शुक्रबार, ०२ कार्तिक २०८१

सुदृढीकरण अभियान लिएर काँग्रेस नेताहरु गाउँगाउँमा

बाजुराका नौ वटै पालिकामा पुग्ने तयारी

बाजुरा : नेपाली कांग्रेसका नेताहरु पार्टी सुदृढीकरण अभियान लिएर गाउँ पुगेका छन् । पार्टीको आन्तरिक संगठनको सुदृढीकरण, पार्टी कार्यकर्ता भेटघाट र आगामी संगठन निर्माण योजना सहीत नेताहरु गाउँ गाउँ पुगेका हुन् ।

नेपाली काँग्रेसले यतिबेला देशव्यापी रुपमा संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको छ । प्रत्येक पालिका पुग्ने, कार्यकर्ता भेट्ने, पार्टी संगठनको अवस्था बारे जानकारी लिने र पार्टी हितका पक्षमा छलफल गर्ने योजना सहीत अभियान लिएर गाउँ गएको नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलले बताएका छन् ।

बडीमालिका नगरपालिकाबाट सुरु गरिएको अभियान अन्र्तगत आज चौथो दिन खप्तड छेडेदह गाउँपालिकामा कार्यक्रम गरेको छ । दोस्रो दिन त्रिवेणी र तेस्रो दिन बुढीगंगा नगरपालिकामा कार्यक्रम गरेको थियो । नेपाली काँग्रेसले पार्टी केन्द्रीय प्रतिनिधी नै खटाएर अभियान सञ्चालन गरिरहेको छ ।

बाजुराका लागि पार्टी केन्द्रीय सदस्य नृप वड प्रतिनिधीका रुपमा जिल्लाको अभियानमा सक्रिय छन् । भने काँग्रेस महमहामन्त्री बद्रीप्रसाद पाण्डे पनि अभियानमै सहभागि हुने सातादिन देखि बाजुरामै छन् । नेता कार्यकर्ताको जम्बो टोली नै अभियान सहीत प्रत्येक पालिका पुग्ने गरेको छ । 

प्रदेश निर्वाचन क्षेत्र (ख) का पाँच वटै पालिकामा कार्यक्रम सकाएर निर्वाचन क्षेत्र (क) मा टोली जाने नेपाली काँग्रेस बाजुराले बताएको छ । चार पालिका सकाएर अभियानको औपचारिक भेटघाट तथा छलफल कार्यक्रम भोलि गौमुल गाउँपालिकामा सञ्चालन गर्ने पार्टी सचिव भरत रोकायाले बताएका छन् ।

काँग्रेसले आफ्नो औपचारिक कार्यक्रमलाई साउन २३ गतेबाट सुरु गरेको हो । टोलीमा  काँग्रेसका सहमहामन्त्री प्रतिनिधि सभाका सदस्य बद्रीप्रसाद पाण्डे, केन्द्रीय सदस्य एवं बाजुरा प्रतिनिधी नृप वड, पार्टी सभापति रामसिंह रावल, उपसभापति पदम बडुवाल, प्रदेश सभाका सदस्यद्धय पदम बहादुर शाही र जुना दानी, संविधान सभा सदस्य महा नेपाली सहीत नेताहरु अभियानमा सक्रिय छन् ।

पार्टी भित्रको आन्तरिक विवाद र उम्मेदवारी नमिलेका कारण स्थानीय तह गुमाउन बाध्य नेपाली काँग्रेसले सुदृढीकरण अभियान अन्र्तगत कमजोरीलाई सुधार्ने, पार्टीलाई बलियो बनाउने, टाढिएका मनहरुलाई जोड्ने, कार्यकर्ताका जनगुनासा सुन्ने कार्य गरिएको छ ।

अभियान अन्र्तगत नेता कार्यकर्ता आफ्ना कुरा सुनाउने भन्दा पार्टी कार्यकर्ताका कुरा सुन्ने लाइनमा छन् । पार्टी भित्रको अघोषित गुट उपगुटका कारण पार्टी कमजोर हुँदै गएको कार्यकर्ताको बुझाई छ । 

चार वटा पालिकामा गरिएको कार्यक्रमका सहभागिले पार्टी भित्रको गुटबन्दी अन्त्य गर्नु पर्ने, नेताका कार्यशैली सुधार गर्नु पर्ने, पार्टीले गर्ने काम जनताका पक्षमा हुनु पर्ने, सबैले इमान्दारीता पूर्वक जिम्मेवारी निर्वाह गर्नु पर्ने सुझाव दिएको नेताहरुले बताएका छन् ।

संघ र प्रदेश सभा गठबन्धनका कारण जितेपनि नेपाली काँग्रेस बाजुरामा तीन वटै स्थानीय तहमा सीमित छ । २०७४ मा ९ मध्ये ६ वटा जितेको थियो । २०७९ मा ठिक उल्टो ३ मा सीमित भएको छ । नेताहरुले जिल्लाको संगठनलाई थप बलियो र प्रभावकारी बनाउन अभियानसँगै कार्यकर्ताको राय लिने काम पनि गरिरहेका छन् । 

काँग्रेस नेताहरु चुनाव जितेर पनि लामो समयपछि गाउँ पसेपछि कार्यकर्ताले आक्रोश पोखेका छन् । आश्वास बाँड्ने काम मात्रै नगरि काम गरेर देखाउन र समस्यालाई संवोधन गर्न अनुरोध गरेका छन् । नेताहरुले पनि सकेजति इमान्दार पूर्वक काम गर्ने वचन दिएका छन् । अभियानमा जिल्ला समिति देखि पालिका, निर्वाचन क्षेत्र र वडा समितिसम्मका नेता कार्यकर्ता खटिएका छन् । 

प्रतिक्रिया दिनुहोस