मङ्गलबार, ०१ असोज २०८१

बडीमालिकाका सबैवडामा फाइबर नेट जडान हुने, मार्तडी बजार क्षेत्रको सडकबाटोको कित्ताकाट गरिदैं

बाजुरा : बडीमालिका नगरपालिकाले नौ वटै वडामा फाइबर नेट जडान गर्ने भएको छ । प्रविधी मैत्री सेवा विस्तारको क्रममा पालिकाले नौ वटै वडामा नेट जडान गर्न लागेको हो । प्रविधी क्षेत्रका जानकार र नेपाल टेलिकमसँगको परामर्श पछि नेट जडान कार्य थाल्ने निर्णय गरिएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

नेट जडानका विषयमा कार्यपालिका भित्र निर्णय भइसकेको छ । भने वडाका कर्मचारी, प्राविधिकसँग पनि थप छलफल र परामर्श गरिसकिएको छ । इबडीमालिका र प्रविधी मैत्री बडीमालिकाको अभियान अन्र्तगत सेवा जडानको काम थालिएको हो । वडाबटै सबैप्रकारका सिफारिस र काम गर्न सकिने प्रविधी जडानका लागि फाइबर नेट जडान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताएका छन् ।

वडामा प्राविधि प्रयोगका लागि आवश्यक समान गएको वर्ष नै जडान गरिसकिएको छ । त्यो बेला पनि इन्टरनेट सेवा जडान गरिएको छ । तर नेटवर्क आउने जाने समस्याले केही वडामा काम अनियमित हुने भएपछि फाइबर नेट जडान गर्न लागिएको हो । नेपाल टेलिकमले समेत जडानका लागि आफूहरु तयार रहेकोले प्रक्रिया अगाडि बढाउन आश्वासन दिइसकेको नगरपालिकाले बताएको छ । 

पालिकाले मार्तडी बजार क्षेत्रको सडक बाटोमो पनि कित्ताकाटको काम अघि बढाउने भएको छ । अव्यवस्थीत घरहरु र बाटोको सीमाना निर्धारण नहुँदा देखिएको समस्यालाई हल गर्न केही महिना भित्र कित्ताकाट गरिसक्ने तयारी पालिकाले गरेको छ । कित्ताकाट गर्न नेपाल सरकारले केही समय रोकेपनि बाजुराको हकमा सुचारु गर्ने गरि परामर्श समेत पालिकाले गरिसकेको बताएको छ । 

सडक जाने बाटो, सडकको क्षेत्र, व्यक्तिका घर र शहरि मापदण्ड अनुसारको घर जग्गा निर्माणको काम पनि कित्ताकाट लगत्तै सुरु गरिने भएको छ । पालिकाले लामो समयदेखि घरजग्गा नक्सापासको कामलाई समेत पूर्णता दिन सकेको छैन् । ती सबै विषयलाई समाधान गर्न गरि काम अघि बढाइएको नगरपालिकाले बताएको छ ।     
 

प्रतिक्रिया दिनुहोस