बाजुरा : देउडाको पहिचान बेग्लै छ। सुदूरपश्चिमको ढुकढुकीसँग प्रत्यक्ष जोडिएको संस्कृति हो देउडा, जसले परम्परागत संस्कृतिको जीवन्त पहिचान झल्काउँछ। दुर्गम भए पनि संस्कृतिले भरिपूर्ण जिल्ला बाजुरा देउडाकै कारण चिनिएको छ। पश्चिम नेपालका मेला, चाडपर्व तथा जात्रामा गाइने देउडा गीतले यहाँको सांस्कृतिक आत्मा बोकेको छ। बाजुरा देउडा क्षेत्रकै रूपमा परिचित जिल्ला हो। देउडाकै माध्यमबाट यहाँका अन्य पुराना संस्कृति पनि जीवित छन्।
प्रविधिको तीव्र विकाससँगै अन्य क्षेत्रमा देउडा विस्तारै लोप हुँदै गएको देखिए पनि बाजुरामा भने अझै जीवन्त छ। स्थानीय समुदाय र यहाँका कलाकारहरूले देउडाको मर्म मर्न दिएका छैनन्। बाजुराको देउडा क्षेत्रको पहिचानलाई उच्च स्थानमा पुर्याउन यहाँका देउडा कलाकारहरूको ठूलो योगदान छ। उनीहरूकै कारण बाजुराको देउडा देशदेखि विदेशसम्म चिनिएको छ। देउडा यहाँका नागरिकको ढुकढुकी बनेको छ भने बाजुराले थुप्रै चर्चित देउडा कलाकार जन्माएको छ।
बाजुराको देउडा कलाकार भन्नासाथ सबैको मानसपटलमा आउने नाम हो, चर्चित लोक तथा देउडा गायक प्रकाश थापा। देउडा तथा ठाडी भाकामा आफ्नो मधुर स्वरले छुट्टै पहिचान बनाएका थापा ‘कोकलकण्ठी स्वरका धनी’ उपनामले परिचित छन्। सुदूरपश्चिमको शान र देउडा क्षेत्रका हस्तीका रूपमा उनी स्थापित छन्। गायक थापाले २०५६ सालमा ‘सुदूरपश्चिम विकटै भए नि, सम्झना छ म मरी गएनी’ बोलको गीतमार्फत सांगीतिक यात्रा सुरु गरेका हुन्।
त्यसयता उनले आफ्नो सिंगो जीवन देउडा तथा लोकसंगीत क्षेत्रमा समर्पण गरेका छन्। हालसम्म उनले हजारौँ देउडा तथा ठाडी भाका गीतमा स्वर दिइसकेका छन्। यिनै देउडा क्षेत्रका हस्ती गायक थापाको नयाँ देउडा गीत ‘छम्केली बौजु’ शुक्रबार सांगीतिक बजारमा सार्वजनिक भएको छ। विगत तीन दशकदेखि गीत–संगीत क्षेत्रमा सक्रिय चर्चित सर्जक, साहित्यकार तथा संगीतकार राजेन्द्र शाह (विपी) र गायक प्रकाश थापाकै शब्द रहेको गीत प्रकाश थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा गायक प्रकाश थापा र गायिका गौरी भट्टको आवाज रहेको छ। सन्तोषी शर्मा थापाको संगीत, बिनोद बाजुरालीको संगीत संयोजन, खडक बाजुरालीको मिक्सिङ रहेको गीतमा सागर बाजुराली र डम्बर विकले रेकर्डिङ गरेका छन्।
गीत मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। भिम थापाको निर्देशनमा बनेको गीतकी निर्माता ईश्वरी वडुवाल हुन् भने अमृत उपाध्यायले छायांकन गरेका छन्। भिडियोमा दिपक शाउद, अविनास सिंह, कृतिका शाउद, मनिषा रावललगायत कलाकारहरूको अभिनय रहेको छ। गीतमा बाजुराको परम्परागत कला, संस्कृति, रीतिरिवाज, भेषभूषा तथा चालचलनलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। साथै आपसी माया–प्रेमको भावनालाई पनि गीतमार्फत उजागर गरिएको छ। अन्य गीतहरूजस्तै यस गीतले पनि दर्शक–श्रोताको अपार माया पाउने विश्वास गायक प्रकाश थापाले व्यक्त गरेका छन्।
देउडालाई सुदूरपश्चिमको ढुकढुकी मान्दै उनले सधैं देउडा गीतलाई प्राथमिकतामा राख्दै आएको बताए। उनले भने, “देउडाको आत्मा मर्न दिनु हुँदैन। यो हाम्रो ढुकढुकी हो, हाम्रो मुटु हो। देउडाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबै लाग्नुपर्छ। मैले आफ्नो सिंगो जीवन देउडा क्षेत्रमै समर्पण गरेको छु।” जिन्दगीका भोगाइ, सुख–दुःख, थकान र अनुभूति साटासाट गर्ने प्रमुख माध्यम देउडा भएको बताउँदै गायक थापाले सुदूरपश्चिमको देउडा संस्कृतिको जगेर्ना गर्दै परम्परालाई निरन्तरता दिनु आजको आवश्यकता रहेको उल्लेख गरे। ‘छम्केली बौजु’ बोलको गीतले दर्शक तथा श्रोताबाट उल्लेखनीय माया पाउने विश्वास गरिएको थापाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस