शुक्रबार, ०२ कार्तिक २०८१

बाजुराका चन्दु कार्की, जो हरिद्वारबाट २९ दिनको पैदल हिँडेर पशुपतिनाथ पुगे

काठमाडौं :  बाजुरा घर भइ हाल भारतको पिथौडागढ बस्दै आएका चन्दु कार्की २९औं दिनमा पशुपतिनाथको मन्दिरमा पुगेका छन् ।

२६ बर्षका कार्की हरिद्वारबाट जल बोकेर पशुपतिसम्म पैदल हिँडेर पुगेका हुन् । आज ३०औं दिनमा पशुपतिमा आफूले बोकेर ल्याएको जल चढाएको उनले बताए ।

‘हिजो राति १० बजे पुगेकाले आज बिहानै जनैपूर्णिमाको अवसरमा हरिद्वारबाट बोकेर ल्याएको जल चढाएँ’ उनले भने । आफ्नो स्वास्थ्य अवस्था तन्द्रुस्त रहेको बताउने उनले अब एक महिना नेपालमै रहने बताएका छन् । ‘केही दिन आराम गरेपछि यतै पैदल यात्रा गर्ने योजना छ’ उनले भने ।

बाजुरामा जन्मेका चन्दु कार्कीको बाल्यकाल भारतमै बितेको थियो । उनका बुवाआमाले सानैमा भारत लगेकाले उनी उतै हुर्किए, उतै पढे । उनले अलमोडा विद्यालयबाट स्तातक पास गरेका छन् ।

त्यसपछि उनले भारतको दिल्लीस्थित जनपुरीमा एक बैंकमा काम गरे । सानैदेखि यात्रा गर्ने तथा आफ्नो धर्मसंस्कृति जोगाउने रुचि भएका उनी धेरै समय जागिरमा टिक्न सकेनन् । ६ महिना बैंकमा जागिर गरेपछि अन्ततः उनले आफ्नो धोकोलाई अगाडि बढाउने निधो गरे ।

सुरुवातमा उनले ११ महिनासम्म पैदल यात्रा गरेर पूरै भारतको भ्रमण गरे । उनले हिमाञ्चल र उत्तराखण्डको भने पूरै भू–भाग हिँडेर घुमेका छन् । त्यसपछि भने उनलाई आफ्ना मातृभूमि नेपालमा पनि घुम्ने रहर लाग्यो । त्यसका लागि उनले भारतको हरिद्वारबाट जल लगेर पशुपतिनाथको मन्दीरमा अर्पण गर्ने लक्ष्य लिए ।

सुरुमा त परिवारले उनलाई त्यसका लागि अनुमति दिएन । तर, धेरै प्रयास गरेपछि उनी परिवारको मञ्जुरी लिन सफल भएका थिए । त्यसपछि हरिद्वारबाट २ लोटा जल बोकेर उनी ३० दिनअघि त्यहाँबाट हिँडेका थिए ।

उनी एउटा झोला, सुत्नलाई म्याट, लठ्ठी र २ लोटा जल बोकेर हिँडेका थिए । आफूलाई शिवको भक्त बताउने उनले धर्म संरक्षणका लागि यो कार्य गरेको बताएका छन् ।

उनले नेपालीहरुबाट राम्रो साथ पाइरहेको बताएका छन् । ‘यहाँ एकदमै साथ सहयोग पाइएको छ । खानपान र बसोबासको हुन्छ । जोखिमयुक्त स्थान जस्तै बाटोमा पर्ने जंगल तथा निकुञ्ज सुरक्षाकर्मीको सहयोगबाट पार गर्छु । त्यसैले अब एक महिना नेपालमा पैदल यात्रा गर्ने योजना बनाएको छुँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस