बुधबार, २३ माघ २०८१

मेरा गाउँको खड्क्या मन्त्री !

नगेन्द्रप्रसाद आचार्य

रास्कोट, १ कालीकोट “मेरा गाउँको खड्क्या मन्त्री” उपन्यासका लेखक स्वर्गीय गगनसिंह थापा प्रति भावपूर्ण श्राद्धसुमन अर्पण गर्दछु । आदरणीय व्यक्तित्व, साहित्यकार, कर्मठ शिक्षक, निस्वार्थ समाजसेवी तथा निडर नेताका रुपमा स्वयम उपन्यासकार उपन्यासमा उपस्थित भएको पाए । अर्कोतर्फ अछामी, खस, थारु, हिन्दी, अंग्रेजी, नेवारी, संस्कृत, डोटेली, भाषाविदका रुपमा पनि उहाँलाई कृतिभित्र नै भेटाए । त्यसैले यो उपन्यास आञ्चलिकताको विशिष्ट स्वरुप मान्न सकिन्छ ।

उपन्यासको उठान सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको पूर्वी भागमा पर्ने कटासे बजारलाई केन्द्रविन्दु मानी यसैको सेरोफेरोमा आधारित रही जमिदारी प्रथाले पारेको प्रभाव र पञ्चायती शासनको घोर विरोधबाट सुरुवात गरेको पाए । आर्थिक अवस्थाले छाक टार्न नसक्ने खड्कबहादुर नेपाली रोजीरोटीको बन्दोबस्त गरिदिन आग्रह गर्दा टीकापुरमा पुगेको उसको दलबललाई गाँसबासभन्दा उल्टै अशिक्षित तथा शारीरिक असक्ततता भएको व्यक्तिलाई हेपुवा शब्दबाट “खड्क्या मन्त्री” को उपाधि पाएको पाइन्छ ।

“खड्क्या मन्त्री” हजारौ घरबार विहिन वर्गको प्रतिनिधि पात्र हो । “खड्क्या मन्त्री” ले पाएको दुःख मास्टरले गरेको सहयोग सामाजिक मानवताको नमुना योग्य कार्य हो । आज पनि हजारौ धौरीहरु रहेकी छन् । जिमिदार बाजेको एक्लो छोरो काठमाडौको महंगो कलेजमा पढ्ने प्रेमप्रसाद शर्मा डेरामा समेत कमैया, कमलरी राखी खाना पकाउने, लुगा धुने मान्छे राख्नुले उच्च वर्गीय खानदानको हैकमवादी प्रवृतिको झल्को दिएको छ । राजदरबारमा काम गर्ने उच्चपदस्तकी छोरी सुप्रभासित प्रेम सम्बन्धमा राख्नु, पश्चिम कैलालीकी सामान्य परिवारमा जन्मेकी प्रेरणाको सम्बन्ध दरबार निकटको केटासँग भएको देखाउनुमा लेखकले वर्गभन्दा भावनात्मक सम्बन्ध बलियो हुने पक्षलाई दर्शाएको पाइन्छ ।

दरबारबाट नारीप्रति गरिने अभद्र व्यवहारले उच्च वर्गदेखि सर्वसाधारण नारीको कुमारित्वको रक्षा गर्न नसकेको र राज्यले चाहेर पनि मिरेन्द्रलाई नियन्त्रण गर्न नसक्ने अवस्थाको छरप्रष्ट गरिएको छ । त्यसैले सुप्रभाको रक्षा गर्न छोरीलाई प्रेमको साथ कैलाली पाठाएको घटनाले यो उपन्यास झन सान्दार्भिक रहेको छ । जिमिदार बाजेको घरमा सुप्रभाको प्रवेशले सुखद ल्याएको केही दिनमा सासु र बुहारीको खटपट सुरु भएको हुन्छ ।

अर्को तर्फ “खड्क्या मन्त्री” को छोरा राम ठुलो भएर भारतमा रोजगारी गरी धनपैसा कमाएको र सेठकी छोरीसँग विवाह गरी घरजम गरेकाले “खड्क्या मन्त्री” का दिन लौटेको छ । सीता गाउँकी मास्टर्नी भएकी छ भने राम भारतमा गई चौकिदारी गरेर घर खेत जग्गा जमिन जोडेको “खड्क्या मन्त्री” को परिवार हो । यता जिमिदारले छोरो प्रेमलाई टाउकोमा हिर्काएको र मष्तिष्कमा असर परेको हुँदा मानसिक असन्तुलन भएको छ । सत्ताको आडमा रहेका उच्चवर्गलाई पुरातनवादी मानसिकताबाट ग्रसित बनेका छन् ।

“खड्क्या मन्त्री” मन्त्री समाजमा सहयोग गर्ने भएकाले प्रेमको खोजी कार्यका “खड्क्या मन्त्री” को छोरा राम र उसकी बुहारी सीताले भारतको लखनउ लगायतको ठाउँमा पुगी खोजी कार्य गर्नु निम्न वर्गीमब मानवतावाद भेटिन्छ । छोरोको पीरमा परी जिमिदार बाजेको मृत्यु हुनुले पञ्चायती सत्ताको अन्त्य भएको संकेत गरेको पाइन्छ । आस्तिक स्वभावकी सुप्रभाले पति प्रमेको वियोगले तड्पिएकी छिन् । सिद्धबाबाले प्रेम जीवित रहेको छ भनेकाले भेट हुनेमा विश्वासमा रहेको पाइन्छ ।

उता सुप्रभाको माइतीबाट काठमाडौ लैजान आएका दाजु भाउजुहरुलाई पारिवारिक कुरा लुकाउँदै काल्पनिक घटना बनाई प्रेमको मानसिकता गुमाएको प्रसङ्गले पारिवारिक गोपनियताको रक्षा सुप्रभाले गरेकोले पारिवारिक तिक्तता हुन नदिएको पाइन्छ । वृद्ध सासुलाई समेत पशुपतिनाथको दर्शन गराउने र काठमाडौ सँगै बस्ने योजना बनाउने बुहारीको मायाले छोराबुहारीको प्रेममा आफूले भाडो हालेको पश्चाताप गरेको पाइन्छ । पशुपतिनाथको दर्शन गर्न गएका बेला प्रेमलाई बाबाहरुको हुलबाट सुप्रभाले प्रेमलाई पहिचान गर्नु र पुनः मिलन भएको प्रसङ्गबाट उपन्यासको कथावस्तुको अन्त्य भएको छ ।

सारमा भन्दा “मेरो गाउँको खड्क्या मन्त्री” उपन्यासमा खड्कबहादुर नेपाली “खड्क्या मन्त्री” को दुखान्त पारिवारिक अवस्था तथा प्रेमिल जोडीको तनावरहित जीवन निर्वाहको नमुना हो । खानको लागि समस्या भएपनि जिन्दगीभरि एक पटक नछुट्न्या भएर “दिदीगोसी ! तमीलाई थाहा छ, हामी जोगी जोगिनी भ’र साथमा गाउँगाउँ हट्टा छौं” (पृ. ६०) । यसैले यो वाउन्नेवीरसँग विवाह गरेकाी हौं । पठनीयका हिसाबले सरस, रसिलो र सरल भाषाशैलीको प्रयोग गरिएको छ ।

सामाजिक विकृतिको खरो विरोध गरिएको पाइन्छ । जातीय समानता, वर्गीय विभेदको अन्त्य गर्न यस कृतिको महत्त्वपूर्ण स्थान रहने देखिन्छ । भाषिक समानताको उच्च रुप रहेको छ । खस र अछामी भाषाको प्रयोग भएकाले कतै नेपाली भाषी तथा अन्य भाषाी पाठकका लागि कठिन लाग्न सक्छ । उपन्यासमा रतिरागात्मक प्रसङ्गको उठान भएकाले यौन कुण्ठालाई खुलेरै अभिव्यक्त गरिएको छ । घरमा कोही नभएको मौका छोपी बास बस्नु, नगरकोटमा घुम्न गई होटेका कोठामा लुटुपुटु भएर सुत्नुले रागात्मक बनाएको छ । पढ्न थालेपछि पढौं पढौं लाग्ने भएकाले रोचक उपकथाहरुको प्रयोग गरिएको छ ।

त्यसैले यो उपन्यासमा कर्णाली र सुदूर पश्चिमको भौगोलिक, धार्मिक, साँस्कृति, आर्थिक, राजनीतिक, पारिवारिक र सामाजिक चालचलनको झल्को भेटिन्छ । अन्तमा “खड्क्या मन्त्री” को पारिवार, जिमिदार बाजेको पारिवार र सुशान्तको परिवारको सुखद मिलन भएकाले कथावस्तुका हिसाबले गतिशील मान्न सकिन्छ । अन्तमा यो उपन्यास प्रकाशन गर्ने स्व. गगनसिंह थापााका छोरा हिक्मत थापा र गगन फाउन्डेसनलाई आभार प्रकट गर्दछु ।

कृति : मेरा गाउँको खडक्या मन्त्री

लेखक : गगनसिंह थापा

बिधा : उपन्यास

आवरण कला : रमेश पौडेल

प्रकाशक : गगन फाउन्डेसन

मूल्य : रु . ३००

प्रतिक्रिया दिनुहोस