शनिबार, ०७ बैशाख २०८२

युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

धनगढी: राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता २०८१ को उपाधि डोटीले जितेको छ ।मङ्गलबार भएको फाइनल खेलमा टिम मालिकार्जुन दार्चुलालाई फाइनल खेलमा हराउँदै राष्ट्रिय युवा सङ्घ डोटीले उपाधि जितेको हो ।

लागू पदार्थ दुर्व्यसनी रोक्न सचेतना फैलाउने उद्देश्यले राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले भलिबल आयोजना गरेको हो ।सहभागि ६ टिमलाई पछि पार्दै उपाधि जितेको डोटीले दुई लाख २५ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता बनेको टिम मालिकार्जुनले एक लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै तेस्रो भएको राना थारू आदर्श युवा क्लब धनगढीले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान प्राप्त गरेको थियो । शाह पोल्ट्री फर्मलाई हराउँदै राना थारू आदर्श युवा क्लबले तेस्रो स्थान हासिल गरेको हो ।

खेलका उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित सम्मान गरिएको छ । प्रतियोगितामा वेस्ट डिफेन्डर डोटीका राजेश रावल भए भने त्यस्तै वेस्ट ब्लकर डोटीकै जितबहादुर ढुङ्गाना हुँदा वेस्ट सर्भिसर पनि डोटीका विनीत राना भएका थिए ।

वेस्ट सेटर मालिकार्जुनका लोकेन्द्र गिरीले हात पार्दा, वेस्ट स्पाइकर मालिकार्जुनका बलदेव धामी भएका छन् । वेस्ट प्लेयरको उपाधि डोटीका सुरेश मल्लले प्राप्त गरेका थिए ।

उनीहरूलाई पनि नगद, ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरले जानकारी दिए ।

नेकपा एमाले महासचिव शङ्कर पोख्रेलले चैत्र २९ गते खेलको उद्‌घाटन गरेका थिए । खेलको समापन भने राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय इन्चार्ज राजीव पहाडीले गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस