काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल) को जारी खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्ससामु जितका लागि १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिला टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनायो ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गर्नुभयो । यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाउनुभयो ।
पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गर्नुभयो । पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुईरदुई विकेट लिनुभयो ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको छ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा दोस्रो खेल खेल्दै छ । पहिलो खेल विराटनगर किङ्ससँग पराजित भएको पोखरा आजको खेल जित्ने दबाबमा छ । तर चौथो ओभरको समाप्तिमा पोखराले दुई विकेट गुमाएर मात्र १८ रन जोडेको छ ।
प्रतिक्रिया दिनुहोस