शुक्रबार, ३० फागुन २०८१

पढ्दै सिक्दै उद्यमशिलता तालिम मार्तडीमा सकियो

बाजुरा : बडीमालिका नगरपालिकाको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत कक्षा–११ र १२ का विद्यार्थीहरुलाई रैथाने राडीपाखी बुनाई सीप सम्बन्धी तालिम प्रदान गरेको छ । आईल्याब नेपाल र काठमाण्डौं विश्वविद्यालयको प्राविधिक सहयोग, नेपाल भोटेजनजाति सेवा संघ र मालिका नमुना माध्यामिक विद्यालयको समन्वय र बडीमालिका नगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालयसंगको साझेदारीमा तालिम प्रदान गरिएको हो ।

स्वदेशी उत्पादन अभियान  ः उद्यमशीको सम्मान भन्ने नाराका साथ उद्यमशीलता विकास सम्बन्धी तालिम गत माघ २३ गतेबाट सञ्चालन भएर सोमबार सकिएको हो । स्थानीय पाठ्यक्रम अनुसार रैथाने राडीपाखीको संरक्षण गर्नका लागि जिल्लाका केही स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुने गरी सुरुवात गरिएको हो । 

पहिलो चरणमा बडीमालिका नगरपालिकाले मालिका माध्यामिक विद्यालयका प्राविधिक धार कक्षा–११ र १२ का विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको छ । यसका लागि बडीमालिका नगरपालिकाले काठमाडौं विश्वविद्यालयको सहयोगमा पाठ्यक्रम समेत निर्माण गरेको छ ।
उच्च हिमाली क्षेत्रमा वर्षौदेखि भेडा पालन व्यवसायबाट उनको कपडा बनाउने गरेका तर आधुनिक र व्यवसायीक नभएको कारण विद्यालयमा पाठ्यक्रम नै निर्माण गरी पढाई सञ्चालन गर्दा कार्यक्रमले टेवा पुगेको छ ।

बडीमालिका नगरपालिकाको पढ्दै सिक्दै कार्यक्रम अन्तरगत परम्पारगत सीपलाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालनगरेको प्रमुख अमरबहादुर खड्काले बताएका छन् । 

केही वर्ष पहिले अल्लोको रेशा निकाल्ने, सुकाउने, पकाउने, कुट्ने, धुने लामो प्रक्रियाबाट सामान तयार गरिन्छ । धेरै श्रम लगाएर तयारी गरिएका ती सामान विक्री गर्न बजार नजिकमा नहुँदा पनि समस्या हुने गरेको थियो ।

तालिममा व्यवहारिक ज्ञान सिक्न पाउँदा आफुहरुलाई खुसी लागेको मालिमा माध्यामिक विद्यालयमा अध्यनरत तालिमका सहभागी विद्यार्थी आस्था विष्टले बताएकी छन् । गौमुल गाउँपालिका र कालिकोटको सान्नी त्रिवेणी नगरपालिका र काठमाडौं उप–महानगरपालिकालाई समेत जोडेर सिकाई र सीप आदानप्रदान गर्न सहकार्य गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख अमरबहादुर खड्का, बडीमालिका नगरपालिका–८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मान बहादुर चाड, नेपाल भोटे जनजाति सेवा संघका उपाध्यक्ष बलवीरसिंह गुरुङ्ग लगायत कार्यक्रममा सहभागी बनेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष रमित विक, घरेलु तथा साना उद्योग कार्यालयका पदमबहादुर ऐर, बडीमालिका नगरपालिका राजश्व शाखा प्रमुख भानुभक्त जैशी लगायतको सहभागीता रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस