बिहिबार, ०३ असोज २०८१

कार्यविभाजन सहीत तीन वर्षे योजना बनाउन एमाले बाजुराको बैठक बस्दै, नेताहरु मार्तडी केन्द्रीत

बाजुरा : नेकपा एमाले बाजुराको दोस्रो बैठक मार्तडीमा बस्ने भएको छ । जेठमा सकिएको पार्टीको आठौं जिल्ला अधिवेशन पछि पार्टीको दोस्रो बैठक बस्न लागेको हो । भदौ १३ गते बस्ने बैठकको सबै तयारी पुरा भएको पार्टी सचिव काशी विकले जानकारी दिएका छन् । 

बैठकका लागि केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरु बाजुरा आइसकेका छन् । पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लालबहादुर थापा चारदिन पहिला नै बाजुरा पुगिसकेका छन् । भने प्रतिनिधी सभा निर्वाचन क्षेत्र इन्चार्ज सहदेव बोगटी, निर्वाचन क्षेत्र क का ईन्चार्ज प्रकाश शाह पनि मार्तडी पुगिसकेका छन् । 

प्रदेश कमिटीका तर्फबाट पार्टी प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही पनि बाजुरा पुगिसकेका छन् । जिल्लाबाट प्रदेश कमिटीमा प्रतिनिधीत्व गर्ने नेताहरु, र जिल्ला कमिटी पदाधिकारी सहीत सदस्यहरु मार्तडी पुग्नेक्रम जारी रहेको अध्यक्ष लालबहादुर ओलीले जानकारी दिएका छन् । 

यो बैठकलाई पार्टी नेताहरुले महत्वका साथ लिएका छन् । पार्टी आन्तरिक जीवनमा पहिलो पटक चुनावबाट नेतृत्व छनोट भएर आएको कमिटीको संख्यामा दोस्रो र एजेण्डा र निर्णयमा पहिलो बैठकका रुपमा लिइएको छ । लालबहादुर ओली पार्टी नेतृत्वमा आएपछि गर्न लागिएको दोस्रो बैठकले नेताहरुको कार्यविभाजन र कार्यजिम्मेवारी तोक्ने तयारी गरिएको छ । 

निर्वाचित ९० सदस्यीय जिल्ला कमिटी र नौ वटा पालिकाका नौ जना अध्यक्ष पदेश सदस्यका रुपमा सहभागि हुनेछन् । निर्वाचित जिल्ला कमिटी मध्येपनि सिनियर सदस्यलाई नै जिम्मेवारी दिने तयारी गरिएको छ । पार्टी जिल्ला इन्चार्ज लालबहादुर थापा सहीत केन्द्रीय सदस्यसँगको परामर्श पछि जिल्ला कमिटीको बैठकमा कार्यविभाजनको खाका प्रस्तुत गर्ने तयारी गरिएको छ । 

७ वटा विभाग, पालिका कमिटी र वडा कमिटीको जिम्मेवारी पनि तोकिने छ । पार्टीका विभागहरु पदाधिकारीले नै नेतृत्व लिने गरि तयारी थालिएको छ । भने एक तिहाइको सचिवालय पनि गठन बैठकले गर्ने भएको छ । तीन वर्षको कार्ययोजना सहीतको खाका बनाएर जान बैठकमा छलफल हुने एमालेले बताएको छ । 

बैठक पार्टी कार्यालयमा दिनको साढे ११ बजेबाट सुरु हुने सचिव काशी विकले जानकारी दिएका छन् । दुई हप्ता अगाडि नै सबै जिल्ला कमिटी सदस्यलाई बैठक बारे जानकारी गराइएको थियो । कमिटीका सदस्यको व्यक्तिगत विवरणको अभिलेख, पालिका कमिटीको प्रगति प्रतिवेदन र संगठीत सदस्यको नविकरणको अवस्था बारे लिखित प्रतिवेदन माग गरिएको छ 
 

प्रतिक्रिया दिनुहोस