शुक्रबार, ०२ कार्तिक २०८१

गुणस्तरीय स्वास्थ्य सेवामा प्रभाव छोड्दै घटमुना आधारभुत अस्पताल

बाजुरा : घटमुना आधारभुत अस्पतालले दिने सेवाबाट सेवाग्राही सन्तुष्ट देखिएका छन् । अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा सहज र विरामी मैत्री रहेको भन्दै सेवाग्राहीले सन्तुष्टी जनाएका हुन् । अस्पतालमा गरिएको सामाजिक परिक्षणमा सहभागि सेवाग्राहीले सेवा प्रभावकारी र गुणस्तरीय पाइरहेको धारणा राखेका छन् ।

पीसविन, यूएनएफपीए र गौमुल गाउँपालिकाको सयुक्त सहकार्यमा गरिएको सामाजिक परिक्षणमा स्थानीय सेवाक्षेत्रका स्थानीयले अस्पताल सञ्चालन पछि उपचार सेवामा सहज भएको बताएका छन् । अस्पताल सञ्चालन पूर्व यहाँका स्थानीय जिल्ला अस्पताल मार्तडी जान बाध्य थिए ।

सेवाको गुणस्तर, सेवा प्रवाहको अवस्था, स्वास्थ्य कर्मीको व्यवाहार, अस्पतालको पारदर्शीता र जवाफदेहिता, औषधीको उपलब्धता सहीत सुत्केरी सेवा, पोषण, परिवार योजना, स्वास्थ्य सचेतनाका विषयलाई आधार बनाएर सामाजिक परिक्षण गरिएको छ ।

स्वास्थ्य कर्मी, स्वास्थ्य व्यवस्थापन समितिका सदस्य, वडाका जनप्रतिनिधी, सेवाग्राही र अन्य सर्वसाधारण सहीतको उपस्थितिमा सामाजिक परिक्षण गरिएको हो । भौतिक अवस्था देखि सेवा प्रवाहमा सेवाग्राहीले खुलेरै प्रंशसा गरेका छन् । कुनै दोष दिने ठाउँ नै छैन्, बोली व्यवाहार देखि सेवा दिने तरिका र उपचार सेवाले स्थानीयको मन जितेको वडा अध्यक्ष प्रकाश रोकायाले बताएका छन् ।

घटमुना अस्पतालमा गौमुल गाउँपालिका बाहेक छिमेकी पालिका खप्तड छेडेदह र बडीमालिका नगरपालिकाबाट पनि सेवाका लागि आउने गरेका छन् । गएको वर्ष मात्रै ७ हजार ४ सय बढी विरामीले अस्पताल बाट सेवा लिएका छन् ।

१८ जनाले संस्थागत सुत्केरी गराएकोमा, १४१ जना परिवार योजनाका साधन प्रयोग गर्ने प्रयोग कर्ता रहेका छन् । ९८ प्रकारको औषधी राज्यले दिने गरेको र पालिकाका तर्फबाट थप १२ गरि १ सय १० प्रकारका औषधी निशुल्क दिने गरिएको छ ।

२४ घण्टा प्रसुती सेवा दिने गरिएको छ । भने एक्सरे, ल्याव, फार्मेसी सहीत सामान्य अवस्थाको सर्जरी, अप्रेसनसेवा पनि दिने गरिएको छ । दैनिक १५ देखि २० जनाबढीले सेवा लिने गरिएको कार्यालय प्रमुख डाक्टर रामानुज प्रसाद हाथीले जानकारी दिएका छन् । १७ जना स्वास्थ्य कर्मी कार्यरत अस्पतालमा नियमित चेकजाँच देखि परिवार योजनाका साधान प्रयोग कर्ताहरु बढेको देखिन्छ ।

पालिका अभिमुखिकरण, तथ्यांक संकलन, सेवाग्राही सहीत स्वास्थ्य व्यवस्थापन समिति, स्वास्थ्य आमा समूहसँगको छलफल पछिको प्रतिवेदन सहीत सामाजिक परिक्षण गरिएको हो । अस्पतालको अवस्था र सेवाको गुणस्तर हेर्दा निकैराम्रो लागेको सामाजिक परिक्षणमा सहभागि निर्मला खडायतले बताएकी छन् । विरामी संख्या, उपचार प्रतिको कर्मचारीको जवाफदेहीता प्रशंसायोग्य छ, खडायतले भन्नु भयो ।

स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष एवं गौमुल गाउँपालिका ६ का अध्यक्ष प्रकाशबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको सामाजिक परिक्षणमा ६० बढी सेवा क्षेत्रका सरोकारवाला र सेवाग्राही सहभागि थिए । सामाजिक परिक्षणबाट एक वर्षका लागि स्वास्थ्य अवस्था सुधार बारे कार्ययोजना समेत निर्माण गरिएको छ ।

एसबिए तालिम प्राप्त स्वास्थ्य कर्मी राख्ने, बर्थिग सेन्टरका लागि सोलार जडान गर्ने, व्यवस्थापन समितिको बैठक नियमित गर्ने, आमा समूहको बैठकमा स्वास्थ्य कर्मीको नियमित अनुगमन र सचेतना कक्षा सञ्चालन गर्ने, परिवार योजनाका साधन प्रयोग कर्ता बढाउने योजनामा राखिएको छ ।

यस्तै आमा समूहको बैठकमा सहभागि हुने स्वास्थ्य कर्मीलाई खाजाको व्यवस्थापनका लागि पहल गर्ने, स्वास्थ्य स्वयम सेविकाको कार्यसम्पादनको आधारमा रिक्त रहेको स्थान पूर्ति गर्ने, विरामीका लागि फिल्टरको खानेपानी व्यवस्थापन गर्नेयोजना पनि अघि सारेको छ ।

यो वर्ष गौमुल गाउँपालिकाका घटमुना आधारभुत अस्पताल र मानकोट स्वास्थ्य चौकीमा सामाजिक परिक्षण गरिने पीसविनका हेल्थ अफिसर निर्मला खडायतले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस