बाजुरा: बाजुरामा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि एक हजार २ सय ७ जनाले दरखास्त दिएका छन् । पुष २५ गतेदेखि आज अर्थात माघ १ गतेसम्म निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरिएकोमा सो संख्यामा दरखास्त परेको हो ।
जिल्ला प्रहरी कार्यालयमा एक हजार ८५ जना र सशस्त्र प्रहरी बल गुल्ममा एक सय २२ जनाले निर्वाचन प्रहरीमा भर्नाका लागि निवेदन दिएका हुन् ।सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि देशरभर एक लाख ३३ हजार बढीको संख्यामा आवेदन खुला गरेको थियो ।
त्यस्तै बाजुरामा ९ सय ६४ नेपाल प्रहरी र ९६ जना सशस्त्र प्रहरी गरी एक हजार ६० जना निर्वाचन प्रहरी भर्ना गर्न आवेदन माग गरिएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार निर्वाचन प्रहरीमा आवेदन दिनेहरु भूतपूर्व सुरक्षाकर्मी, निर्वाचन प्रहरी सहित युवा युवतीहरु रहेका छन् ।
साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकहरूले निर्वाचन प्रहरीमा भर्नाका लागि दरखास्त दिएका छन् । सरकारले ४० दिनको सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक प्रदान गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस