बुधबार, २१ माघ २०८२

हेमराज थापाले गरे निर्वाचन आचारसंहिता उल्लङ्घन, आयोगले सोध्योस्पष्टीकरण

बाजुरा :  निर्वाचन आयोगले बाजुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापालाई स्पष्टीकरण सोधेको छ । आयोगले थापालाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

केही दिनअघि थापाले पिएस बानियाँ जेभीले ठेक्का लिएको बाजुराको मार्तडी–कोल्टी सडकखण्ड निर्माणको विषयलाई जोडेर बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी धम्कीपूर्ण भाषा प्रयोग गर्नाका साथै सामाजिक सञ्जालमा पोष्टसमेत गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

तपाईंले बाग्मती प्रदेशका मुख्यमन्त्री बानियाँका सम्बन्धमा अपमानजनक, धम्कीपूर्ण र अपशब्दयुक्त अभिव्यक्ति दिएको हो वा होइन ? उजुरीमा उल्लेख भए जस्तो आर्थिक स्रोत सङ्कलन गर्दा निर्वाचन आचारसंहिता, २०८२ बमोजिमको व्यवस्थाको पालना गर्नु भएको छ वा छैन ? भनी उम्मेदवार थापालाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम बाजुराका उम्मेदवार थापालाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए । 

निर्वाचन उम्मेदवार लक्षित भ्रामक–अमर्यादित सन्देश प्रकाशन तथा प्रसारण गर्ने विभिन्न व्यक्ति तथा सञ्चारमाध्यमका बारेमा आयोगले प्रेस काउन्सिल नेपाललाई कारबाहीका लागि लेखी पठाएको छ ।
 

प्रतिक्रिया दिनुहोस