आइतबार, ०६ जेठ २०८१

गौमुलका माझपाली र धल्काँडा बाजुराकै लामो पुलले जोडिदा गाउँमा खुसीयाली

एमाले नेता लाल बहादुर थापाले गरे २ सय ६० मिटर लामो पुलको उद्घाटन

बाजुरा : गौमुल गाउँपालिका ३ माझपाली र धल्काँडा पुलले जोडिएपछि स्थानीय खुसी भएका छन् । बर्षौदेखि एक गाउँबाट अर्को गाउँको सम्पर्कमा जोडिन घण्टा बढीको समय खर्चिन बाध्य स्थानीयलाई पुलले ५ मिनेटमै जोडेपछि स्थानीय खुसी हुन् । दुई गाउँ जोड्न २ सय ६० मिटर लामो पल निर्माण गरिएको छ । 

प्रदेश सरकारकै अनुदान सहयोगमा जिल्लाकै सबैभन्दा लामो र अग्लो पुलका रुपमा माझपाली धल्काँडा जोड्न पुल निर्माण गरिएको वडा अध्यक्ष गोरख बोहराले बताएका छन् । पुलको निवर्तमान प्रतिनिधी सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले उद्घाटन गरेका हुन् । 

थापा प्रतिनिधी सभा सदस्य भएकै बेला पुल निर्माणको थालनी गरिएको हो । स्थानीय समेत रहेका इन्जिनियर वीरेन्द्र बोहराले परिकल्पना गरेर पालिका स्तरबाट अघि सारेको अयोजना पूर्व माननीय लालबहादुर थापाको प्रयासमा सफल भएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् । 

माझपाली र धल्काँडा खोला वारी र पारीका गाउँ हुन् । दुबै गाउँका स्थानीयले खेती किसानी र पठन पाठनका लागि एकगाउँबाट अर्को गाउँमा जानु पर्ने बाध्यता थियो । वर्षौ देखिएको समस्या हल भएकोमा स्थानीय खुसी मात्रै छैनन्, पुल बनेकोमा दंग बनेका छन् । पुल सञ्चालनपछि सोही वडाका कटीगाउँ, पाते र गर्जे स्थानीयलाई पनि सहज भएको छ ।

स्वास्थ्य चौकी र वडा कार्यालय माझपालीमै छ । बालविकास मावि कक्षा १२ सम्मको विद्यालय पनि माझपाली नै छ । धल्काँडा, कटिगाउँ, पाते र गर्जेका स्थानीय खोलको सतमा झरेर फेरि उकोलो यात्रा पछि मात्रै पुग्ने गरेका थिए । पुल निर्माण पछि भने सबै सास्ती सदाका लागि समाधान भएको स्थानीय देवबहादुर धामीले बताएका छन् ।

आवत जावतमा खर्चिनु पर्ने दैनिक दुई घण्टाको पैदल पुल बनेपछि ५ मिनेटमा पार हुने भएको छ । दैनिक एक घण्टा आउन र एक घण्टा जान लाग्ने समय ५ मिनेटमै पार हुने अवस्था आउँला र पुल बन्ला भन्ने कल्पना समेत थिएन्, तर प्रविधी र विकासले संभव भएपछि स्थानीय खुसी देखिएका छन् । 

पुलको उचाइ मात्रै खोलाको सतहबाट १ सय २५ मिटर अग्लो रहेको छ । अन्सुमन चन्द्रोदय जेबी बझाङले पुल निर्माण गरेको स्थानीय पूर्वाधार विकास कार्यालय धनगढीका इन्जिनियर किशोर विष्टले बताएका छन् । समयमै पुल निर्माण कार्य सम्पन्न भइ स्थानीयलाई सहज भएकोमा आफूलाई खुसी लागेको विष्टले बताएका छन् । 

२ करोड ६३ लाख २९ हजार ७ सय ३५ रुपैया लागत अनुमान गरिएको पुल निर्माण कम्पनीले १ करोड ८९ लाख ६४ हजार ८ सय २८ रुपैया सम्झौता अनुसार बनाएको हो । पुल उद्घाटन समारोहमा स्थानीयले बाजागाजा, नाचगान सहीतको खुसीयाली मनाएका छन् । 

पुल उद्घाटन गर्दै निवर्तमान प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले दुर्गमका दुख कम गर्ने विकासको पूर्वाधारको उद्घाटन गर्न पाउँदा जनताको सेवक भएर काम गरेको खुसीको अनुभूति भएको बताएका छन् । 

केशव बोहराले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथी समेत प्रतिनिधी सभा सदस्य थापा नै रहेका थिए । बाजुरा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले पुल निर्माणले गौमुलको विकासमा ठूलो महत्व राख्ने बताएका छन् । 

एमाले नेता कलबहादुर सिंह, अर्जुन बहादुर रोकाया, प्रमुख प्रशासकीय अधिकृत जगदीप प्रसाद भट्ट, इन्जिनियर किशोर विष्ट, प्रेस चौतारी प्रदेश अध्यक्ष कृष्ण ओलीले मन्तव्य राखेका थिए । वक्ताहरुले पुल निर्माणले चार गाउँका स्थानीयको दैनिक जीवनयापनमा सहजताको नयाँ खुसी मिलेको बताएका छन् ।

सयैको संख्यामा सहभागि स्थानीयले आफ्नो देउडा र सहीतको प्रस्तुती राखेका थिए । पुल उद्घाटन पछि कार्यक्रम औपचारिक रुपमा सञ्चालन गरिएको थियो । कार्यक्रममा कौशल विकले स्वागत मन्तव्य राखेका हुन् । पालिकाका कर्मचारी सहीतको भव्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस