काठमाडौं : सरकारले आन्दोलन बन्द गरेर विद्यालय फर्किन आग्रह गरेका बेला शिक्षक तथा कर्मचारीहरुले भने आन्दोलन थप चर्काउने तयारी गरेका छन् ।आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले ‘निर्णायक मोडमा’ आइपुगेको भन्दै थप शिक्षक तथा कर्मचारीहरुलाई काठमाडौं बोलाएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘अब हामी निर्णायक मोडमा आइपुगेका छौं । त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन ।’
मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेको थियो । साथै शिक्षकका माग समेत सम्बोधन गर्न भन्दै वैशाख १२ देखि संसदको बर्खे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो ।
तर सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासंघ विश्वस्त देखिएको छैन । अध्यक्ष सुवेदी भन्छन्, ‘हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ ।’
शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । त्यसका लागि उनले आन्दोलनमा सक्रियता सहभागीताका लागि काठमाडौंमा केन्द्रित हुन आह्वान गरेका छन् ।
अध्यक्ष सुवेदीले भने, ‘आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । त्यसैले देशभरका सबै साथीहरु तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।’
शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेको छ । विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस