शुक्रबार, ०२ कार्तिक २०८१

संकटमा काँग्रेस एमाले सहकार्य, राजनीतिक स्थायीत्वका लागि संविधान संसोधन : ज्ञवाली

सत्ता गुमाउँदा प्रचण्डको अनियन्त्रीत बोली अलोतान्त्रीक र संविधान विरोधी भएको आरोप

बाजुरा : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश विकास र समृद्धिका लागि काँग्रेस र नेकपा एमाले बीच सत्ता सहकार्य गरिएको बताएका छन् । लामो समय सरकार बनाउने र गिराउने खेलमा सकिँदा विकास र समृद्धिको एजेण्डा नै धरापमा परेपछि मुलकमा उत्पन्न संकट समाधान गर्न दुईठुला पार्टी मिल्नु परेको ज्ञवालीको दाबी छ ।  

प्रेस चौतारी नेपाल बाजुराले मार्तडीमा गरेको पत्रकार भेटघाटमा उहाँले जनताको चाहना र समयको माग अनुसार नै काँग्रेस एमाले बीच सहकार्य गरिएको जिकिर गरेका छन् । मुलक राजनीतिक र आर्थिक संकटमा परिरहेका बेला, दलहरु सत्ताकै खेलमा अल्झिनु देश र जनता दुबैका लागि दुर्भाग्य हुने निष्कर्ष सहीतको सहकार्य भएकाले आशंक नगर्न पनि आग्रह गरेका छन् । 

गरिव राष्ट्रका लागि अस्थीरता अभिषाप नै बन्ने गरेकोले वर्तमान काँग्रेस एमाले सहकार्यले संकट समाधान हुने र जनतामा दलहरु बीच देखिएको निराशा समेत हट्ने विश्वास व्यक्त गरेका छन् । देशमा ठूला राजनीतिक परिवर्तन गर्न र संकट समाधान गर्न काँग्रेस एमाले बीचको सहकार्य विगतकै निरन्तरता भएकोले सत्ता स्वार्थको गलत अर्थमा नबुझ्न ज्ञवालीले आग्रह गरेका हुन् । 

ज्ञवालीले राजनीतिक स्थायीत्वका लागि संविधान संसोधन गर्न आवश्यक रहेको धारणा राखेका छन् । संविधान गतिशिल हुन्छ, संविधानलाई समय अनुकुल बनाइनु पर्छ, त्यसैले सबै दलहरुबीचको आपसी सहकार्य र सहमतिमा संविधान संसोधन गरिनेमा आशंका नगर्न पनि आग्रह गरेका छन् । संविधान संसोधनले कसैलाई निषेध र कसैलाई मालामाल हुने होइन्, राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै सबैको हित र पक्षमा हुने गरि संसोधन गरिनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

काँग्रेस एमाले सहकार्यले मुलुकमा आशाको सञ्चार भएको दाबी ज्ञवालीको छ । व्यापारी उत्साहीत छन् । सेयर बजार लगातार उकालो छ । अस्थीरता अन्त्य हुनेमा जनता आशावादी छन् । ओली नेतृत्वको सरकार अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्ने सफल भएको छ । सहकार्यका सुरुवादी यीनै विषयले पनि सहकार्यको सकारात्मक सन्देश प्रवाह भएको देख्न सकिन्छ, ज्ञवालीले भन्नु भयो ।

प्रचण्डप्रति कडा प्रहार गरेका ज्ञवालीले मुलकलाई पछाडि धकल्ने र राजनीतिक अस्थीरतालाई प्रश्रय दिने काम गरेको आरोप लगाएका छन् । जादुमयी अंकको आड देखाएर प्रचण्डले नेपाली जनता र लोकतन्त्र माथि नै खेलवाड गरेको ज्ञवालीको भनाई छ । प्रचण्डको अनियन्त्रीत बोली लोकतन्त्र, विधीको शासन र वर्तमान संविधान विपरित रहेको दाबी ज्ञवालीको छ । बंगलादेश बनाउने, आँधी ल्याउने, अथलपुथल गर्ने अभिव्यक्ति प्रचण्ड सत्ता गुमाउँदाको आक्रोश बाहेक केही नभएकोले जनताले राम्रोसँग बुझीसकेको बताएका छन् ।

ज्ञवालीले सहकारी प्रकरणमा जोडिएका सबैको निष्पक्ष र कानुन संवत अनुसन्धान गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् । संसदीय छानवीन समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंक नगर्न आग्रह गर्दै ज्ञवाली स्वतन्त्र भनिएका पार्टीहरुले कानुनकै ध्वज्जी उडाएको आरोप लगाएका छन् । 

काँग्रेस, एमाले र माओवादीले नेताहरुमाथि अनुसन्धान हुँदा कारवाही हुँदा सहयोग गरेको उदारण दिँदै ज्ञवालीले गलत कुरामा पनि समर्थन गर्न र आन्दोलनको धम्की दिने कार्य लोकतन्त्र र विधीको शासन विरुद्ध भएकोले जनताको साथ नरहने दाबी गरेका छन् । बाढी र पहिरोको संकटमा परेको नेपाली समुदाय माथि राहत, उद्दारमा सरकार जिम्मेवार रहेको भन्दै ज्ञवालीले घटनाप्रति दुख व्यक्त गरेका छन् । 

बाजुराले विकासमा केही फड्को मारेपनि अझै राज्यको ध्यान सिंगो सुदूरपश्चिममै पुग्नु पर्नेमा जोड दिएका छन् । सेती लोकमार्ग निर्माणलाई गति दिन सरकारले उचित बजेट व्यवस्थापनका लागि आफ्नो सदैव पहल रहेको र एमालेको हृदयमा बाजुरा सहीतका जिल्लाहरु बसेको दाबी गरेका छन् । भारत आश्रीत समुदायलाई पर्यटनको माध्यमबाट जीवन स्तर सुधारका गतिविधी गर्नु पर्नेमा जोड दिएका छन् । 

ज्ञवालीले प्रधानमन्त्री केपीशर्मा ओलीको अमेरिका भ्रमण हालसम्मको सफल र उपलब्धी मुलक बनेको दाबी गरेका छन् । नेपाललाई अन्तर्राष्ट्रिय समुदायले सुन्ने र चिन्ने ठाउँमा पुर्याउन भ्रमण सफल रहेको बताएका छन् । आणविक र औद्योगिक मुलुकहरुका कारण संसारकै वातावरण बिग्रीदै गएकोले सुधार्ने जिम्मेवारी पनि तीनै मुलुकले लिनु पर्ने धारणा राखेका छन् । 

प्रेस चौतारी बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको भेटघाट कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, राजेन्द्र रावल, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली सहीत सहभागि थिए । 

पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव रमित विकले गरेका हुन् । नेकपा एमाले बाजुराले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रममा सहभागि हुन ज्ञवाली बाजुरा आएका हुन् । ज्ञवाली सहीतका नेताहरुले एमाले जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण दिने छन् । 
 

प्रतिक्रिया दिनुहोस