शुक्रबार, ०२ कार्तिक २०८१

स्वामिकार्तिकमा विरासत फर्काउन उपनिर्वाचनमा केन्द्रीत हुने एमाले बाजुराको निर्णय

बाजुरा : नेकपा एमाले बाजुराले मंसिर १६ गते हुने उपनिर्वाचन केन्द्रीत हुने निर्णय गरेको छ । पार्टी जिल्ला कमिटीको मार्तडीमा बसेको तेस्रो पूर्ण बैठकले मंसिर १६ मा उपनिर्वाचन हुने गरि मिति तोकिएसँगै तयारी केन्द्रीत हुने निर्णय गरेको हो । 

स्वामिकार्तिक  खापर गाउँपालिकामा उपनिर्वाचन हुने भएको छ । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको निधनपछि उपनिर्वाचन हुन लागेको हो । पार्टीको बैठकले उपनिर्वाचन केन्द्रीत भएर गतिविधी अघि बढाउने तयारी थाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजन रोकायाले जानकारी दिएका छन् । 

स्वामिकार्तिक खापर गाउँपालिका नेकपा एमालेको किल्ला हो । २०४८ सालदेखि नै साविक जुकोट, वाइ साप्पाटा गाविस एमालेकै प्रभावमा थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको थियो । तर नेकपा पछिको एमाले विभाजन पछि स्वामिकार्तिक मा नेपाली काँग्रेसले पकड जमाएको छ । 

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र अलग अलग उम्मेदवारका साथ लडेपछि एमाले दोस्रो स्थानमा झरेको हो । ५ वटा वडा मध्ये १ मा मात्रै जित हात पारेर एमालेले चित्त बुझाएको छ । 
यो पटकको उपनिर्वाचनमा एमालेले उपाध्यक्ष भएपनि एक पद आफ्नो पक्षमा पार्ने योजना सहीत अघि बढ्ने निर्णय गरेको छ । पार्टी चुनावी गतिविधी अघि बढाउने, विपक्षसँगको रणनीति तय गर्ने गरि टिम बनाउने जिम्मा सचिवायलाई दिएको छ । पार्टी जिल्ला कमिटीको पूर्ण बैठकले सबै अधिकारी सचिवालयलाई दिएको हो । नेकपा एमालेमा २३ सदस्यीय सचिवालय बनेको छ । 

पार्टी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी पार्टी उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली थिए । ज्ञवाली प्रशिक्षण कार्यक्रममा भाग लिन बाजुरा आएका हुन् । पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य कर्णबहादुर थापा, इश्वरी रिजाल, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश उपाध्यक्ष कालीबहादुर शाही सहीत बैठकमा सहभागि थिए । 

बैठकबाट पार्टी जिल्ला कमिटीको आगामी कार्ययोजना पनि पारित गरिएको छ । वडा, टोल देखि पालिकासम्मका संगठन निर्माण, प्रशिक्षण सहीतका कार्यक्रम योजना सहीत सञ्चालन गर्न एमाले बाजुराले बार्षिक कार्ययोजना बनाएको छ । 

प्रतिक्रिया दिनुहोस