शुक्रबार, ०२ कार्तिक २०८१

चोयाकोट माविले मनायो, ६२ औं बार्षिक उत्सव, थापाले गरे उद्घाटन

बाजुरा : चोयाकोट मावि रजालीले बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्थापनाको ६२ वर्ष पुरा गरेको अवसर पारी विद्यालयले बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । 

चोयाकोट मावि २०१९ सालमा स्थापना भएको हो । विव्यस अध्यक्ष कृष्ण खड्काको अध्यक्षमा सञ्चालन भएको दिवसको प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधी सभा सदस्य लालबहादुर थापा रहनु भएको थियो । 

प्रअ गोरख बहादुर थापाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन प्रेम रावलले गरेका हुन् । दिवसमा बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, ३ नम्बर वडाका अध्यक्ष डबल रोकाया सहीत सहभागि थिए ।

विद्यालयले बार्षिक उत्सव समारोहका अवसर पारी साप्ताहिक खेल सप्ताह आयोजना गरेको थियो । सोही अवसरमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि गरिएको विव्यस अध्यक्ष कृष्ण खड्काले बताएका छन् । 

कार्यक्रममा प्रमुख अतिथी लालबहादुर थापाले शैक्षिक गुणस्तर सुधारका पक्षमा केन्द्रीत हुन आग्रह गरेका छन् । भौतिक संरचना देखि अन्य सवालमा चोयाकोट माविको अवस्था सुधार भइरहेको र गुणस्तर सुधारमा पनि अझै प्रगति हासिल गर्न सुझाव दिएका हुन् । 

शिक्षक अभिभावक र विद्यार्थी बीचको सहकार्य र सहभागिमा मात्रै शैक्षिक गुणस्तर सुधार हुने भएकोले सन्तानको भविष्य र समाजको भावी पुस्ताको जीवन सुधारमा सबै जिम्मेवार हुनु पर्ने धारण राखेका छन् । थापाले विद्यालयको सुधारका लागि आफ्नो सहयोग रहने बचन दिएका छन् । चोयाकोट माविले आफ्नो स्थापना दिवस भव्य मनाउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस