मङ्गलबार, २५ मङि्सर २०८१

बाजुराको गौमुलमा एउटै घरबाट १० वटा भरुवा बन्दुक बरामत, ३ जना पक्राउ

बाजुरा : प्रहरीले गौमुल गाउँपालिका ६ सटेडाको एउटै घरबाट १० थान भरुवा बन्दुक बरामत गरेको छ । गौमुल गाउँपालिका ६ सटेडा घर भएका ६३ वर्षका गोरे ल्वारको घरबाट प्रहरीले १० थान भरुवा बन्दुक बरामत गरेको हो । 

१० थान भरुवा बन्दुक सहीत बन्दुक बनाउन प्रयोग हुने सामान सहीत बरामत गरेको प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताएका छन् । गाउँमा बर्षै देखि भरुवा बन्दुक बनाउने भट्टी सञ्चालनमा रहेको गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरी टोलीको अनुसन्धान पछि भरुवा बन्दुक बनाउदै गरेको अवस्थामा ल्वार सहीत ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेको ल्वारले हतियार बनाउने गरेको र अन्य दुई जना बडीमालिका नगरपालिकाबाट हतियार मर्मतका लागि गएको अवस्थामा पक्राउ परेको निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिएका छन् । 

बडीमालिका नगरपालिका १ का ३९ वर्षका गोरख कार्की र ३७ वर्षका वुद्ध कार्की हतियार लिएर मर्मतका लागि गोरे ल्वारको भट्टीमा पुगेको अवस्थामा पक्राउ परेका हुन् । हतियार मर्मत गर्ने र हतियार मर्मतका लागि जाने तीनै जनाले गैरकानुनी रुपमा भरुवा घरेलु बन्दुक राख्ने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी बताएको छ । 

एउटै व्यक्तिको घरबाट १० वटा बन्दुक, बन्दुक बनाउन प्रयोग हुने सरसामान फेला परेपछि प्रहरीले आपसास बस्तीमा पनि गोप्य अनुसन्धान थालेको छ । बरामत गरिएका १० वटा बन्दुक मध्ये २ वटा गोली लोड गरेरै राखिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । 

घरेलु भरुवा बन्दुक राख्न पाउने कानुन भएपछि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस अनुमति लिएको, वर्षेनी नविकरण गरिएको हुनु पर्ने व्यवस्था छ । त्यसैमा पुराना पेशा व्यवसायीले मर्मतको काम गर्दा पनि अनुमति लिएको हुनु पर्ने कानुनी व्यवस्था छ । तर त्यो अनुमति विनै काम गर्ने गरेको खुलेको छ । 

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान गरि कानुन अनुसार कारवाही अघि बढाउने तयारी प्रहरीले गरेको छ । मुलुकी संघियता ऐन २०७४ को अवैध हातहतियार तथा खरखजना कसुर अन्र्तगत कारवाही प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ । 

बाजुरामा बेला बेला भरुवा बन्दुक बरामत हुदै आएका छन् । जिल्ला प्रशासन कार्यालयको अनुमति विनै वन्यजन्तुको चोरी सिकारीका लागि भरुवा बन्दुकको प्रयोग गर्ने गरिएको पाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस