आइतबार, २१ पुष २०८१

एमालेको कारवाहीपछि रावलले पार्टी खोल्ने संकेत गरेपछि अलमलमा अछाम

कैलाली : भीम रावल अहिले कुनै दलसँग आवद्ध छैनन् । नेकपा एमालेले पुस १० गते साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि रावल दलविहिन बनेका हुन् । एमालेसँग अब रावलको पूर्ववत् सम्बन्ध बाहेक वैधानिक रुपमा कुनै साइनो छैन् । चाहेर पनि रावल अब एमाले बन्ने र भन्ने अवस्थामा छैनन् ।

नवौँ महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर रावल उपाध्यक्षमा विजय भएका थिए । एमालेमा भीम रावलको छुट्टै ब्रान्ड थियो । सुदूरपश्चिममा झनै एकल निर्णय चल्थ्यो । जति लोकप्रीय थिए, त्यत्ती नै कठोर पनि । उनको बोली सुदूरपश्चिमका लागि निर्णय जस्तै हुन्थ्यो । तीनै रावल अहिले एमालेमा सदस्य समेत रहेनन् । 

निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेको र अनुशासन लगातार उल्लघन गरेको आरोप सहीत सङ्गठित सदस्य समेत नरहने गरि नेकपा एमालेले निष्काशन गरिसकेको छ । रावलको निष्काशन पछि सामाजिक सञ्जाल र गृह जिल्ला अछाम बढी तातेको देखिन्छ । रावल निकटहरुले सदस्य नै नरहने गरि कारवाही गर्नु उचित नहुने र सहेर बस्न नसकिने प्रतिक्रिया दिइरहेका छन् । 

उसोत रावल आफैले पुस १७ गते (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन मार्फत भावी योजना प्रस्तुत गर्ने घोषणा गरिसकेका छन् । रावलले गरेको पत्रकार सम्मेलन र नयाँ पार्टी खोल्ने संकेतपछि निकट भनिएकाहरु अलमल र अन्योलमा देखिएका छन् । त्यसको पहिलो असर रावलकै गृह जिल्ला अछाम र अछामका एमाले कार्यकर्तामा बढी परेको देखिन्छ । 

रावललाई भूमिका विहिन बनाएको आक्रोश थियो नै, त्यसैमा साधारण सदस्य समेत नरहनेगरि कारवाही गरेपछि रावल निकट मानिएका नेता कार्यकता विद्रोहकै पक्षमा उत्रिएका छन् । सामाजिक सञ्जालले उक्साए जस्तो रावलको मावल गृह जिल्ला अछाममा देखिदैन् । थोरै भएपनि प्रभाव पर्ने र कार्यकर्ताका लागि अलमलको अवस्था आएकोमा भने अधिकांश नेता कार्यकर्ता सहमत छ । 

भीम रावलको भावी रणनीति बारे अहिले नै टिकाटिप्पोणी गरिहाल्ने बेला भएको छैन्, तरपनि उहाँपछि नै ठूलो मास र समर्थन होला भन्नेमा लाग्दैन्, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष समेत रहेका एमाले नेता डम्मर विसीले बताए । पार्टी निर्णय हामीले मान्ने हो, प्रभाव नै नपर्ने भन्ने होइन्, तर बाहिर ब्याख्या गरिए जस्तो अवस्था नरहेको दाबी बिसीको छ ।

भीम रावल निर्वाचन क्षेत्र २ का बासीन्दा हुन् । १ भन्दा बढी प्रभाव साँफेबगर नगरपालिका, चौरपार्टी गाउँपालिका, बान्नीगढी, मेल्लेख र रामारोशनमा पर्ने देखिन्छ । आंशिक प्रभाव सिंगो सुदूरपश्चिममा पनि पर्ने अवस्था छ । तरपनि पार्टी छोडेर, सदस्यता त्यागेर जाने कुरा हुन्न, नेकपा एमाले अछामका एक नेताले बताए । 

एमाले अछामका सचिवालय सदस्य प्रकाश शाहले भने सिंगो अछाम र सुदूरपश्चिम अलमलमा रहेको जिकिर गरे । रावल सरको पछि जाने, नजाने समर्थन गर्ने नगर्ने कुरा पछिको हो, पार्टी संगठन बनाएकै व्यक्तिलाई पूर्वाग्रही ढंगले हटाएपछि ठूलो संख्यामा नेताकार्यकर्ता विद्रोहको पक्षमा रहने प्रतिक्रिया दिएका छन् । जस्ले पार्टी बनायो, काँग्रेस र राजावादीसँग लडेर संगठन निर्माण गर्यो उसैलाई हटाउने कुरा गम्भीर र आशंकायुक्त रहेको शाहले थपे । 

अछाममा आधाआधी एमाले नेता कार्यकर्तामा अन्योलता छाएको र अलमलको अवस्था देखिएको दाबी शाहको छ । यसैमा एमाले अछामका सचिव भीमबहादुर रावल कालोटोपीले कारवाही गर्ने कुरा अन्यायपूर्ण रहेको बताए । सदस्य समेत भइरहने कुरामा पार्टीलाई केही समस्या हुने थिएन्, हटाउनुको औचित्य पुष्टी गर्न र कार्यकर्तालाई बुझाउन समय लाग्ने रावलको दाबी छ । 

रावल र शाह दुबै भीम रावल निकट मानिन्छन् । उहाँहरुले दुबै जनाले पार्टीको एक टिम नै रावललाई हटाउने प्रस्ताव सहीत डेलिगेशनमा जाने गरेको थियो, अब सफल भयो, तर पार्टीलाई भविष्यलाई क्षति पुगेकोमा एकमत छन् । पार्टी जिल्ला कमिटीको अधिवेशन समेत हुन सकेको छैन् । रावललाई कारवाही नगरि अधिवेशन नगर्ने योजनाकै कारण २०८० चैत्र भित्र गरिसक्नु पर्ने अधिवेशन नभएको दाबी रावलको छ । 

पत्रकार सम्मेलन मार्फत एमाले सचिवालय बैठकको निर्णय, पार्टी निर्माणमा पुर्याएको योगदान र जबरजस्त हटाएको विषय सहीत नयाँ राजनीतिक दिशा बारे पनि उद्घोष गर्ने अनुमान गरिएको छ । गोप्य श्रोतका अनुसार पार्टी नै घोषणा गर्नेसम्मको सूचना छ । गैरकम्यूनिष्ट चरित्रका व्यक्तिहरुलाई साथमा लिएर अघि बढ्ने सोचमा रावल देखिएका छन् ।

पार्टी सरकारमा सहभागी हुँदा प्राय नछुट्ने रावल । २०५१ पछि ४ पटक मन्त्री भएका छन् । २०४६ सालमा नेता झलनाथ खनालको स्वकीय हुँदै ०५२ सालमा पर्यटन राज्यमन्त्री, २०५५ मा पर्यटनमन्त्री बनेका रावललाई २०६२ मा पार्टीले शिक्षामन्त्रीमा सिफारिस गरेको थियो । तर चाहेको मन्त्रालय नपाएपछि सरकारमै सहभागी भएनन् । २०६४ सालमा समानुपातिक सभासद्, २०६६ मा गृहमन्त्री र २०७२ मा उपप्रधानसहित रक्षामन्त्री बनेका थिए ।  

उपप्रधान सहीत रक्षा, गृह सहीतका मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । उनलाई सुदूरपश्चिम बासीले एमालेको अध्यक्ष र भावी प्रधानमन्त्रीको रुपमा हेर्ने गरेका थिए । त्यो अनुमान र आशा एमालेको कारवाहीसँगै केहीसमयका लागि सकिएको छ । 

रावलको कारवाही बारे पनि पक्ष विपक्ष देखिएका छन् । बोल्न र लेख्न नसकेपनि धेरैजसोले रावललाई कारवाही गरिदा खुसी मनाएका छन् । केहीले विद्रोह नै उचित हुने निष्कर्ष सुनाउने गरेका छन् । पार्टीमा बस्न नदिने अवस्था आइसकेपछि विभाजन र अन्योलता निश्चित भएको एमाले नेता प्रकाश शाह थप्छन् । एमालेले सुरु गरेको मिसन २०८४ लाई प्रत्यक्ष असर पुग्ने देखिन्छ । जितका लागि नभएपनि हार्नका लागि भीमरावलको भूमिका सिंगो सुदूरपश्चिममा काफि हुने विश्लेषण समेत हुन थालिएको छ ।

नेकपाकाल सम्म रावल प्रभावशाली थिए । प्रचण्ड–माधवका बलिया सारथी थिए । माधव नेपाललाई पार्टी विभाजनसम्म उकास्ने देखि नयाँ पार्टीको विधान बनाउनेसम्म भूमिका रहेको आरोप चिर्न रावलले अहिलेसम्म सकिरहेका छैनन् । आफ्नो भूमिका नरहेको दाबी भने गर्दै आएका छन् । 

एमालेमा सर्वाधिक मत ल्याएर शक्तिशाली उपाध्यक्ष हुँदापनि नेकपा निर्माणको बेला ९ सदस्यीय सचिवालयमा रावल परेनन् । विष्णु पौडेलले स्थान पाए । त्यहिबेला देखि नै रावल रिसाएर र ‘ओली विरोधीको ट्याग पाए । नेकपाकालमा प्रचण्ड र माधवको बोली बोल्न थालेपछि ओलीले रावललाई टाढा राखिरहे । पार्टीमा भूमिका नपाए पनि रावलको मन्त्री बन्ने चाहना समेत ओलीले नकारिदिए । 
त्यसपछि ओलीसँग टाढिँदै र माधव नेपालसँग नजिकिँदै गए रावल । माओवादीसँग मिलेर बनेको तत्कालीन नेकपा अध्यक्षबाट ओलीलाई हटाउनुपर्ने पक्षमा उभिए । जुन योजनामा अन्तिममा आएर आफै फसे । रावलले त्यसबेला ओलीलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा समेत रावलले हस्ताक्षर गरे । 

२०७८ मा माधव नेपालले एमालेमा विद्रोह गर्दा भने उनीसहितका नेताहरू रोकिए । तर ओलीको विश्वास जित्न सकेनन् । ओलीसँग दश बुँदे सहमति गरेर एमालेमै बसेका थिए । रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री ओलीलाई कुन पार्टीको हो भन्ने समेत प्रश्न उठाएका थिए । 

सुदूरपश्चिम प्रदेश सभामा तत्कालीन सभामुखसहित एमालेका २५ सांसदमध्ये ओली समूहमा ७ जना मात्रै थिए । संसदीय दलका नेता प्रकाश शाहसहित १८ सांसद रावल पक्षमा थिए । तर विडम्वना रावल अहिले रन्थनीएको अवस्थामा पुगे । अन्तिममा गैर कम्यूनिष्ट पार्टी खोल्ने मनस्थितिमा पुगेको देखिन्छ । 

यो प्रकारको विचलन र हतारको मानसिकतालाई भने कमैले स्वीकार्ने दाबी एमाले नेताहरुकै छ । अछाममा अन्योल होला, अलमल पनि होला, त्यो केही समयका लागि धेरैले भीम रावल हटाइएकोमा मुक्तिको महशुस गरिएको दाबी नाम नबताउने सर्तमा एमाले अछामकै नेताको दाबी छ । 

भीम रावललाई नजिकबाट चिन्नेहरू उनले शक्तिमा हुँदा अरुलाई पेलेको र शक्तिहीन हुँदा आफैं पेलिएको विश्लेषण गर्न थालिएको छ । रावलकै कारण पुराना एमाले नेता पूर्व मन्त्री मोहन सिंह राठौरले एमाले त्यागेका थिए । यत्तिसम्म गरे राठौर मन्त्री हुँदा स्वकीय बसेका झपड रावललाई टिकट दिए, तर राठौरलाई किनारा लगाए । 

रावल एमाले बाहिर रहँदा गर्नु पर्ने जति क्षति २०७९ को चुनावमा गरिसकेको दाबी गर्नेहरु पनि छन् । स्थानीय र संघ प्रदेशको निर्वाचनमा हराएको आरोप रावल माथि छ । आफ्नै वडा र पालिकामा एमालेले हारेको छ । संघ र प्रदेशमा पनि राम्रो नजिता आएको छैन् । अछामका एमालेले रावललाई लगातार ३ दशक समर्थन गर्दा पनि पुगेन, अरुलाई एक पटक सहयोग गर्नु पर्ने अवस्था आउँदा रावल सकिएको जस्तो गर्न थाले यही चरित्र नै समाप्तीको दिशा भएको विश्लेषण पनि हुन थालेको छ । 

प्रतिक्रिया दिनुहोस