आइतबार, ०६ जेठ २०८१

एमाले बाजुराको आठौं जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक

बाजुरा : नेकपा एमाले बाजुराले आठौं जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत लोगो र नारा सार्वजनिक गरिएको हो । एमाले बाजुराको आठौं जिल्ला अधिवेशन आगामी जेष्ठ १, २ र ३ गते मार्तडीमा हुने भएको छ । 

नयाँ नेतृत्व चयन र आगामी पार्टी रणनीति तय गर्ने गरि अधिवेशन हुन लागेको हो । अधिवेशन मिति तोकिएको तेस्रो पटकमा अधिवेशन हुने निश्चित भएको छ । पार्टी केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज भैरवबहादुर सिंह, पार्टी अध्यक्ष भरत थापा, सचिव काशी विक, संगठन विभाग प्रमुख अमर खड्का, मन्देवी ओली, राजन रोकाया देबु खाती सहीतका नेताहरुले पार्टीको लोगो र नारा सार्वजनिक गरिएको छ ।

कर्णाली नदीको प्रवाहलाई बीच भागमा राखेर बाजुराको शिर बुढीनन्दा, रानीसैनको हिमचुचुरा, बडीमालिका र खप्तड क्षेत्रको सुन्दरता, सदरमुकाम मार्तडी बजार र यहाँको उत्पादन क्षेत्रको महिमा झल्किने गरि लोगो डिजाइन गरिएको छ । बाजुराको परिचय प्रतिबिम्बीत हुने गरि लोगो सार्वजनिक गरिएको अध्यक्ष भरत थापाले बताएका छन् । 

एमाले बाजुराले आफ्नो आठौं जिल्ला अधिवेशनको नारा जनवादी पार्टी निर्माण र संगठन सुदृढीकरणका लागि घरघरमा एमाले अभियान, एकतावद्ध, जुझारु र हार्दिकता सहीतको आठौं जिल्ला अधिवेशन तय गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।  

पार्टी अध्यक्ष भरत थापाले पत्रकार सम्मेलनमा यो अधिवेशन हार्दिकता र सद्भाव सहीतको एकताको सन्देश दिने गरि आयोजना हुन लागेको बताएका छन् । पार्टी अध्यक्ष केपी ओलीको समय व्यवस्थापनका लागि लागि परेको बताउँदै थापाले साँझसम्म को प्रमुख अतिथी हुने एकीन हुने बताएका छन् ।

ओलीको बाजुरा आउने नआउने अनिश्चित जस्तै बनेको छ । एमालेले पार्टी जिल्ला अधिवेशनका लागि एक सदस्य एक सय रुपैया चन्द्रा संकलन गर्ने नीति लिएको छ । भने पालिकाबाट आएका प्रतिनिधीले आफ्नो व्यवस्था आफै गर्ने गरि निर्णय गरेको छ । प्रतिनिधी शुल्क एक हजार मात्रै लिने र खाना बस्न सबै स्वयम प्रतिनिधीले बेहोर्नु पर्ने निर्णय गरेको छ । 

अधिवेशन प्रतिनिधी व्यवस्थापनका लागि संगठन विभाग प्रमुख अमर खड्का, जिल्ला कमिटी सचिवालय सदस्य हिक्मत थापा र सदस्य सचिवको रुपमा राजन रोकायालाई जिम्मेवारी दिइएको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनको सञ्चालन सचिव काशी विकले गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस