रहेको बासका लागि बनाएको घरबास कसले राष्ट्रका नाममा सुम्पेको छ? आन्दोलनकारी (जेन–जेड) का बुवा आमाले पनि आफ्नो पैत्रिक सम्पत्ति राष्ट्रका नाममा दिएको कति जनासँग उदाहरण छ? देशमा ग्याँस तथा पेट्रोलियम पदार्थको अन्वेषण कुन राजावादीले गरेको हो वा माओवादीले? देशको नाबी जस्तै रहेको हुलाकी राजमार्गको बाटो कसरी खोसेर ल्याइएको थियो? सुरुङ्ग युगको जन्मदाता को हो? चीनसँगको पारवहन सम्झौता कसले बनाएको हो? देशको भूगोल थपेर हालको नेपालको नक्शामा देश लिपुलेक लिम्पिया धुरा थप्ने को हो? एक वर्षमा १२ सय टुइङ्ग विस्तापित गरी पुल निर्माण गर्ने को हो? देशमा पर्याप्त मात्रामा विदेशी मुद्रा संचित गर्ने को हो? वर्षमा करिब ८ सय किलोमिटर बाटो कालोपत्रे गर्ने को हो? सबै जनहितकारी कार्य केपी शर्मा ओलीको हो। समय रेखा सहित हेरौँ, केपी शर्मा ओली र अरुले गरेका विगतका काम साथै हालका प्रधानमन्त्रीले गरेका काम सबैको दाँजेर हेरौँ। यो मेरो केपी शर्मा ओलीप्रति विश्वास थियो। लाखौं काम छन् केपी शर्मा ओलीका, देशका लागि, पार्टीका लागि, नेपाल बाहिर बस्ने नेपालीका लागि गरेका यस्ता योगदानहरू।

केपी शर्मा ओलीसँग मेरो गुनासो छ। उहाँका मनमा कुनै पाप छैन। कसैलाई विभेद छैन। सबै प्रति स्नेही हुनुहुन्छ। सबैलाई सहयोग गर्नुहुन्छ। सयौंको राजनीति र राजकीय जीवन बनाइ दिनु भएको छ। एमाले भित्रै र समाजमा सुनिन्छ, जिल्ला कमिटीको उपयुक्त नहुने पात्र तीनै केपी शर्मा ओलीका कारण केन्द्रीय कमिटी र त्यसका विभिन्न तहमा पुगेका छन्। आफुले छोराछोरी भन्न सुहाउने उमेरलाई देशैभरी छोराछोरीको सरह व्यवहार केपी शर्मा ओलीबाट भयो। तर ती केपी शर्मा ओलीले छोराछोरी भन्ने, उहाँ उभिएको आँगनमा “बा” भन्ने अधिकांस पदलोभी, चाप्लुसीकार र धरातलीय आधार विहीन कपटी छोराछोरी रहेछन्। स्नेही व्यवहार, सहयोग र साथ त केपी शर्मा ओलीको मात्रै एकपक्षीय रहेछ। यसको प्रमाण आज पार्टीका सयौं केन्द्रीय कमिटीका सदस्य, मातहतका सदस्यहरू विभिन्न भेग, भूगोल, जात, वर्ग, लिङ्ग, पेशाका आधारमा नियुक्ति खाएका भन्दा एक सच्चा संस्था प्रमुखको सहयोगी महेश बस्नेत मात्रै भएको विश्वसामु प्रमाणित भएको छ।

“म महेश” पुस्तकका उल्लेख गरे जस्तै साँच्चिकै महेशले केवल शक्तिशाली केपी शर्मा ओलीलाई मात्रै हैन मानवीय आधारमा पनि सेवा गर्नु हुन्थ्यो। “म महेश”मा उल्लेख गरेको सेवा, व्यवहारका आधारमा पनि आंकलन गर्न सकिन्छ। तर एक मानवलाई मात्रै सहयोग हैन, आफ्नो संस्थाको शीर, प्रमुख, निवर्तमान कार्यकारी प्रधानमन्त्री, अझ भन्दा भिजनरी लिडर केपी शर्मा ओलीको बास, गाँस, सुरक्षा र साथ साँच्चिकै अलौकिक सहयोग महेश बस्नेतको छ। महेशको सहयोग स्वार्थरहित देखिन्छ। हो, केपी शर्मा ओलीलाई सहयोग गरे वाफत नेपाली राजनीतिका श्रवर्ण कुमार महेश बस्नेतको भएका छन्। तर, विखण्डकारी, ध्वंसकारी, विदेशी डलरवादी, देशभित्रका मतियार र पार्टीभित्रका छुराधारीहरूको आँखामा महेश कसिङ्गर भएका छन्। तर इतिहास हिजो पनि थियो, आज पनि छ। हिजो माओवादीको शहरी विद्रोहलाई मत्थर बनाउने र गलत सावित गर्ने, वाइसिएलका नाममा भएको लुट, आतंकलाई प्रतिवाद गर्ने यीनै महेश बस्नेत थिए।

नेकपा (एमाले)को पोलिटव्यूरो सदस्यको जिम्मेवारीका आधारमा केपी शर्मा ओलीको सहयोग गर्नु बाध्यकारी रहेनछ नि? किनकि हिजो मेरो “बा” पछिको “बा” हो भन्नेहरूले आज पदको राजीनामा मागी रहेका छन्। केपी शर्मा ओली सरकारले कुरूर दमन गर्‍यो भन्दैछन्। देशभर १० बुँद्धासम्मको अवधिमा आएका कही कतै बाहेक करिब ९९ प्रतिशत जति आजपनि एकछन्। १० भाईका नाममा पार्टी घुसपैठले संख्या बढाएका छन्। केपी शर्मा ओली पदमा पुग्नसाथ नियुक्त खाएका कयौं त्यस्ता जुकाहरू आज भौतिक हैन सामाजिक सञ्जालबाट समेत दुख व्यक्त गरेका छैनन्। हिजो केपी शर्मा ओलीको बाफ सुग्न पाए हुने थियो भन्नेहरूको आज व्यवहार देख्दा नेपाली उखान “बाटोमा हग्नेलाई भन्दा देख्नेलाई लाज” जस्तै भएको छ।

परम्परमेश्वर भन्नेहरू आज पार्टीलाई संकट परेका बेला “बा” भन्नेहरू अधिकांश सम्पर्क विहीन छन्। त्यसैले महेश बस्नेत नेतृत्वको टोलीले बनाउँदैछन् केपीको “कुटी” त्यो पनि गुण्डुबासीका हातबाट। कहीँ कुटी निर्माणमा सहयोगका लागि फेरी असुली गर्लान भनी महेश सचेत छन्। चन्दा होइन गुण्डुवासीको सहयोगले निर्माण गर्ने घोषणा समेत गरेका छन्।

सबैभन्दा राजनीतिक रूपमा सत्य के हो भने देशमा पुस्ताका नाम भएको विध्वंसमा राजनीतिक दल, नेता वा सार्वजनिक व्यक्तित्व कसैले पनि विचार व्यक्त नगर्न सकिरहेको बेला देशबासीलाई राजनीतिक दलको वा नेताको विचार व्यक्त गर्ने पहिलो व्यक्ति नेकपा (एमाले)का महासचिव शंकर पोखरेल हुन। जसले नेपाल र नेपालीलाई नैरास्यताबाट आशाको संचार गरेको थियो। त्यसपछि मञ्चबाटै प्रतिवाद र जेन जेड पुस्ताका आडमा भएको विध्वंसको सबै प्रकारले प्रतिवाद गर्ने महेश बस्नेतनै पहिलो राजनीति दलका नेता पनि हुन। आज महेश एक्लो महेशले मात्रै पुग्दैन। सयौं महेश जन्मनु पर्दछ। यो देशको आवश्यकता हो। पुर्खाको शिक्षा हो। मानवताको परिचय हो। अग्रजको सम्मान हो। राजनीतिक दलका नेताको कर्तव्य हो। राष्ट्रका लागि नागरिक धर्ममा हो।

प्रतिक्रिया दिनुहोस