बिहिबार, ०३ असोज २०८१

एमाले बाजुरामा विभाग र वडा इन्चार्जको जिम्मेवारी तोकियो : संगठनमा खड्का र प्रचारमा राजन

हरि रोकायाले जनसंगठन मोर्चाको जिम्मेवारी सम्हाल्ने

बाजुरा : नेकपा एमाले बाजुराले पार्टी कमिटीको कार्यविभाजन गरेको छ । मार्तडीमा बसेको बैठकले ६ वटा विभाग, जनसंगठन मोर्चा र वडा कमिटीको जिम्मेवारी बारे नेताहरुको कार्यविभाजन गरेको हो । पार्टी पदाधिकारीबीचको छलफलबाट तय गरिएको कार्यविभाजनको खाका जिल्ला कमिटीले अनुमोदन गरेको छ । 

पार्टी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले तीन वर्षे योजना सहीत बार्षिक कार्ययोजना पारित गरेको छ । भने ६९ वटा वडा र विभागको कार्यजिम्मेवारीको विभाजन गरिएको सचिव काशी विकले जानकारी दिएका छन् । 

बैठकले संगठन विभाग प्रमुखमा अमर खड्का, स्कुल विभाग प्रमुखमा जनक कुमार बोहरा, आर्थिक विभाग प्रमुखमा काशी विक, स्थानीय तह समन्वय विभागमा रामबहादुर बानीया र सहकारी तथा वित्तीय विभागमा मन्देवी ओलीलाई जिम्मेवारी दिएको छ । जनसंगठन संयन्त्रको प्रमुखको जिम्मेवारी भने हरि रोकायाले पाएका छन् । राजन कुमार रोकायालाई एमाले पार्टी प्रचार विभागको जिम्मेवारी दिएको छ । 

विभागको जिम्मेवारी पाउने खड्का, बानीयाँ र ओली बाहेक अरु तीनै जना पार्टी पदाधिकारी हुन् । पार्टीको बैठकले असोज १२, १३ र १४ गते मार्तडीमा बृहत पार्टी प्रशिक्षण कार्यक्रम गर्ने मिति तय गरेको छ । भने मंसिर भित्र अधिवेशन गर्न बाँकी सबै वडा, पालिका र जनसंगठनका अधिवेशन गरि सक्न निर्देशन सहीतको निर्णय गरेको छ । 

जेठ सकिएको आठौ जिल्ला अधिवेशन पछि बसेको दोस्रो बैठकबाटै आर्थिक सुशासनका लागि आर्थिक कार्यविधी पारित गरिएको छ । भने पार्टी कमिटी र पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले पालना गर्नु पर्ने आचारसंहिता र आवश्यक मापदण्ड पनि पारित गरेको छ । 

पार्टी केन्द्रले जारी गरेको अन्तर पार्टी निर्देशन बारे जानकारी गराइएको छ । भने जिल्लाको समग्र विकास निर्माणको कामको अगुवाईमा पार्टी अग्रभागमा देखिएर काम गर्ने बारे निर्णय गरेको छ । साथै अलपत्र विकासे योजनाको सूची सहीत सम्बन्धीत निकायलाई दबाब दिने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा निर्वाचन क्षेत्र इन्चार्ज सहदेव बोगटी, निर्वाचन क्षेत्र क का ईन्चार्ज प्रकाश शाह सहीतलाई बधाई सहीत सम्मान थरेको छ । प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही सहीत सहभागि बैठकमा जिल्ला इन्चार्ज लालबहादुर थापाले समग्र पार्टी कमिटी र जिल्लामा बलियो संगठन बनाउने काममा प्रतिवद्ध भएर लाग्न निर्देशन दिएका छन् । 

बैठकमा निर्वाचित ९० सदस्यीय जिल्ला कमिटी र नौ वटा पालिकाका नौ जना अध्यक्ष पदेश सदस्यका रुपमा सहभागि भएका थिए । भने अध्यक्ष लालबहादुर ओलीले प्रस्तुत गरेको राजनीतिक र सचिव काशी विकले सञ्चालन गरेको सांगठनीक प्रतिवेदन जिल्ला कमिटीले पारित गरेको छ । 

एमाले बाजुराले यो पटक दुई हप्ता अगाडि नै सबै जिल्ला कमिटी सदस्यलाई बैठक बारे जानकारी गराइएको थियो । कमिटीका सदस्यको व्यक्तिगत विवरणको अभिलेख, पालिका कमिटीको प्रगति प्रतिवेदन र संगठीत सदस्यको नविकरणको अवस्था बारे लिखित प्रतिवेदन माग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस