बिहिबार, ०३ असोज २०८१

२८ लाख रकम हिनामिनाको आरोप सहीत काँग्रेस अछामका सभापतिका बिरुद्ध देउवालाई उजुरी

अछाम : नेपाली काँग्रेस अछाम भित्रको विवाद पछिल्लो समय छताछुल्ल हुन थालेको छ । 

पार्टी सभापति तथा प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह निकट र इतर समूहबिचको भित्री विवाद छताछुल्ल हुन थालेको हो । यसै बिच जिल्ला पार्टी सभापति शाहविरुद्ध विभिन्न आरोप सहित केन्द्रीय पार्टी सभापति शेर बहादुर देउवा समक्ष उजुरी परेको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवरले पार्टी सभापति शाहले पार्टी जिल्ला कोषको लाखौँ रकम हिनामिना गरेको, पार्टी कार्यालय निर्माणका लागी लालपुर्जा नभएको जग्गा खरिद गरी आर्थिक अपचलन गरेको लगायतका विषयमा छानबिनको माग गर्दै देउवा समक्ष निवेदन दिएका हुन् ।

केन्द्रीय सभापति देउवा समक्ष उजुरी गर्न समन्वय समिति प्रमुख सहित नेपाली काँग्रेस अछामका २ दर्जन बढी नेता उपस्थित भएका थिए । पार्टी सभापति देउवाले जिल्ला सभापति विरुद्धको उजुरी बुझ्दै आवश्यक छानबिन गरी दोषी उपर कारबाही गर्ने प्रतिबद्धता जनाएको एक नेताले बताए ।

तीँ नेताका अनुसार जिल्ला सभापति शाहले जिल्लामा गुट बिस्तार गर्न लागी परेको , आफू निकट बाहेकका पार्टी कार्यकर्तासँग समन्वय नगर्ने र नटेर्ने गरेको विषयमा देउवा समक्ष जिल्लाका नेताले रिपोर्टिङ्ग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस