बाजुरा : कोदो प्रतिको दृष्टीकोण नफेरिएपनि यहाँका किसानका लागि प्रमुख आम्दानीको श्रोत बन्न पुगेको छ । कोदो उत्पादन गर्ने र उपयोग गर्ने कुरामा अझै किसानहरु उत्साहीत र कम इच्छुक देखिन्छन् । तरपनि बजारको बढ्दो माग हेर्दा यहाँका किसानका लागि प्रमुख आम्दानीको श्रोत नै कोदो बन्ने देखिन्छ ।
बाजुराबाट मात्रै गएको वर्ष ५० लाख बढीको कोदो जिल्ला बाहिर निर्यात गरिएको कृषि ज्ञान केन्द्रले बताएको छ । कोदो पहाडी क्षेत्रका गाउँहरुमा जताततै उत्पादन हुने खाद्यन्न बाली हो । प्राय नेपालका पहाडी भूगोलमा पर्ने सबैजसो गाउँमा कोदो उत्पादन हुन्छ । त्यसैमा सुदूरका पहाडी जिल्ला बाजुरा, अछाम, बझाङ, डोटी लगायतका जिल्ला प्रमुख उत्पादन केन्द्र नै हुन् ।
बाजुराबाट मात्रै व्यवसायीक खेती विनै आर्थिक वर्ष २०८१।८२ मा ५० लाख बढीको कोदो निर्यात गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जसिराम सहानीले जानकारी दिए । कोदो खेतीलाई मात्रै व्यवसायी बनाउन सके र उत्पादन बढाउन सके यहाँका किसानको जीवन स्तरमै राम्रो सुधार हुने सहानीको विश्वास छ ।
ज्ञान केन्द्रको तथ्यांक अनुसार गएको वर्ष बाजुराबाट दुई करोड ८० लाख बराबरको कृषि वस्तु जिल्ला बाहिर निर्यात छ । त्यो मध्ये कोदो मात्रै ५० लाख बढीको छ । कोदोसँगै सिमी, आलु, बन्दा, कागती, सुन्तला, फापर पनि निर्यात हुने गरेको छ । कोदो बाजुराका सबै भूगोलमा उत्पादन हुन्छ । कम लगानी र लागतमै उत्पादन हुने हुँदा यसको संभावना धेरै रहेको कृषि क्षेत्रका जानकारहरु बताउँछन् ।
जिल्लामा पाँच हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा करिब ६ हजार मेट्रिकटन कोदो उत्पादन हुने गरेको छ । जिल्लामा पछिल्लो समय कोदो उत्पादन दिनप्रतिदिन घट्दै गएको छ भने यसको महत्व बारे किसान जानकार हुन थालेका छन् । कोदो खेतीमा मात्रै किसाजनको आकर्षण बढ्न सके करोडको आम्दानी यहाँका किसानहरुले गाउँमै गर्न सक्ने अवस्था छ ।
यहाँका सामान्य परिवारले पनि ५ क्वीन्टल देखि ४० क्वीन्टलसम्म कोदो उत्पादन गर्ने गरेको पाइन्छ । तर कोदो विक्री हुन्न, कसैले खाँदैनन्, गरिबीको ट्याग लाग्छ भनेर कतिपयले जमिन बाँझो छोड्नु हुन्न भन्ने मान्यताले मात्रै लगाउने गरेका छन् । बाजुराका किसान पछिल्लो समय कोदो खेतीमा आकर्षित देखिन्छन् । कोदो बाजुराबाट धनगढी, काठमाडौं, चितवन र भैरहवा निर्यात हुने गरेको छ ।
महत्व बाहिर रहेको कोदो बालीको बढ्दो महिमा
कम लागतमै राम्रो फल्ने खाद्यन्न बाली हो, कोदो । तर यहाँका किसानले त्यही कोदोलाई कुनै महत्व दिएको पाइदैन् । गाउँतिर कोदो कमजोर र गरिब परिवारले खाने अन्न बाली हो, कोदो खाने मान्छे गरिब हुन्छ, भन्ने गलत मान्यता र हेलाको दृष्टी अझै हाबी देखिन्छ । कोदो रंगले कालो भएकोले पनि गहुँ मकै र चामललाई मात्रै यहाँका स्थानीय खाद्यन्न बाली मान्ने गरेका छन् ।
यही गलत मान्यताकै कारण पनि उत्पादन हुनु पर्ने जति कोदो उत्पादन भएको देखिदैन् । खाली जमिनमा सामान्य खनजोत पछि कोदो बाली फल्ने गर्छ । बर्षादमा फल्ने हुनाले सिँचाइको कुनै जरुरी नै छैन् । कोदोको बजार मूल्य पनि अरुको भन्दा बढी छ । तर स्थानीयले अझै धान, गहुँलाई मात्रै महत्व दिने गरेका छन् ।
सुदूरका पहाडमा कोदो माघ महिनाभर खानै हुँदैन्, धामी झाँक्रीले खाँदा जुठो हुन्छ । यो चोखो अन्न होइन्, धार्मीक कार्यमा चढाउँनु हुन्न, जस्ता गलत मान्यता हाबी छन् । माघ मास धर्मी महिना कोदो खानु हुन्न, मठ मन्दिरमा चढाउनु हुन्न भन्ने मान्यता समेत हाबी छ । जब बजारमा कोदोको माग बढीरहेको छ । जब यहाँका किसानलाई केही चेतना आएको देखिन्छ । शहरिया जीवनशैली नै बदलिएको छ । खानपीनमा फरक स्वाद खोजिएको देखिन्छ । त्यसमा कोदो प्रमुख रोजाइ बनिरहेको छ ।
मानव स्वास्थ्यका लागि उपयोगी खाद्यन्न
कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । कोदोको गुणमा होइन । कोदोको रंग देखेर मान्छे धारणा बनाउने गर्छन् । तर, कोदो तपाईंहामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन । महिमा नबुझेर वा बुझेर पनि कमजोर खानाका रुपमा लिएर मात्रै हेलामा परेको खाद्य बाली हो ।
यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खाना र शहर बजारको अत्याधिक मागहुने खाना समेत हो ।
कोदो हाम्रो मुलुकका लागि फयुचर स्मार्ट फुड (भविष्यको स्मार्ट भोजन) रहेको जनाउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), ले पनि ‘यसलाई ढिँडोका रूपमा मात्र नभई मःम, सेल रोटी, बिस्कुट, चाउचाउ र रोटी लगायतका आधुनिक परिकारका रूपमा पनि उपयोग गर्नु पर्ने सुभाव दिँदै आएको छ ।
सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । स्वास्थ्य कर्मीले समेत मानव स्वास्थ्यका लागि अति फाइदाकर र उपयोगी खाना भएकोले अरु अन्न बाली भन्दा बढी प्रयोग गर्न सुझाव दिने गरेका छन् ।
कोदोको महिमा बढाउँदै स्थानीय तह
कोदो बालीको प्रवद्र्धन र महिमा बढाउन यहाँका स्थानीय तहले कोदो दिवस भव्य रुपमा मनाएका छन् । स्थानीय कोदोको परिकार प्रर्दशन सहीत कतै वक्तृत्व कला कतै अन्र्तक्रिया सहीत दिवस भव्य मनाइएको देखिन्छ । नेपाल सरकारले पनि मन्त्री परिषद्को निर्णय अनुसार नै साउन १६ लाई कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको छ । निर्णय २०८२ असार २३ गते गरिएको हो ।
यो वर्षको कोदो दिवसको नारा नै ‘कोदोजन्य परिकारको आहार ः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ तय गरिएको थियो । सरकारकै प्राथमिकतामा परेपछि स्थानीय स्तरबाटै कोदो उत्पादनमा वृद्धि र प्रवद्र्वन गर्न सहयोग पुग्ने देखिन्छ । जिल्लाका स्थानीय पालिकाहरु सरकारले कोदोलाई राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरेसँगै रैथाने बालीहरुको संरक्षण र प्रवद्र्धनमा जुटेका छन् ।
हामीले मंसिर १ लाई घोषणा गरेका थियौं, त्यही अनुसार गएको वर्षदेखि नै मनाउँदै आएको हो, सरकारले नै यसको महिमा बुझेर नीतिगत निर्णय गरेपछि झन बल पुग्यो, उत्पादन बढ्ने भयो, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले भन्नु भयो ।
कोदोको उत्पादनले पोषण, खाद्य सुरक्षा तथा कृषि विविधिकरणमा मात्रै नभई ग्रामिण क्षेत्रका किसानको जीवन स्तरमै सुधार हुने विश्वास प्रमुख खड्काको छ । उसोत बडीमालिका नगरपालिका भित्रका सामुदायिक विद्यालयको खाजा नै कोदोको परिकार दिने गरिएको छ ।
सरकारले यो वर्ष निर्णय गरेपनि बडीमालिका नगरपालिको आर्थिक बर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा रैथाने बाली कोदोलाई प्राथमिकता दिदैँ रहेक वर्षको मंसिर १ गतेलाई कोदो दिवसको रुपमा मनाउँदै आएको छ । कोदोले नै यहाँका केही किसान परिवारको जीवन नै कायापलट हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस