मङ्गलबार, ०१ असोज २०८१

पालिकामा दर्ता नगरि अटो सञ्चालन गर्न नपाइने बडीमालिकाको निर्णय, भाडादर पनि तोकियो

बाजुरा :  बडीमालिका नगरपालिकाले अटो पालिकामा अनिवार्य दर्ता गरेर मात्रै सञ्चालन गर्ने नीति लिएको छ । मनोमानी रुपमा अनुमति पत्र र इजाजत पत्र समेत नभएका अटोहरु सञ्चालन हुनेक्रम बढेपछि पालिकाले दर्ताका लागि अनिवार्य गरेको हो । 

पालिकाका प्रमुख उपप्रमुख सहीत प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र अटो व्यवसायी बीचको बैठकले पालिकामा अनिवार्य दर्ता गरिनु पर्ने, इजाजत पत्र र अनुमति पत्र अनिवार्य हुनु पर्ने निर्णय गरेको छ । अनुमति पत्र नभएको चालक र बडीमालिका नगरपालिकामा दर्ता नभएको अटो पालिका क्षेत्रमा सञ्चालन गर्न नदिने नगर प्रमुख अमर खड्काले बताएका छन् ।

बाजुराको इकडीदेखि मार्तडीसम्म अटो सञ्चालन भइरहेका छन् । बडीमालिका नगरपालिकाको मार्तडीदेखि हरहरेका खोलासम्म अटो सञ्चालन हुने गरेका छन् । दुर्घटनाको जोखिम बढेको, मनोमानी भाडा असुली भइरहेको र अनुमति नभएकै चालकहरुले चलाउने गरेको जनगुनासो पछि पालिकाले कडाइ गरेको हो ।

अटो पछिल्लो समय छोटो दुरीका यात्रुहरुका लागि निकै उपयोगी साधन बनेका छ । पालिकाले भाडा समेत तोकिदिएको छ । पालिकाले प्रतिकिलोमिटर १५ रुपैयाका दरले मार्तडीबाट १४ वटा स्थानको भाडा तोकेको छ । जस्मा मार्तडीदेखि चौराटीखेत ४५ रुपैया, सेलाघाटसम्म ५० रुपैया, सुवाकाँधसम्म ६० रुपैया, बाँसठानासम्म ७५ रुपैया भाडा तोकेको छ । 

यस्तै रापकसम्म ८० रुपैया, वीरेखोलासम्म ९० रुपैया, नुनेपानीसम्म १ सय ५ रुपैया, पानीनाउँलासम्म १ सय २० रुपैया, सिमलगौडासम्म १ सय ३५ रुपैया, जडांगा १ सय ४५ रुपैया, ओलेनासम्म १ सय १६० रुपैया, तिपाडासम्म १ सय ७५ रुपैया, चिनेचौरसम्म १ सय ८५ रुपैया र हडडे खोलासम्म २ सय रुपैया भाडा कायम गरेको छ । 

बडीमालिका सीमाक्षेत्र हडडेसम्म मात्रै हो । अटो व्यवसायीले निश्चित रकम पालिकालाई कर समेत बुझाउनु पर्ने छ । व्यवसायलाई व्यवस्थीत र कानुनी दायरामा ल्याउन पालिकामा दर्ता अनिवार्य गरिएको राजस्व शाखा प्रमुख कृष्ण खड्काले जानकारी दिएका छन् । बडीमालिका क्षेत्रमा मात्रै दर्जन बढी संख्यामा अटो चलिरहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस