बिहिबार, ०३ असोज २०८१

सुदूरपश्चिमको विकास र संवृद्धिको लागि प्रदेश प्रमुखसँग छलफल

कैलाली :  सुदूरपश्चिम प्रदेशको विकास र संवृद्धिबारे प्रदेश प्रमुख नजिर मियाँसँग छलफल भएको छ। एमाले केन्द्रीय सदस्य तथा युवा नेता ऐन महर, बुढिगंगा नगरपालिका बाजुराका मेयर रामबहादुर बानिया, बझाङका वडाध्यक्ष तथा अन्य सरोकारवालहरूले संयुक्त रुपमा प्रदेश प्रमुख मियाँसँग प्रदेशको विकारका विषयमा छलफल गरेका हुन् । ।

एमाले नेता महरले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना हुँदा हुँदै पनि पर्याप्त विकास हुन नसेको बताएका थिए । उनले सेती लोकमार्ग हुँदै उरै नाका खोल्न सक्दा सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुग्ने बताए। यो सडक मार्फत भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्न सक्ने महरको भनाइ थियो ।

केही समय अघि एमाले केन्द्रीय सचिव समेत रहेका पूर्व मन्त्री सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको सुदूरपश्चिम प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने गरि विकासका गतिविधि अघि बढाउन आग्रह गरेको थियो  । 

प्रधानमन्त्री ओलीकै पालामा सुदूरपश्चिम प्रदेशमा यस अघि उत्तर दक्षिण सडक, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र निर्माण सुरु भएको भन्दै महरले फेरी ओली प्रधानमन्त्री भएपछि आसा पलाएको बताएका थिए । उनले प्रदेश गौरवका योजनाहरूमा प्रदेश सरकारले चासो दिनुपर्ने भन्दै विकास निर्माणमा प्रदेश प्रमुखबाट पनि अभिभावकीय भूमिकाको अपेक्षा गरेको बताए ।

नेता महरले आगामी आर्थिक वर्षको बजेट तयार हुँदै गर्दा प्रदेशको संवृद्धि केन्द्रित बजेट आउनु पर्नेमा जोड दिएका थिए ।
प्रदेश प्रमुख मियाँलाई उनले बझाङ हुँदै खप्तडको निम्तो समेत दिएका थिए ।

बुढिगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाले विकासका दृष्टिकोणले पछि परेका क्षेत्रहरूमा प्रदेश सरकारको बढि चासो हुनुपर्ने बताएका थिए । उनले आफ्नो पालिकामा भइरहेका गतिविधिबारे प्रदेश प्रमुखलाई जानकारी गराउँदै आफू नमुना पालिका बनाउने उद्देश्यसहित अघि बढिरहेको बताए ।

प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई विकास र संवृद्धि केन्द्रित गतिविधिलाई प्राथमिकतममा राख्न भनिसकेको बताएका थिए । 

उनले सेती लोकमार्ग, दिपायल खुटिया फास्ट ट्र्याक लगायतका विषयमा आफूले संघीय सरकारसँग पनि समन्वय गरिरहेको बताए ।
‘पटक पटक हुने भेटघाटमा पनि मैले यहाँका विकास र संवृद्धिकै बारेमा चासो राख्दै आइरहेको छु ’ प्रदेश प्रमुख मियाँले भनेका थिए ‘सुदूरपश्चिम सुन्दर छ थोरै विकासले गति पाए सुनमा सुगन्ध थपिन्छ ।’

प्रतिक्रिया दिनुहोस