बाजुरा : बढ्दो बेरोजगारीले युवाहरु विदेश पलायनको बाध्यता देशको प्रमुख समस्या नै बनिरहेको छ । देशमा बसेका र भएका युवाहरु पनि काम विहिन छन् । कतिले काम पाएर पनि गरेका छैनन् । कतिपयले कामै नपाएर बस्नु पर्ने बाध्यता छ । केहीले आफ्नै लगानी र इच्छाशक्तिमा पनि सुखद सुरुवादका खबर पनि नभएका होइनन् ।
आम्दानी कम होला, लगानी सानो होला, तर केही युवाले स्वदेशमै केही गर्नु पर्छ, आफ्नै गाउँ समाजमा केही गरेर देखाउनु पर्छ, भन्ने मान्यता राख्ने गरेको छ । केहीले इच्छाशक्ति राखेरै काम अघि बढाएका छन् । भने कोही कतै त्यसको सुरुवादीमा छन् । उनीहरुले जीवीको पार्जन पहिलो जिम्मेवारी ठानेका छन् ।
विदेश गएर पनि फर्किने यतै हो, गर्ने फेरि उही काम हो, आफ्न्तसँग, आफ्नै देशमा केही गर्न सके देशकै लागि योगदान हुने भावना बोकेका युवाहरु त्यो काम प्रति आकर्षण देखिएको पाइन्छ । सानै लगानीमा भएपनि उद्यम र आम्दानीमा युवा वर्ग जोडिनु र काम गरिखाने इच्छाशक्ति राख्ने कुरा देश र समाज अनि परिवार सबैका लागि सकारात्मक हो ।
यही भावना र सोच राखेर बाजुराको मार्तडीमा पाँच जनाले खाजा घर खोलेका छन् । कोही रोजगारी, केही विद्यार्थी र कोही पसल व्यवसायी युवाहरु मिलेर स्थानीय पहिचान झल्किने ‘नल पराल’ खाजा घर खोलेका छन् । न्यूनतम लगानीमा खाजा घर खोलिएको सञ्चालक विशाल ओलीले जानकारी दिए ।
‘नल पराल’ खाजा घर सञ्चालमा विशाल ओली बाहेक राजेन्द्र जैशी, गोरख खड्का, यसराज खड्का र टेकेन्द्र साउँदको पनि साझेदारी छ । विशुद्ध स्थानीय खानाका परिकार र पारिवारिक वातावरण दिएर सेवा प्रवाहको उदेश्य उनीहरुले राखेका छन् । खाजा घर निर्माणमा डेढ लाख लगानी गरिएको दाबी उनीहरुको छ ।
सुको घाँस, जो गहुँ, र जौबाट बनेको हुन्छ, त्यो खरलाई ‘नल पराल’ भनिन्छ । त्यही ‘नल पराल’ को प्रयोग गरेर खाजा घर सजाइएको छ । बस्ने कुर्सी, टेबल, लाइट व्यवस्थापन र सबै कुरा पनि उनीहरुले स्थानीय स्तरमै उपलब्ध काठ, निकालो, चोयाबाट आफ्नै हातले बनाएर सजाएका छन् ।
केही बाहिरबाट ल्याउनु पर्ने समान बाहेक सबै आफैले बनाएर व्यवसाय सुरु गरिएको छ । ठूलो लगानीबाट मात्रै आम्दानी बढी हुने, बाहिरका सामाग्री प्रयोग गर्दा मात्रै ग्राहक आउने र आकर्षण थपिन्छ भन्ने मान्यतालाई तोड्ने गरि व्यवसायीक अवधारणा अघि सारिएको विशाल ओलीले बताए ।
कम लगानीमा पनि राम्रो आम्दानी गर्न सकिन्छ । आम्दानी लगानी भन्दा बढी मेहनतमा भर पर्छ । स्थानीय रैथानी बस्तुको प्रयोगले पनि होटल व्यवसाय राम्रो गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि ‘नल पराल’ खाजा घर सञ्चालनमा ल्याएको दाबी उनीहरुको छ ।
विहान ६ देखि साँझ ६ बजेसम्म मध्यपान धुम्रपान निषेध गरिएको छ । त्यो समयमा खाजा, नास्ता, चिया, कफि आदि मात्रै विक्री गरिने सञ्चालक मध्येकै एक एसराज खड्काले बताए । अरु पनि गर्न सकिने ठाउँहरु थिए, स्थानीय रैथानी खानेकुराको स्वाद दिनु, सामान्य लगानी र गाउँले पहिचानको आकर्षणलाई प्रवद्र्धन र विकाउ बनाउने उदेश्य राखेर नै खाजाघर सञ्चालन गरिएको हो, खड्काले भने ।
