बिहिबार, ०३ असोज २०८१

बाजुरामा 'न्यू मिसन' दैनिक पत्रिका विमोचन

बाजुरा : बाजुरामा दैनिक पत्रिका प्रकाशन हुने भएको छ । न्यू मिसन दैनिकका नाममा पत्रिका प्रकाशन हुन लागेको हो । पत्रिकाको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया सहीतका जिल्ला स्थित दलका नेताहरुले विमोचन गरेका छन् । 

पत्रिकाको समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगर प्रमुख अमर खड्का, नेपाली काँग्रेस सभापति रामसिंह रावल, नेकपा एमाले अध्यक्ष लालबहादुर ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुरबहादुर रावत, एमाले सचिव काशी विक, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले सयूक्त रुपमा विमोचन गरेका हुन् । 

बाजुरा सदरमुकाम मार्तडी बाजुर नियमित प्रकाशन गर्ने गरि पत्रिका विमोचन गरिएको प्रकाशक धनकृष्ण विकले बताएका छन् । विक समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य हुन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय देखिएका विकले जिल्लामा छापा तर्फका पत्रिका प्रकाशन रोकिएको बेला नयाँ आटँ सहित प्रकाशनको तयारी थालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाजुरामा १६ नम्बरमा दर्ता गरिएको छ । दर्ता गरिएका मध्ये सुनन्दा दैनिक र स्वामिकात्र्तिक दैनिक कहिलेकहिँ प्रकाशन गरिएपनि अन्य सबै बन्द अवस्थामा छन् । बाजुरामा योसँगै चार वटा दैनिक पत्रिका दर्ता भएका छन् । भने ९ वटा साप्ताहिक पत्रिका दर्ता गरिएको छ । ३ वटा मासिक र त्रमासिक पत्रिका दर्ता भएका छन् । 

प्रविधिको विकास, खर्च व्यवस्थापन हुन नसक्दा दैनिक पत्रिका टिकाउ मुस्कील भएपछि पत्रिका बन्द गरिएका हुन् । पत्रिका विमोचन गर्नेकुराले मात्रै अर्थ नराख्ने भन्दै समन्वय समिति प्रमुख तुलसीराम रोकायाले निरन्तरता र पाठकको विश्वास जित्नु पर्ने सुझाव दिएका छन् ।

बाजुरामा पहिलो पटक २०६१ सालमा सञ्चालनमा आएको पत्रिका बाजुरा आवाज साप्ताहिक हो । मालिका रैवार टाइम्स, हिँमचुली एक्सप्रेस पनि पुराना पत्रिका हुन् । बीचमा आधा दर्जन बढी साप्ताहिक थपिए । त्यो पछि उज्यालो पश्चिम पहिलो दैनिक पत्रिकाका रुपमा दर्ता भइ सञ्चालनमा आयो भने, बाजुरा सन्देश, स्वामिकात्र्तिक दैनिक र सुनन्दा दैनिक पनि सञ्चालनमा थिए । 

प्रकाशनमा आएको न्यू मिसन दैनिक पत्रिकाको प्रकाशकमा धनकृष्ण विक रहेका छन् । भने जसबहादुर शाही सम्पादकको भूमिकामा छन् । बडीमालिका नगरपालिकाको हलमा आयोजित विमोचन समारोहको सञ्चालन पत्रकार पदम सिंहले गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस