शुक्रबार, ०२ कार्तिक २०८१

मानाकोट स्वास्थ्य चौकीको सामाजिक परिक्षण, उपचारबाट सेवाग्राही सन्तुष्ट

बाजुरा : मानाकोट स्वास्थ्य चौकीले दिने उपचार सेवाको गुणस्तर बारे सामाजिक परिक्षण गरिएको छ । उपचार सेवाको गुणस्तर र सेवा प्रवाहको अवस्था बारे जानकारी दिन सामाजिक परिक्षण गरिएको हो । 

पीसविन, यूएनएफपीए र गौमुल गाउँपालिकाको सयुक्त सहकार्यमा सामाजिक परिक्षण गरिएको स्वास्थ्य चौकी इन्चार्ज प्रेमबहादुर विकले जानकारी दिएका छन् । सामाजिक परिक्षणमा सहभागि स्थानीयले स्वास्थ्य चौकीबाट प्रवाह हुने स्वास्थ्य सेवा सहज र विरामी मैत्री रहेको भन्दै सन्तुष्टी जनाएका हुन् । 

स्थानीय सेवाक्षेत्रका स्थानीयले स्वास्थ्य चौकीमा सेवारत कर्मचारीले विरामी मैत्री सेवा दिने गरेको धारणा राखेका छन् । सेवाको गुणस्तर, सेवा प्रवाहको अवस्था, स्वास्थ्य कर्मीको व्यवाहार, पारदर्शीता र जवाफदेहिता, औषधीको उपलब्धता सहीत सुत्केरी सेवा, पोषण, परिवार योजना, स्वास्थ्य सचेतनाका विषयलाई आधार बनाएर सामाजिक परिक्षण गरिएको हो ।

स्वास्थ्य कर्मी, स्वास्थ्य व्यवस्थापन समितिका सदस्य, वडाका जनप्रतिनिधी, सेवाग्राही र अन्य सर्वसाधारण सहीतको उपस्थितिमा सामाजिक परिक्षण गरिएको थियो । भौतिक अवस्था  कमजोर देखिएपनि सेवा प्रवाहको अवस्था धेरै राम्रो रहेको गौमुल गाउँपालिका ४ का अध्यक्ष एवं स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष अमर विकले बताएका छन् ।

स्थानीय सेवा ग्राहीले उपचार सेवा प्रवाहमा खुलेरै प्रंशसा गरेका छन् । गएको वर्ष मात्रै २ हजार हजार ४ सय ४४ जना विरामीले स्वास्थ्य चौकीबाट सेवा लिएका छन् । २१ जनाले संस्थागत सुत्केरी गराएकोमा, १०३ जना परिवार योजनाका साधन प्रयोग गर्ने गरेका छन् ।

९८ प्रकारको औषधी राज्यले दिने गरेको र पालिकाका तर्फबाट थप १२ गरि १ सय १० प्रकारका औषधी निशुल्क दिने गरिएको स्वास्थ्य संस्थामा कार्यरत अनमी इश्वरी केसीले बताएकी छन् । २४ घण्टा प्रसुती सेवा दिने गरिएको छ । भने ल्याव सेवा पनि दिने गरिएको छ । दैनिक ८ देखि १० जनाबढीले सेवा लिने गरेका छन् । 

६ जना स्वास्थ्य कर्मी कार्यरत स्वास्थ्य चौकीमा नियमित चेकजाँच देखि परिवार योजनाका साधान प्रयोग कर्ताहरु बढेको देखिन्छ । पालिका अभिमुखिकरण, तथ्यांक संकलन, सेवाग्राही सहीत स्वास्थ्य व्यवस्थापन समिति, स्वास्थ्य आमा समूहसँगको छलफल पछिको प्रतिवेदन सहीत सामाजिक परिक्षण गरिएको हो । 

भवनको अवस्था हेर्दा अप्रर्याप्त देखिएपनि सेवाको गुणस्तरमा निकैराम्रो रहेको लोकेन्द्र रोकायाले बताएका छन् । वडा अध्यक्ष अमर विकको अध्यक्षतामा सञ्चालन भएको सामाजिक परिक्षणमा ४० बढी सेवा क्षेत्रका सरोकारवाला र सेवाग्राही सहभागि थिए । सामाजिक परिक्षणबाट एक वर्षका लागि स्वास्थ्य अवस्था सुधार बारे कार्ययोजना समेत निर्माण गरिएको छ ।

बर्थिग सेन्टरका लागि सोलार जडान गर्ने, व्यवस्थापन समितिको बैठक नियमित गर्ने, आमा समूहको बैठकमा स्वास्थ्य कर्मीको नियमित अनुगमन र सचेतना कक्षा सञ्चालन गर्ने, परिवार योजनाका साधन प्रयोग कर्ता बढाउने योजनामा राखिएको छ ।

यस्तै आमा समूहको बैठकमा सहभागि हुने स्वास्थ्य कर्मीलाई खाजाको व्यवस्थापनका लागि पहल गर्ने, स्वास्थ्य स्वयम सेविकाको कार्यसम्पादनको आधारमा रिक्त रहेको स्थान पूर्ति गर्ने, विरामीका लागि फिल्टरको खानेपानी व्यवस्थापन गर्नेयोजना पनि अघि सारेको छ ।
 

प्रतिक्रिया दिनुहोस