बाजुरा : बडीमालिका नगरपालिकाले नौ वटा विधेयक तथा कार्यविधि पारित गरेको छ । पालिकाको १८ औँ नगर सभाबाट कार्यविधी र विधेयक पारित गरेको नगर प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिएका छन् ।
नगर सभाले गरेका निर्णय बारे पालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । नगरसभाबाट नगरको समग्र शासन प्रणाली, सेवा प्रवाह, आर्थिक व्यवस्थापन तथा शहरी विकासलाई व्यवस्थित बनाउने उद्देश्यसहित महत्वपूर्ण कानुनी तथा नीतिगत निर्णयहरू पारित गरिएको नगर प्रमु अमर खड्काले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
नगरसभाबाट कुल नौ वटा विधेयक तथा कार्यविधिहरू पारित भई कानुनी रूपमा कार्यान्वयनको मार्ग प्रशस्त गरिएको नगरपालिकाले जनाएको छ । पारित भएका विधेयक तथा निर्देशिकाहरूमा विनियोजन विधेयक २०८२ (संशोधित), भवन निर्माण सम्बन्धी विधेयक २०८२, कर तथा गैरकर सम्बन्धी विधेयक २०८२, घरबहाल सम्बन्धी विधेयक २०८२, व्यवसाय कर सम्बन्धी निर्देशिका २०८२, नक्सापास सम्बन्धी निर्देशिका २०८२, न्यायिक समिति सञ्चालन कार्यविधि (पहिलो संशोधन) विधेयक २०८२, साबिक स्थानीय निकायका कर्मचारी कल्याण कोष सम्बन्धी विधेयक २०८२ तथा कृषि जैविक विविधता संरक्षण, उपयोग तथा प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०८२ रहेका छन् ।
यी कानुनी व्यवस्था कार्यान्वयनमा आएपछि नगरपालिकाको राजस्व संकलन प्रणाली, भवन निर्माण मापदण्ड, नक्सा पास प्रक्रिया, व्यवसाय दर्ता, न्यायिक सेवा प्रवाह तथा कर्मचारी कल्याण प्रणाली थप व्यवस्थित, पारदर्शी र जनउत्तरदायी हुने अपेक्षा गरिएको छ ।
नगरसभामार्फत पारित निर्णयहरूले बडिमालिका नगरपालिकाको दीर्घकालीन विकास, सुशासन र आर्थिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने नगरपालिकाको विश्वास छ । नगरसभा सफल बनाउन सहयोग गर्ने नगरसभा सदस्य, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सम्पूर्ण नगरवासीप्रति हार्दिक धन्यवाद दिएको छ ।
नगर सभाले पारित गरेका ऐन नियम र विधेयकलाई सफल कार्यान्वयन गरेर नगरको सुशासन, विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने तर्फ पालिका प्रतिवद्ध रहने नगर प्रमुख अमर खड्काले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस