कृष्ण ओली/बाजुरा :समयसँगै मानव स्वभाव र रुचीहरु फेरिएको देखिन्छ । घरपरिवार र सीमित आफन्त बीच भेटघाट र रमाइलो गर्ने आम मानव प्रवृत्तिमा बदलाभ आएको पाइन्छ । हरकोहीलाई घुम्नु, रमाइलो गर्नु, फोटो खिच्नु, रिल र टिकटक बनाउनु जस्ता रहर बढेको छ ।
पछिल्लो पुस्तामा आफन्त होस् की, साथीसंगी सबैसँग सहजै घुमघाम गर्ने कुरा जीवनशैली नै बनिसकेको देखिन्छ । कोही आन्तरिक पर्यटनको शैलीमा त, कोही बाह्य पर्यटकको रुपमा घुमफिर गर्ने, रमाउनेक्रम बढ्दो छ ।
घुमफिर खुसी हुने र आत्मीय सन्तुष्टी आर्जन गर्न उत्तम उपाय नै हो । रमाइलो हुने, खुसी हुने र आनन्द महशुसहुनेसँगै घुमफिरले अर्थतन्त्रमा समेत सुधार ल्याउने गरेको छ । पछिल्लो समय बाह्य भन्दा आन्तरिक पर्यटन विकासमा सुधार देखिन्छ । घुम्ने गन्तव्य चाहे जिल्लामै हुन्, की पालिका भित्र, वा छिमेकी जिल्ला आउने जानेक्रम बाक्लै देखिन्छ ।
ती मध्येको पछिल्लो समय चर्चामा रहने गन्तव्य हो, वीरेखोला झरना । बाजुराको बडीमालिका नगरपालिका ८ र ६ को सीमा क्षेत्रमा पर्छ । बाजुरा सदरमुकाम मार्तडीबाट मात्रै ६ किलोमिटरको दुरीमा छ । भने छिमेकी जिल्ला अछामबाट ५० किलोमिटरको यात्रा पछि पुगिन्छ ।
त्यही वीरेखोला झरना केही वर्षयता आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । जो कोहीका लागि सहज आउने र रमाउने माध्यम नै हो, वीरेखोला झरना । बडीमालिका ६ का लागि आम्दानीको श्रोत हो, भने आन्तरिक पर्यटकका लागि घुमफिरको प्रमुख गन्तव्य । असार देखि कात्र्तिकसम्मका लागि वीरेखोला झरना बालकदेखि वृद्धिसम्मका लागि घुम्ने प्रमुख केन्द्र नै हो ।
बर्षायम सुरु भएसंगै आन्तरिक पर्यटनको आकर्षण नै हो, भन्छन्, बडीमालिका ६ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का । प्रतिदिन घुम्न आउने पर्यटकका लागि वडाले २० रुपैया टिकट समेत दिने गरेको छ । शनिबार र शुक्रबार धेरै हुन्छन्, बाँकी दिन पनि कात्र्तिकसम्म घुम्नआउनेको संख्या घट्दैन् भन्छन्, वडा अध्यक्ष खड्का ।
शनिबारको दिन छिमेकी जिल्ला अछामको साँफेबगर नगरपालिकाका उपप्रमुख सलोज कुँवर सहीतको टोली पनि घुम्नका लागि वीरेखोला झरना पुगेको थियो । अछाम र बाजुराका लागि खास गन्तव्य जस्तै बनेको छ ।
वीरेखोला झरना गर्मी छल्नेहरुका लागि शितलता, प्रकृतिमा रमाउनेका लागि आनन्द र सन्तुष्टी अनि जोडीयात्राका लागि रमाइलो गन्तव्य बनिरहेको छ । बडीमालिका नगरपालिकाले नै वीरेखोला झरनालाई आन्तरिक पर्यटन विकासको प्रमुख गन्तव्यकै सूचीमा राखेको भन्छन्, नगर प्रमुख अमर खड्का । थप व्यवस्थीत र आकर्षक बनाउने गरि योजना भइरहेको उनको भनाई छ ।
एक सिजनमा लाख बढीले अवलोकन गर्ने गरेको रेकर्ड छ । झरनासम्म अवलोकन तथा रमाउन जाने त छदैछन् तर गाडीमा आवत जावत गर्ने जो कोहीले पनि जान नछुटाएर, फोटो खिच्नका लागि भएपनि त्यहाँ पुग्ने गरेको पाइन्छ । झरना सय मिटर लामो उचाइबाट झर्छ । साँफे मार्तडी सकडकको छेउमै पर्ने भएकोले पनि सबैजसोको नजरमा पर्ने गरेको छ ।
सामान्यतः जिल्लाभित्रका अधिकांस मानिस झरनामा फोटो खिच्नका लागि भएपनि पुग्ने गर्दछन् । करिब पाँच वर्षयता यो झरनाले समाजिक सञ्जाल लगायतमा चर्चा छ । एकनासले छल्कँदै बग्ने झरनामा इद्रेणी पर्ने गर्दछ । पर्यटकहरु छल्कीएको पानीमा नुहाएर रमाउने, कोही टिकटक बनाउने त कोही फोटो खिच्ने बढी हुन्छन् । गत वर्षयता झरनासम्म बडीमालिका नगरपालिकाले झरनासम्म पुग्ने फराकिलो बाटो झरनामा प्रवेश गर्ने गटे र झरनाको तल काठको पुल र रेलिङड, बस्नको लागी टिनको छाप्रा निर्माण गरेको छ । यसले पर्यकहरुको मन झनै लोभ्याउने गरेको छ ।
माथि डाँडाबाट आएको चिसो पानीमा नुहाउँदा आनन्दको महसुस हुने गरेको पुग्नेहरुले बताउने गरेका छन् । गर्मी छल्न र मन बहलाउनका लागि उक्त झरना पर्यटकीय गन्तव्य बन्न सक्ने र यसले आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकलाई समेत लोभ्याउन सक्ने संभावना रहेको देखिन्छ ।
पुग्नेहरुले एकपटक स्वर्गीय आनन्द महशुस गर्ने गरेका छन् । जो पुग्छन्, घण्टा बिताएर मात्रै फर्किन्छन् । फोटो खिच्छे, रिल टिकटक बनाउने, पौडी खेल्ने, पानीको फहरामा रमाउने गरेका छन् । विद्यालयले आन्तरिक भ्रमण कार्यक्रम राखेरै पुर्याउने गरेको देखिन्छ ।
आह लाग्ने यो, वीरे खोला झरनाले पर्यटकीय प्रर्वद्धनमा निकै भूमिका खेलेपनि भौतिक पुर्वधार लगायतका विकासमा केही कमी हुँदा झरनाबाट लिनु पर्ने लाभ स्थानीय तहले लिन सकेको छैनन् । फूलको बगान, छेउमा उम्रेका रुखको उचित व्यवस्थापन र घुम्न सहज बाटो निर्माण गर्न सकेपनि धेरै राम्रो हुने विश्वास डिजिजन वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द्र डिसीले बताए ।
निजी क्षेत्रसंग सहकार्य गर्दै पर्यटकीय क्षेत्र सो झरनालाई व्यवस्थित बनाउन सके आर्थिक विकासमा पनि निकै मदत पुग्ने देखिन्छ । झरना साँफे मार्तडी सडक नजिकै रहेकाले पर्यटकको आगमनमा पछिल्लो समय वृद्धि हुन थालेको अर्का स्थानीय बताउँछन् । हिउँदमा सुख्खा जस्तै हुने रापक बजारका होटल पसलहरु पनि असार लागेपछि कुनै दिन खाली हुदैनन् ।
बुढीगंगा र कोर्धाली गाडका माछा खान पाइने, स्थानीय उत्पादनका काँक्रा र कुखुराको बजार क्षेत्र पनि रापक भएकोले वीरेखोला झरना स्थानीय व्यापारीका लागि राम्रो आम्दानीको श्रोत बनेको छ । जुन गन्तव्यको विकासमा पालिकाले समयमै ध्यान दिन सके पर्यटन विकासमा राम्रो सहयोग पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस