सोमबार, २४ बैशाख २०८१

बझाङमा एमाले र कांग्रेसबीच जितको प्रतिस्पर्धा, माओवादी र समाजवादीलाई तेस्रो हुने होडबाजी

बझाङ : बझाङ प्रदेश निर्वाचन क्षेत्र १ मा हुने उपनिर्वाचनको मौन अवधी सुरु हुन २ दिनमात्रै बाँकी रहँदा हारजितको अड्कलबाजी सुरु भएको छ । नेताहरु चुनाव आफ्नो पक्षमा पार्ने रणनीतिमा व्यस्त भइरहँदा आम नागरिकबीच हारजितको अड्कलबाजी हुन थालेको देखिन्छ ।

घरदैलो, आम सभा तथा अन्य चुनावी प्रचारका खुला कार्यक्रम कमहुदै गएका छन् । भने आन्तरिक भेटघाट तथा मतदाता प्रभावमा राख्ने रणनीति सहीत दलका नेताहरु सक्रिय देखिन्छ । तत्कालिन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा यही बैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।

 यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित १२ दल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उम्मेदवारी दिएका मध्ये एमाले दमनबहादुर भण्डारी र काङ्ग्रेसका अभिषेक बहादुर सिंह मुख्य प्रतिस्पर्धी हुन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह पनि प्रतिस्पर्धा नदेखिएका होइन्, तर उहाँहरु बीच पहिलो भएर जित्ने भन्दा पनि तेस्रो को हुने, भन्नेमा प्रतिस्प्रर्धा चलेको देखिन्छ । यहाँ माओवादी र समाजवादीले आफ्नो मत सुरक्षित गर्ने रणनीति मात्रै बनाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का पनि तीव्र चुनावी प्रचार प्रसारमा देखिएका छन् । जसपा नेपालबाट रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्कापनि उम्मेदवार छन् ।

नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्ती मगरलाई चार अङ्क कटाउन पनि सकस हुने देखिन्छ । नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट, नेपाली जनता दलबाट अशोक सुनारको अवस्था पनि अन्य साना दलहरू भन्दा फरक देखिँदैन ।

यी मध्ये केहीको धरौटी समेत जफत हुन सक्ने बताइन्छ । भने कहीले आफ्नो मत समेत आफ्ना लागि हाल्न नपाउने अवस्थामा छन् । बझाङमा अन्य जति दलहरुले उम्मेदवार बनाएपनि एमाले र काँग्रेस नै प्रतिस्प्रर्धी दल हुन् । २०४८ साल देखि नै यी दुई दल बीच चुनावी प्रतिस्पर्धा हुने गरेको छ ।

नेपालमा एमालेबाट निर्वाचन लड्दै गरेका दमन भण्डारी बझाङ जिल्ला अध्यक्ष हुन् । उनीसँग प्रतिस्पर्धामा उत्रिएका कांग्रेसका अभिशेष सिंह कांग्रेसका जिल्ला कार्यसमिति सदस्य हुन् । सवारी दुर्घटनामा ज्यान गुमाएका तत्कालिन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहका छोरा हुन् । सिंह २०७९ को वडा अध्यक्षको उम्मेदवार बनेर पराजित समेत बनेका थिए ।

गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको उक्त निर्वाचन क्षेत्रमा उनकै छोरा अभिशेष सिंहलाई कांग्रेसले अन्तिम कसरत पछि उम्मेदवार बनाएको हो । दमन भण्डारीले पनि पार्टीको आन्तरिक प्रतिस्पर्धामा पहिलो भएर टिकट पाएका हुन् ।

जयपृथ्वी नगरपालिका– ५ मा स्वतन्त्र उम्मेदवार रहेका प्रेमबहादुर थापासँग सिंह ७० मतले पराजित भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीबाट विद्रोह गरेर स्वतन्त्र लडेका थापा २७१ मतसहित विजयी हुँदा एमाले उम्मेदवार राकेशबहादुर सिंहले २१५ पाएका थिए भने अभिषेक २०१ मत ल्याउँदै तेस्रो भएका थिए ।

तर हालको चुनावी प्रतिस्पर्धामा भने एमाले र काँग्रेसका उम्मेदवार नै जित्ने सहज अनुमान लगाउने सक्ने चुनावी दृश्य देखिएको छ । यहाँ एमाले र काँग्रेस मध्ये कस्ले चुनाव जित्ने भनी प्रतिस्पर्धा चलिरहँदा माओवादी र समाजवादीले भने आफूले विगतमा पाएको मत मात्रै सुरक्षित गर्न सक्दा पनि उपलब्धी हुने गरि अगाडी बढेको देखिन्छ ।

२०५६ को आमनिर्वाचनसम्म कांग्रेसको दबदबा रहेको बझाङमा त्यसपछि एमालेले प्रभाव विस्तार गरेको देखिन्छ । २०७९ मा प्रत्यक्षतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको तत्कालीन गठबन्धनसँग हार व्यहोरेको एमालेले समानुपातिकमा भने सबैभन्दा धेरै मत पाएको थियो ।

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका सिंह १७ हजार १ सय १२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत पाएका थिए । राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत पाएका थिए ।

२०४८ को आमनिर्वाचनमा बझाङमा २ वटा निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०५१ को मध्यावधी निर्वाचनमा बझाङ–१ मा एमालेका भानुभक्त जोशी र २ मा स्वतन्त्र उम्मेदवार नरेशबहादुर सिंह निर्वाचित भएका थिए । सिंह अहिले कांग्रेसमा छन् ।

२०५६ को आमनिर्वाचनमा बझाङका २ क्षेत्रमा कांग्रेसले पुनरागमन गरेको थियो । २०६४ मा बझाङ– १ मा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको थियो । २०७० को निर्वाचनमा बझाङका २ वटै क्षेत्रमा एमाले निर्वाचित भएको थियो ।

२०७२ पछि एउटा प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र तोकियो । त्यसपछि २०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा एमाले निर्वाचित भयो भने प्रदेशसभा– १ मा एमाले र २ मा माओवादी केन्द्रले जित्यो ।

एमाले–माओवादीको तत्कालीन वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उभिएको कांग्रेसले बझाङका प्रतिनिधि र प्रदेशसभा गरी ३ वटै सिटमा हार व्यहोरेको थियो । २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभामा एमाले नील भयो । गठबन्धनका दलहरुले चुनाव जिते पनि प्रदेशसभा र स्थानीय तहको विगतको मत परिणाम हेर्दा एमाले बलियो देखिन्छ । उसको निकटतम प्रतिस्पर्धीमा कांग्रेस छ ।

केन्द्र देखी प्रदेशसम्म एमाले, माओवादी र नेकपा एकीकृत समाजको गठबन्धनको सरकार हुँदा बझाङमा भने यी दुबै पार्टी आमनेसामने छन् । समाजवादी र माओवादीमा को तेस्रोहुने प्रतिस्पर्धा बाहेक जितको संभावना देखिदैन् ।

समानुपातिक मत हेर्दा एमाले देखिएपनि, समाजवादी र माओवादी दुबै उम्मेदवारले एमाले लिगेसीका मतहरु नै काट्ने देखिन्छ । एमाले र काँग्रेस मध्ये कस्ले जित्ने भन्नेमा पूर्वाअनुमान सहज छैन् ।

समाजवादी र माओवादीले मतदाता संरक्षण गर्ने, आफ्नो आकार थाह पाउने बाहेक एमाले कसरी हराउने भन्ने आरिसले समेत उम्मेदवारी दिएको आरोप समेत सर्वसाधारणको छ । नजितेपनि मन नपर्नेलाई हराउने र काँग्रेस एमाले पछि को हुने भन्नेमा कडा प्रतिस्पर्धा बझाङ उपनिर्वाचनमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस