बाजुरा : केही वर्ष पहिले वार्षिक परीक्षा सञ्चालन हुने बेलासम्म पुरै सेट किताब नपाउने बाजुरा जिल्लामा पछिल्लो केही वर्षयता शैक्षिक शत्र सुरु हुनु अगावै किताब विद्यालयमा पुग्ने गरेको छन् । स्थानीय तहको सुरुवात भएपछि सबै अधिकार स्थानीय तहमा गएपछि जिल्ला शिक्षा समन्वय इकाई समन्वयको भूमिकामा रहेको छ ।
तर उता स्थानीय तहको शैक्षिक गुणस्तर भने दिनप्रतिदिन खस्किन थालेको छ । गौमुल गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडक तीन “स” को नीति लिएर समग्र पालिकाको विकास गर्ने गरी गाउँ सभाबाट नै पास गरेर अघि बढेको थियो । तर पछिल्लो शैक्षिक गुणस्तरको अवस्था भने दिनप्रतिदिन खस्किदोँ थालेको छ ।
पालिकाका २३ वटै विद्यालयमा अपवाद बाहेक स्थायी र करार गरी दरबन्दी प्राप्त मात्रामा रहेको छ । तर शैक्षिक गुणस्तर भने ओरालो तिर हिडिरहेको छ । गरिब तथा दलित बाहेक जनप्रतिनिधि, कर्मचारी र धनीका छोराछोरी जिल्ला सदरमुकाम मार्तडी लगायत जिल्ला बाहिर पठनपाठन गरिरहेका छन् ।
विपन्न, गरिब र दलितका छोराछोरी पढ्ने भनेकै गाउँकै सामुदायिक विद्यालयमा हो तर पछिल्लो शैक्षिक गुणस्तरको नतिजा हेर्दा स्थानीय सरकारको बजेट बालुवामा पानी झैं भएको पुष्टि भएको छ ।
स्थानीय सरकारले जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी अनिवार्य पालिकाकै सामुदायिक विद्यालयमा पढाउने गरी नीति लिएको भएपनि यसमा ठूलालाई चयन र सानालाई ऐन भने जस्तै कार्यान्वयन नभएर हैकम चलेको स्थानीको आरोप रहेको छ ।
त्यस्तै दरबन्दी मिलान ‘कार्यविधि २०७६’ लाई टेकेर दरबन्दी मिलान गरी शिक्षकलाई एक अर्को विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्ने गरी योग्यताका आधारमा यताउता गर्ने भनिएको थियो ।
उक्त ‘कार्यविधि २०७६’ अनुसार केही शिक्षक अन्तर विद्यालयमा समेत गएर हाल पठनपाठन गराईरहेका छन्, भने केही शिक्षक राजनीतिक आँड र दम्भका कारण जना नमानेपछि बीचमै रोकिन पुगेको हो ।
दरबन्दी मिलानमा पनि केही जनप्रतिनिधि र कर्मचारीका आसेपासेले नै अन्तर विद्यालय जान नमानेपछि पालिका पछाडी सरेको नाम नबताउने शर्तमा एक जनाले शिक्षकले बताएका छन् ।
वर्षेनी गौमुल सरकारले व्यापक बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्ने गरेको छ । तर स्वयंम स्थानीय तहले लिने कक्षा(८ को परीक्षाको यसवर्षको परीक्षाफल हेर्दा फेल नगर्ने बहानामा सरासर विद्यार्थी उतीर्ण गरेको पाईएको छ ।
१(२ वटा विद्यालयको कक्षा-८ को परीक्षाफल सन्तोषजनक रहेको भएपनि जनप्रतिनिधि र राजनीतिक हैकम गर्ने व्यक्तिकै गृह वडाका विद्यालयको शैक्षिक गुणस्तर लाजमर्दो तथा परीक्षाफल लाज ढाक्ने गरी सार्वजनिक गरिएको तथ्य बाहिरएको छ ।
कक्षा ८ को कुन विद्यालयमा कति ?
गौमुल गाउँपालिकाले लिएको कक्षा–८ को गाउँपालिका स्तरीय ०८१ को वार्षिक नतिजा अनुसार मानाकोट मावि जम्मा ३२ जना परीक्षार्थी मध्ये ३१ उत्तीर्ण र १ जना अनुत्तीर्ण जसको उत्तीर्ण ९६।८७५ प्रतिशत रहेको छ ।
त्यस्तै कीर्तिचौर माविमा ३८ जना मध्ये २९ जना उत्तीर्ण ९ जना अनुत्तीर्ण जसको उत्तीर्ण ७६।३१५८ प्रतिशत रहेको छ । यो विद्यालयमा लगानी अनुसार सन्तोषजनक छैन् । घटाल आधारभूत विद्यालय २७ जना मध्ये २६ जना उत्तीर्ण १ जना अनुत्तीर्ण जसको उत्तीर्ण ९६।२९६३ प्रतिशत रहेको छ ।
बालविकास माविमा ४१ जना मध्ये ३७ जना उत्तीर्ण ४ जना अनुत्तीर्ण जसको उत्तीर्ण ९०।२४३९ प्रतिशत सन्तोषजनक रहेको छ । यता जनज्योति माविमा १७ जना मध्ये १७ जना नै उत्तीर्ण जसको उत्तीर्ण १०० प्रतिशत देखिन्छ । उक्त विद्यालयमा सुधार भएको श्रोतको दाबी छ ।
पदमपुर आविमा ८ जना मध्ये ८ जना नै उत्तीर्ण १०० प्रतिशत नै उत्तीर्ण भएको तथ्याङ्क रहेको छ । फुलपाटा माविमा १८ जना मध्ये १७ जना उत्तीर्ण जसको उत्तीर्ण ९४।४४४४ प्रतिशत छ सुधारोन्मुख लिन सकिने भएको छ । उता अम्लिस माध्यामिक विद्यालयका २७ जना परीक्षार्थी मध्ये २६ जना उत्तीर्ण १ जना अनुत्तीर्ण जसको ९६।२९६३ प्रतिशत रहेको छ ।
माथिको सबै तथ्याङ्क आकलन गर्दा कीर्तिचौर मावि र बालविकास माविले भने परीक्षामा नतिजा राम्रो नल्याएका विद्यार्थीहरुलाई अनुत्तीर्ण नै गरेको बताईएको छ । यी दुईवटा विद्यालयले आगामी दिनमा विद्यार्थीलाई थप सुधार गरेर मात्र माथिल्लो कक्षा पठाउने भएका छन् ।
पालिका स्तरीय कक्षा–८ को वार्षिक परीक्षामा २०८ जना जम्मा विद्यार्थी सहभागी भएका मध्ये १९१ जना उत्तीर्ण भएका छन्, भने १७ जना अनुत्तीर्ण भएका छन् । पालिकाभरमा जम्मा ९१।८२६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तथ्याङ्क गौमुल गाउँपालिका शिक्षा शाखाले सार्वजनिक गरेको छ ।
गौमुलका विद्यालय : पूर्वाधार सुध्रियो, शैक्षिक गुणस्तर ‘उस्तै’
गौमुल गाउँपालिकाका २३ वटा विद्यालयका पूर्वाधार निर्माण पूरा गरेको छ । सबै विद्यालय चिटिक्क परेका भवन बनेका छन् । कक्षाकोठामा टुटेफुटेका डेस्क र बेन्चको सट्टा नयाँ फर्निचर राखिएका छन् । साना बालबालिकाका लागि कोठामा कार्पेट बिच्छाइएको छ । पहिलेजस्तो शौच गर्न विद्यार्थीले जंगल जानु पर्दैन ।
प्रायः सवै विद्यालयमा छात्रछात्राका लागि अलग्गै शौचालय बनाईएको छ । दिवा खाजा जस्ता कार्यक्रम लागू भएका छन् । शिक्षकको अभाव, भौतिक पूर्वाधारको कमी, शैक्षिक सामग्रीको अपर्याप्तता लगायत समस्याबाट जुझिरहेका विद्यालयमा पछिल्लो समय स्थानीय सरकारले विकास बजेटको ठूलो हिस्सा खर्च गरेको छ ।
शिक्षकको तलव सुविधा समय अनुकूल नभएपनि विगतको तुलनामा बढेको छ । प्रविधि र सञ्चारको विकासले अध्ययन अध्यापनमा सहज अवस्था छ । तर शैक्षिक गुणस्तरमा भने अन्य विषयमा सुविधा र सुधार भएअनुसार प्रगति हुन नसकेको गुनासो उस्तै छ । हाल भइरहेका सुधारका प्रयासले दीर्घकालीन रुपमा परिणाम देखाउने विश्वासमा रहेका विज्ञहरू पनि धेरै राम्रो परिणाम आउला भन्नेमा विश्वस्त देखिँदैनन् ।
सामुदायिक विद्यालयको अवस्था नाजुक छ । कतिपय सामुदायिक विद्यालयका शिक्षक राजनीतिमा लागेका छन्, जसले विद्यालयको पठनपाठनलाई नकारात्मक असर पुर्याएको छ । राजनीतिक प्रभाव र सोर्सफोर्सका आधारमा नियुक्त भएका शिक्षकको कार्यक्षमता कमजोर रहेको विभिन्न शोध तथा अनुसन्धानले खुलाएका छन् । साभार गौमुल खबर
प्रतिक्रिया दिनुहोस