सञ्चालन मध्ये टेकेन्द्र साउँद आफै नामी कुक हुन् । उनलाई विदेशको भिषा समेत लागेको थियो । शहरका नामी होटलमा पनि कामको अफर आएको थियो । यस अघि मार्तडीकै नाम चलेका होटलमा कुक भएर काम गरेका थिए । उनी अहिले आफै ‘नल पराल’ खाजा घरका लगानी होल्डर मात्रै होइन्, कुक पनि स्वयम नै हुन् ।
राजेन्द्र जैशी पनि परिकार पकाउने सीप र दक्षता राख्ने युवा हुन् । यस अघि मोटरवाइक मर्मत सेन्टर सञ्चालन गर्दै आएका थिए । हालपनि त्यो व्यवसायमा पनि आवद्ध छन् । स्वदेशमै केही गरौं भन्ने मान्यता राखेर ‘नल पराल’ खाजा घरको कन्सेन्ट सहीत सुरुवाद गरिएको राजेन्द्र जैशीले बताए ।
विदेश जान सक्ने सीप र क्षमता भएर पनि आफूहरुले स्वदेश त्यसैमा पनि आफ्नै गाउँमा केही गर्नपर्छ भन्ने मान्यताका साथ काम सुरुवाद गरिएको बताएको छ । ‘नल पराल’ खाजा घरमा साँझ ७ देखि १० बजेपछि मात्रै मध्यपान र धुम्रपानका लागि खुला गर्ने गरिएको छ ।
बजारका फास्टफुड, चिकेन, मटन, भेट देखि सबै प्रकारमा खाना खाजाका परिकारहरु बनाउने गरिएको छ । बिशेष गरि परिवारसहीतको खाजा खाने समूह र साथीसंगीको ठूलो टिमलाई बसेर आनन्दका साथ गाउँमै परिवेश सम्झेर खाजा खाने गरि खाजा घर सञ्चालन गरिएको छ ।
नयाँ र फरकपनको आभाष हुने भएकोले ‘नल पराल’ खाजा घरमा ग्राहकहरु दिनहुँ बढीरहेको देखिन्छ । हप्तादेखि अघि मात्रै उनीहरुले औपचारिक उद्घाटन गरेका हुन् । २ वर्षदेखिको योजना थियो । स्थानीय जीवनशैली, गाउँले परिवेश झल्किने गरि डिजाइन बनोस् भन्ने उदेश्यले लामो छलफल र समीक्षा पछि सञ्चालनमा ल्याउन सफल भएको उनीहरुको भनाई छ ।
युवाहरुको अवधारणालाई बडीमालिकाका नगर प्रमुख अमर खड्काले पनि खुसी व्यक्त गरेका छन् । विदेश गएर पैसा बढी भएपनि पहिचान रहने अवस्था हुन्न, पैसा भन्दा पनि परिचय र भविष्य पनि हेर्नु पर्छ, भन्ने युवाहरुको सोच सकारात्मक रहेको प्रमुख खड्काले बताए ।
निकै कम लगानी छ । डुब्ने अवस्था आएपनि ठूलै असर पर्ने देखिन्न् । अरु युवाहरुका लागि ‘नल पराल’ खाजा घर प्रेरणा बन्न सक्छ, खड्काले थपे । आयआर्जनका गतिविधीमा जोडिन लगानी नै सब थोक हो, र ठूलो रकम खर्च गर्नु पर्छ, भन्ने मान्यता बाहिर रहेर व्यवसाय सुरु गरेका युवाहरुको काम प्रति उद्योग वाणिज्य संघले पनि धन्यवाद दिएको छ ।
सबै डिजाइन बाहिरकै थिए, नक्कल बाहिरकै गर्ने गरिन्थ्यो, यी युवा भाइहरुले झर्रा बाजुराली त्योपनि दुर्गमको गाउँमै परिवेशसँग मिल्ने खाजा घर बनाएर केही नयाँ सन्देश र सुरुवाद गरेको देख्दा खुसी लाग्यो, उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले बताए ।
सुदूरका पहाडमा पछिल्लो समय ३० ननाघेका युवाहरु उद्यम र आम्दानीमा जोडिएको देखिन्छ । कृषि खेती, होटल व्यवसाय, तरकारी खेती, फलफूल खेती, र केही नयाँ प्रविधीयुक्त सीप सहीतको व्यवसायमा युवाहरु जोडिएको देखिन्छ । यसले युवाहरुमा उद्यमतर्फ आकर्षण बढ्ने, आर्थिक आम्दानी पनि हुने र आत्मनिर्भरता सिर्जना भएर बेरोजगारी समस्या कम हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस