धनगढ़ी : बझाङको बुंगलमा बुंगल प्रिमियर लिग (वीपीएल) आयोजना हुने भएको छ । सुदूरका पहाडमा क्रिकेट क्रेज बढाउन र खेल पर्यटनको विकास गर्न बुंगल प्रिमियर लिग (वीपीएल) आयोजना गर्न लागिएको हो । बुंगल क्रिकेट ट्रेनिङ सेन्टरद्वारा खेल आयोजना गर्न लागिएको संयोजक मिलन कुँवरले जानकारी दिएका छन् ।
खेल आगामी वर्ष २०८२ को असोजमा आयोजना गर्न लागिएको हो । सुदूरपश्चिमका आयोजना गरिएको धनगढी प्रिमियर लिग र अर्जुन टर्फि पछिको बढी धनराशी राखेर वीपीएल आयोजना गर्न लागिएको आयोजकको दाबी छ । संयोजक कुँवरका अनुसार क्रिकेट प्रतिको आकर्षण बढाउन, दुर्गममा खेलाडी उत्पादन गर्न र खेलकै माध्यमबाट पर्यटन विकास गर्न विपिएल आयोजना गर्न लागिएको बताइएको छ ।
एनपीएल पहिला नै अवधारण अघि सारिएको हो । खेल मैदान र आर्थिक व्यवस्थापनको तयारी अपुगकै कारण अर्कोवर्षबाट मात्रै सुरु गर्न लागिएको आयोजकले बताएको छ । खेल बुंगल नगरपालिकाको १ र ६ नम्बर वडामा हुने छ । पालिका भित्रै २ वटा भब्य खेल मैदान छन् । यस अघि पनि ती मैदानमा मेयर कप सहीतका प्रतियोगिता आयोजना गरिसकिएको छ ।
५ लाखसम्मको पुरस्कार राशी घोषणा गर्ने गरि वीपीएलको तयारी थालेको आयोजकले खेलाडी र क्लबहरु अक्सनबाट छनोट गर्ने भएको छ । लिगको पहिलो संस्करणका लागि टिमहरूको नाम सार्वजनिक गरिएको हो । घोषित टिमहरूमा पिपल्कोट टाइगर, खिरातडी रोयल्स, देउलिकोट हिरोज, कफल्सेरी लायन्स र दहबगर किङ्स रहेका छन् ।
योसँगै इच्छुक व्यक्ति, समूह र कम्पनीहरूले अब टिम खरिदका लागि आवेदन दिन सक्नेछन् । बुंगल प्रिमियर लिगका संयोजक मिलन कुँवरका अनुसार, टिम खरिदका लागि आवेदन दिने म्याद २० दिन राखिएको छ भने खरिद मूल्य न्यूनतम ४० हजार तोकिएको छ ।
टिम खदिका लागि बुंगल नगरपालिका भित्रकै व्यक्ति वा समूहलाई प्राथमिकता दिइने संयोजक कुँवरले बताए । योसँगै लिगमा सहभागी प्रत्येक टिममा २ जना राष्ट्रिय खेलाडी र एनपीएल खेलेका सातै प्रदेशका २ जना खेलाडीलाई समावेश गरिने छ । खेलाडी पनि अक्सन मार्फत छनोट गरिने छ । खेलाडीको अक्सन मूल्य भने सार्वजनिक पछि गर्ने आयोजकले बताएको छ ।
पछिल्लो समय सुदूरका पहाडमा पनि क्रिकेट क्रेज ह्वात्तै बढेको छ । नेपालको राष्ट्रिय टिममा सुदूरपश्चिमको जबरजस्त रुपमा बलियो उपस्थिति छ । भने पहाडी जिल्लामा पनि दशैं तिहार नववर्ष बिशेष क्रिकेट आयोजना हुने गरेका छन् ।
वीपीएलमा विनोद भण्डारी, कुशल भुर्तेल, अभिनास बोहरा, लोकेश बम, किरण कुमार ठगुन्ना, सुनिल दौल्याल, नरेन्द्र साउद, शेर मल्ल, दिपक बोहरा, रूपेश सिंह लगायतका राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहने अपेक्षा आयोजकको छ ।
स्थानीय खेलाडीलाई प्रवद्र्धन गर्नु र क्रिकेटको विकासमा योगदान पु¥याउनु रहेको आयोजक समितिको भनाइ छ । दुर्गम गाउँमा बनेका खेल मैदानमा राष्ट्रिय खेलाडी आएर खेल्दा क्रेज बढ्ने र युवा विद्यार्थीको क्रिकेटप्रति आकर्षण बढ्ने विश्वास गरिएको छ ।
खेलाडी उत्पादनमा वीपीएल आयोजकका अनुसार, अहिले खेलमैदानहरूको निर्माण कार्य सुरु भइसकेको छ । दहबगर खेलमैदानको भौतिक संरचनासहित असारसम्म काम पूरा गर्ने लक्ष्य राखिएको छ । साथै खेलमैदान व्यवस्थापनका लागि आवश्यक टेन्डर पनि जारी गरिएको छ ।
पहिलो संस्करणलाई पालिकासँगकै सहकार्यमा गर्ने वा क्लबकै नेतृत्वमा गर्ने छलफल जारी रहेको छ । दशैं तिहार र नववर्ष बिशेष आयोजना र मेयरकपहरु बाहेक बझाङमा पहिलो पटक प्रिमियर लिग हुन लागेको हो । बुंगलका स्थानीयले आयोजकलाई बडो महत्वका साथ लिएका छन् । आयोजकले पनि अवसर र चुनौतिका रुपमा लिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस