अछाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले) अछामका जिल्ला सचिव हिरण्ड भट्टाराईले पार्टी नेतृत्वका सन्दर्भमा सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक तर स्पष्ट सन्देश दिएका छन् । उनले नेकपा एमाले भित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नु अहिलेको सन्दर्भमा अनावश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसुबक मार्फत भट्टाराईले कडा शब्दमा ओलीको पक्षमा धारणा राखेका छन् । भट्टाराईले फेसबुकमा लेखेका छन्, “तत्काल एमालेमा नेतृत्वको विकल्प खोज्नु भनेको Horlicks को बिर्को खोल्न Energy को Tablet खानु सरह हो — दृढ भएर संगठन निर्माणमा लागिरहौं!”
उक्त टिप्पणीमार्फत उनले एमालेभित्र केही समययता चलिरहेको नेतृत्व परिवर्तनको बहसलाई अप्रासंगिक भन्दै अध्यक्ष ओलीबाहेक अर्को विकल्प खोज्ने बेला नरहेको संकेत गरेका हुन् । उनको भनाइ अनुसार, अहिलेको प्राथमिकता पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने हुनुपर्छ, न कि नेतृत्व परिवर्तनको अनावश्यक बहसमा फस्नु ।
केही महिना अगाडि अछाम एमालेको जिल्ला अधिवेशनबाट सर्वसम्मत सचिव निर्वाचित भएका भट्टाराईले आफ्नो सार्वजनिक धारणामा पनि एक कार्यकाल ओलीकै पक्षमा समर्थनको विकल्प नरहेको बताउँदै आएका छन् । राष्ट्रपति जस्तो गणतन्त्रको गौरव ठानिएको पदलाई दुरुपयोग गर्ने र पदकै गरिमा घटाउने कुरा सिंगो मुलकका लागि र व्यवस्थाका लागि नै समस्या हुने उनको तर्फ छ ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको यो सन्देश पार्टीभित्र असन्तुष्ट आवाजहरूलाई लक्षित गर्दै उनले व्यङ्ग्य गरेका हुन् । भट्टाराईको धारणा अनुसार वर्तमान नेतृत्वले मात्रै भविष्यको चुनौती सामना गर्न सक्ने दाबी गरिएको छ । ओलीकै चाहना अनुसार २ कार्यकाल र ७० वर्षे उमेर हद हटाएको विपक्षको आरोपलाई चिर्न जिल्ला जिल्लामा समर्थन जुट्न थालेका छन् ।
भट्टाराई एमाले अछाममा क्रियाशील र प्रभावशाली नेता मानिन्छन् । उनको यो टिप्पणी पार्टीभित्रको आन्तरिक बहसलाई स्पष्ट दिशा दिने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस