सोमबार, १५ मङि्सर २०८२

रुपान्तरण कक्षाले फेरियो अभिभावक र विद्यार्थीको व्यवाहार

आफू र अभिभावक जिम्मेवार बनाउँदै बालबालिका

बाजुरा : बडीमालिका नगरपालिकाका चार वटा विद्यालयमा गएको वर्षदेखि रुपान्तण कक्षा सञ्चालनमा छ । विद्यालय पाठ्यक्रम बाहेकको अतिरिक्त व्यवाहारिक ज्ञान सीप सिकाउने उदेश्य सहीत कक्षा सञ्चालन गर्ने गरिएको छ । कक्षामा ७ देखि १० सम्मका विद्यार्थी सहभागि हुन्छन् । भने महिनाको एक दिन अनिवार्य रुपान्तरण कक्षा सञ्चालन हुने गरेको छ । 

रुपान्तरण कक्षा बडीमालिका नगरपालिका स्थित चोयाकोट मावि, सत्यवादी मावि, लक्ष्मी मावि र ज्ञानोदय माविमा सञ्चालन भइरहेको अवस्था छ । बिशेष गरि किशोर किशोरी शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य, लैगिंक हिंसा, सरसफाइ, आत्मसुरक्षा, लैगिंक समानता, सामाजिक कुप्रथा र कुरुती विरुद्धको ज्ञान सीप दिइने गरिएको छ । 

पालिकाकै अपनत्व रहने गरि रुपान्तरण कक्षा सञ्चालन भइरहेको महिला बालबालिका तथा जेष्ट नागरिक शाखा प्रमुख केशरी रोकायाले बताइन् । स्वयम विद्यार्थीको व्यवाहार सुधार्ने र घरपरिवारमा समेत बालबालिकाकै अग्रसरतामा सामाजिक कुरुती, कुमान्यता र आत्मसुरक्षा बारे अभिभावकलाई सचेत र जिम्मेवार बनाउने गरि रुपान्तरण कक्षा सञ्चालन गर्ने गरिएको हो, उनले भनिन् । 

कक्षा सञ्चालनका लागि युएनएफपीए र पीसविनको सहकार्यमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रमले सहयोग गरिरहेको छ । कक्षा सञ्चालन, विद्यार्थीका लागि आवश्यक शैक्षिक सामाग्री, पाठ्य पुस्तक, रुपान्तरण कक्षा शिक्षण गर्ने सहजकर्ता र खाना समेत युएनएफपीए र पीसविनको सहकार्यमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रमले गरिरहेको पीसविन नेपालका कार्यक्रम प्रबन्धक धर्म रोकायाले जानकारी दिए । 

कार्यक्रम बाजुरा सहीत सुदूरपश्चिमका सात वटा जिल्लामा सञ्चालनमा छ । भने बाजुराका चार वटा बुढीनन्दा, बडीमालिका, बुढीनन्दा नगरपालिका र गौमुलगाउँपालिकामा सञ्चालित छ । तर रुपान्तरण कक्षा भने बडीमालिकाका चार विद्यालयमा सञ्चालन भइरहेको छ । जुन कक्षामा बाजुरामा मात्रै वर्षेनी १ सय २५ देखि २ सय विद्यार्थी सहभागि हुने गरेका छन् । भने सुदूरपश्चिमका सात जिल्लामा गरेर ६ सय बढी बालबालिका लाभान्वीत हुने भइरहेका छन् । 

व्यवाहारिक जीवन सुधार गर्ने सीप र ज्ञान दिनकै लागि रुपान्तरण कक्षा प्रभावकारी भएको ज्ञानोदय माविका प्रअ विजयराम पाध्यायले बताए । ज्ञानोदय मावि बडीमालिका ७ रजातोलीमा पर्छ । रजातोली र ढम्कनेमा छाउ कुप्रथा, जातीय विभेद र पुरानो चिन्तन हाबी छ । विद्यार्थीलाई सिकाइने शिक्षा र थप कक्षाले सामाजिक सचेतनाका लागि र स्वयम व्यक्तिका लागि सकारात्मक प्रभाव परेको प्रअ पाध्यायको भनाई छ । 

रुपान्तरण कक्षा सञ्चालनका लागि ५ जना सहजकर्ता छन् । उनीहरुले शुक्रबार एक दिन अनिवार्य पढाउने गरेका छन् । रुपान्तरण कक्षाका लागि ३१ दिनको पाठ्यक्रम निर्माण गरिएको छ । कारणबस पाठ्यक्रम नसकिएको अवस्थामा थप दिन विद्यालय समय पछि पढाउने गरिएको छ । 

विद्यार्थीको सोच, व्यवाहारसँगै समुदायको चेतना स्तर सुधारमा समेत रुपान्तरण कक्षाले राम्रो भूमिका खेलिरहेको ज्ञानुदय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमाकान्त पाध्यायले बताए । सरसफाइमा ध्यान दिन थालेको देखिन्छ । ऐन कानुन, आत्म सुरक्षा र आत्मबल, निडर प्रस्तुती, खानपीन, महिनावारी स्वच्छता सबैमा ज्ञान पाएको देखिन्छ । त्यस कारण विद्यार्थी र अभिभावकको व्यवाहार परिवर्तन हुनमा सहयोग पुगेको छ, अध्यक्ष पाध्यायले भने ।

ज्ञानोदयमा ४० जना विद्यार्थी रुपान्तरण कक्षामा सहभागि छन् । कक्षामा सहभागि किशोर किशोरीले अनिवार्य अभिभावकलाई समेत सचेत गराउने र सुधारका लागि सम्झाउन गरेका छन् । बाल विवाह नगर्ने, विहे २० वर्ष पछि मात्रै गर्ने, मानव बेचविखन बारे सचेत रहने कुरामा रुपान्तरण कक्षाले नै सिकाएको शैलेजा तिमिल्सेनाले बताइन् । विद्यालय र घर दुबैतिर रुपान्तरण कक्षा पछि धेरै कुरामा फरक गर्ने गरेको उनको भनाई छ ।

भाइलाई पढ्न बसाउने, मलाई विद्यालय समय पछि घरको काममा खटाउने गरिएको थियो । दुबै दिदी भाइ रुपान्तण कक्षामा बस्न थालेपछि घरमा भन्यौं, अहिले त्यो विभेद हटेको छ, दीपीका तिमिल्सेनाले बताइन् । घरमा महिना बारी हुँदा अगल बसाउने समस्या थियो । सरसफाइमा दिनु पर्ने जति ध्याने गरेका थिएनौं, आफू सुरक्षित रहने बारे ज्ञान नै थिएन्, अहिले त्यो सबै कुरामा सुधार आएको दीपीकाले भनिन् ।

सरसँग डर नमानेर प्रश्न गर्ने, समस्या बताउने, प्याड माग्ने, घरमा अभिभावकलाई सम्झाउन सक्ने चेतना विकास भएको छ । बोली भाषामा सुधार आएको छ । सानालाई माया गर्ने, ठूलाको आदर गर्ने कुरामा सचेत छौं । बाल बचतमा समेत ध्यान दिने गरेका छौं, यो कुराले सिंगो जीवन नै परिवर्तन भएको, कक्षा नौ मा पढ्ने छात्रा पार्वती धामीले बताइन् ।

रुपान्तरण कक्षामा सहभागि विद्यार्थीको क्षमता विकास, सिकाइमा नै परिर्वतन आएको देखिन्छ । परम्परागत रटानमुखी शिक्षणबाट ‘सीप, व्यवहार र समस्या–समाधान’ केन्द्रित सिकाइमा समेत रुपान्तरण आएको स्वयम विद्यार्थीले बताउने गरेका छन् । 

सिकाइको गुणस्तरमा सुधार देखिन्छ । विद्यार्थी नै निडर भएर समस्या सुनाउन सक्ने र जिज्ञासा राख्न सक्ने भएपछि शिक्षकको भूमिकामा समेत परिवर्तन आएको भन्छन्, पीसविन नेपालका पालिका सुपरभाइजर कृष्ण बोहरा । विद्यालय शिक्षण सिकाइमा नै विद्यार्थीको सहभागिता र आत्मविश्वासमा वृद्धि भएको छ । सिकाइ वातावरणमा सकारात्मक परिवर्तन आएको देखिन्छ । भने विद्यालयको भौतिक व्यवस्थापनमा सुधार समेत सुधार हुने गरेको बोहराको भनाई छ । 

व्याप्त छाउ कुप्रथा र नरोकिएको बाल विवाह, छोरा छोरी बीचको विभेदमा सकारात्मक सुधार आएको अभिभावक मनीराम जैशीले बताए । अरुले भन्दाछोरा छोरीको कुरा मान्नु पर्ने बाध्यता हुन्छ । सबै कुरा काट्न सकिन्न, माया लाग्छ । सिकेका कुरा सबै सुधार गर्न आफू तयार भएको जैशीले थपे । घरको वातारण नै फरक भइरहेको उनको भनाई छ ।

नैतिक शिक्षा देखि सामाजिक चेतना स्तरमा सुधार आएको छ । कुरुती र कुमान्यता हट्न थालेका छन् । विद्यार्थी स्वयम आफ्नो कुरा राख्न सक्ने, भन्न सक्ने, बोल्न सक्ने भएको अवस्था छ । रुपान्तरण कक्षा पालिका केन्द्रीत अभियानकै रुपमा लिनु पर्ने अवस्था रहेको भन्छन्, बडीमालिकाका नगर प्रमुख अमर खड्का । विद्यालय केन्द्रीय रुपान्तरण कक्षाले विद्यार्थी र अभिभावकसँगै सिंगो विद्यालय र समाजलाई समेत सचेत र जिम्मेवार बनाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस