कृष्ण अाेली/ बाजुरा : प्रकृति पनि रानी जस्तै हुन्छ त रु अनि रानी नै किन भनिएको होला धेरैको मनमा प्रश्न उठ्न सक्छ । जिज्ञासा जाग्न सक्छ । आश्चर्य पनि लाग्न सक्छ । तर यो सृष्टीमा असम्भव केही रहेन छ । प्रकृतिको परिवारमा होस् कि मान्छे सबै कुरा सम्भव हुन्छ भन्ने उदारण हो, रानीसैन ।
सुन्दरता र स्वच्छतामा अलौकिक छ । आकर्षणमा धर्तीमै नभेटिएको प्रकृतिको स्वर्ग लाग्छ । वरिपरिको प्रकृतिले प्रेमीकालाई जस्तो जतन, माया र सजाएर राखे जस्तै । दरबारमा राजाले रानीलाई जस्तै माया र सम्मान रानीसैनले प्रकृतिबाट पाएको देखिन्छ । हिउँको घुम्टो पनि, हरियालीको शितलता पनि, पानीको रुझान पनि, पहाडको शहर पनि, अनि खुला रम्ने मैदान पनि । रानीसैन सौभाग्यवती छिन् ।
प्रकृतिकी रानी रानीसैन चर्चामा आएको र पर्दामा देखिएको धेरै भएको छैन । केही समयमै रानीसैनले आफ्नै सुन्दरतामा पुग्ने जतिलाई लठ्ठ पारिसकेकी छ । सुन्दरता देखेर नै राजा महेन्द्रले रारालाई स्वर्गकी अप्सरा भने जस्तै यहाँका स्थानीयले रानी खर्कलाई रानीसैन भन्ने गरेका छन् ।
त्यही अप्सरा जस्तो सुन्दर रारा ताल रहेकै मुगुको छिमेकी जिल्ला बाजुरामा पर्छ, रानीसैन । सुरुमा यसलाई रानी खर्क भन्ने गरिन्थ्यो । स्थानीयले गोठ बनाएर बस्ने, वर्षाको समयमा चौंरीगाई, भैंसी, भेडाच्याङ्ग्रा लैजाने र गोठ अर्थात् स्थानीय भाषामा खरले छाएका अस्थायी टहरा खर्क लगाएर बस्ने गर्थे । वर्षाको समयमा त्यहाँका स्थानीयको बास स्थान जस्तै हो, रानीसैन । हिउँदमा भने बस्न गाह्रो हुन्छ । करिब ६ महिना हिउँकै घुम्टोले रानीसैन ढाकिएको हुन्छ ।
बाजुराको हिमाली गाउँपालिका(३ मा पर्छ रानीसैन । हुम्ला र बझाङ जिल्लाको सीमा क्षेत्र पनि हो । सैपाल हिमालको पूर्व फेद अर्थात् काख नै रानीसैन हो । जो राजाबिना रानी तड्पे जस्तै, पर्यटकबिना रानीसैन पनि एक्लो देखिन्छ । सुनसान तर सुन्दर देखिन्छ, त्यो रानीसैनको विशेषता हो ।
प्रचारको कमी
हिमाली गाउँपालिकाको धुलाचौरबाट कम्तीमा दुई दिनको पैदल यात्रा । पुग्न सहज छैन । तर पुगेपछि स्वर्ग जस्तै लाग्छ । थकाइ सब मेटिन्छ । त्यसैले पुग्ने जतिले भन्छन्, ‘रानीसैन प्रेमी पर्खी बसेको छ । उ प्रतिक्षामा छ । कोही आओस् अनि मोहनी लाउन पाइयोस् । आफ्नो आँगनमा खेल्नेहरुको कमी नहोस् ।’
भू(आकारले रानीसैन हिमाल, पहाड र तराइको संयोग जस्तै छ । हावापानीले लेकाली भेग, हिमालको काख अनि चिसो मौसम भए पनि भूवनावट तीनै क्षेत्रको संयोजनमा बनेको छ । सैपाल हिमालकै फेदीमा पहाड भेटिन्छ । हेर्दा पनि लाग्छ रानीसैन कोही कसैले फुर्सदमा बनाए जस्तो । त्यो पनि हातले सुधार गरीगरी ।
उकालो ओलारो हेर्दा पहाडको महसुस हुन्छ । अनि समथर रानीसैनको पाटन हेर्दा लाग्छ, यो कुनै तराई क्षेत्रको सम्म परेको उर्वर जमिन हो । हिमाल पहाडले घेरेको उपत्यका हो । बीचको फाँटसँगै जोडिएका परपरसम्म देखिने हरियो जङ्गलको आकर्षणले अर्को सुन्दरताको ताज परिरहेजस्तै देखिन्छ, रानीसैन ।
भन्दा फरक पर्दैन, रानीसैन स्वर्ग हो । त्यो पनि धर्तीमा लुकेको सुदूरको स्वर्ग । बाजुरा बडीमालिका जस्तै भू(स्वर्गको जिल्ला हो । बुढीनन्दा जस्तो आस्था र विश्वासको जननी हो । त्यसैमा भेटिएको अर्को प्रकृतिको स्वर्ग रानीसैन । कुनै भन्दा कम र कमजोर छैन ।
बाटो पुर्याउन तत्काल सम्भव देखिन्छ । हिमाली गाउँपालिकाले गाउँ सभा नै रानीसैनमा गरेको थियो । केही डटुमेन्ट्रीबाहेक प्रचारका लागि धेरै प्रयास गरिएको छैन । थाह पाएका र व्यवसायिक घुम्ने योजना बनाएका बाहेक त्यहाँ कमै पुगेका छन । तर पछिल्लो समय पालिकाले नै प्रमुख महत्वको रुपमा रानीसैनलाई प्राथमिकतामा राखेको पालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल बताउँछन् ।
बाटो बनाउन आवश्यक देखिन्छ । पर्यटकका लागि बस्ने बास स्थान र खानेकुरासहितका होटल पसल पनि आवश्यक छ । त्यो सबै कुरालाई बिस्तारै सुधार गर्न लागिएको हो, त्यो भन्दा पहिला संघ र प्रदेश सरकारले बाटो पुर्याउने गरी लगानी गरिदिए हुने अपेक्षा गाउँपालिकाको छ ।
हिमालीको साविक बिछ्या गाउँ विकास समिति र हालको १,२ र ३ नम्बर क्षेत्र जडीबुटीको खानी भएको भूगोल हो । जडीबुटी पनि उत्पादन र बजारीकरणका लागि सडक आवश्यक छ । त्यसैमा रानीसैनसम्म सडक नभए पनि सहज पैदल मार्ग बनाउन र थप संरचना निर्माण गर्न सके हिमालीका स्थानीयका लागि आम्दानीको स्रोत हुने गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताउँछिन् ।
रानीसैन समुद्री सतहबाट ३ हजार ५ सय ७८ मिटरको उचाइमा छ । चौंरीको वासस्थान साथै घोडा, भेडा बाख्राहरुले वन नै ढाकिने क्षेत्र हो । अन्य जंगली जनावरको ताँती र लस्कर अर्को आनन्द लाग्ने दृश्य हो । रानीसैनमा पाटन र हिमताल साथै हिमालबाट अप्सराहरुको सुन्दर कपाल जस्तै लामा देखिने सुन्दर झरनाहरुमा रमाउन सकिन्छ ।
रानीसैनमा पाइने हरेक जीवजन्तु, पशुपन्छी, बोटविरुवाले त्यत्ति नै सुगन्ध र रमणीय बनाउने गरेका छन् । सैपाल हिमालको फेदी रहेको ३ हजार ५ सय ७८ मिटरको उचाइमा सुन्दर हिमपात छ । जुन ठाउँबाट दिउँसो सैपाल हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ गुडुङ आवाजले रक स्टारले बजाएको गीतको धुन जस्तै सुन्न सकिन्छ ।
पर्यटकीय क्षेत्र नजिकै जडिबुटीको भण्डार, बुकीलगायतका चिजबिज पाइन्छ। जहाँ फूलै फूलले टम्म परेको रंगिन फाँट आँखाले नभ्याउन्जेल सम्म धीत मर्नेगरी हेर्नको लागि अति नै सुन्दर राम्रो रमणीय रहेको छ । जटामसी, गुच्चीच्याउ, पदमचाल, पाँच औँले, सेतो चिनी, विष, यार्सागुम्बा लगायतका सयौं जातिका जडीबुटी पाइने गरेको छ ।
कर्णाली नदी सङ्हकुवाडी नदीको मूहान पनि सैपालको हिउँ र हिमताल नै हो । हालसम्म धेरै आन्तरिक तथा बाहिरी पर्यटकलाई यस क्षेत्रमा आउन सकिरहेको छैन । रानीसैन विकासको मात्र नभएर संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय पदमार्ग सम्भावना बोकेको र पर्यटकीय सडक मार्ग साथै होमस्टे र इकोभिलेज जस्ता आयस्रोत वृद्धि विकास गर्ने सम्भावना बोकेको स्थान पनि हो रानीसैन । जहाँबाट सैपाल हिमाल हेर्न, हुम्ला भएर मानसरोवरको यात्रा गर्न पनि सहज हुनेछ ।
बाह्य पर्यटकका लागि विशेष गरी सबै भन्दा सहज छोटो नेपालगञ्जबाट बाजुरा विमानस्थल यहाँ आउन सकिन्छ । सडक सञ्जालबाट आउने हो भने सुर्खेत हुँदै कर्णाली करिडोरबाट सिधै करिब एकरआधा दिनमा हिमाली गाउँपालिका केन्द्र पुगिन्छ । हवाई जहाजबाट नेपालगञ्ज हुँदै कोल्टी विमानस्थल र कोल्टीबाट १ घण्टा जीपको यात्रा गरी गाउँपालिका केन्द्र पुग्न सकिन्छ ।
जीवना हुँदै बौडी, गुम्बा, चियाचौर हुँदै लाम्पाटा भएर डेढ दिनमा रानीसैन पुगिन्छ । रानीसैनसम्म सडक सञ्जाल नजोडिएका कारणले अधिकांश स्थानीय समेत जान सकेका छैनन् । यातायात धेरै भए पनि हिमाली गाउँपालिका केन्द्रदेखि हुम्लाको जीवना गाउँसम्म यातायातसम्म पुगिन सकिन्छ । दिनको पैदल दूरी हुँदै बीचमा युना बौड़ी, गुम्बा लाम्पाटा लगायतका बस्ती हुँदै रानीसैन पुगिन्छ । त्यसभन्दा माथि खर्क गोठालो लाग्ने ठाउँमा बस्न र खाने कुरा पाउन सकिन्छ । केही बन्दोबस्तीका सामग्री भने आफैँले बोक्नुपर्छ । र, हिंडेर जानुपर्ने अवस्था छ ।
जिल्लाको सिमानामा पर्ने कवाडी खोलाको बगिरहेको पानी रानीसैन हिमताल हुँदै बगेर खोला बनेको स्थानीय बताउँछन् । सरकार परिवर्तन भए पनि रानीसैन भने उस्ताको उस्तै रहेको छ । कुनै पनि सरकारले बाजुरा एउटा पर्यटनको सम्भावना बोकेको ठाउँ प्रचार(प्रसार कमी हुँदा रानीसैन उस्तै अवस्था ओझेलमा परेको छ । रानीसैनको प्रचारप्रसार कमी मात्र होइन यस क्षेत्रलाई संरक्षण र प्रवर्द्धनको कमी पनि छ ।
प्रतिक्रिया दिनुहोस