शुक्रबार, ०२ कार्तिक २०८१

माओवादी र समाजवादीले नदिँदा पनि सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए २ तिहाइ मत

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्।

शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन्। ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्।

५३ सदस्यीय प्रदेश सभामा यो संख्या दुुई तिहाई हो।बैठकमा सहभागी माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरेर ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका थिए। स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशी भने तटस्थ बसेका छन्। बैठकमा राप्रपाकी खेमादेवी बिष्ट र माओवादी केन्द्रका ६ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिएनन्।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्रदेश सभा सदस्यले मतदान गरेको भन्दै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गरेका थिए।

संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस र एमालेको गठबन्धन बनेपछि २० साउनमा शाह मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए। २१ साउनमा पदभार ग्रहण गरेका शाहले सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए।

शाहले यसअघि माओवादी, एकीकृत समाजवादीसहितको समर्थनमा १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए।

मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै प्रदेश सरकारले अब चाडै चालु आर्थिक वर्ष २०८१र८२ को बजेट ल्याउने तयारी गरेको छ। यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट राजनीतिक समीकरण फेरिएपछि प्रदेश सभाबाट पारित हुन सकेको थिएन। बजेट पारित नभएपछि सुदूरपश्चिम १ साउनदेखि बजेट शून्यतामा गएको थियो।

शाह नेतृत्वको सरकार आएपछि तत्काल रोकिएको राजश्व संकलनको कामलाई सुचारु गर्न सामयीक कर संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो। सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले उक्त अध्यादेश प्रमाणीकरण गरेपछि मंगलबार बसेको प्रदेश सभाको बैठकबाट बहुमतले स्वीकृत समेत भइसकेको छ।

प्रतिक्रिया दिनुहोस