शुक्रबार, ०२ कार्तिक २०८१

आह ! तालै तालको पाटन बुढीनन्दा

बाजुरा : १५ हजार फिट उचाईको पहाड। जहाँ साउन भदौमा पनि सेताम्य हिउँ देखिन्छ। १० महिना सेतो हिँउको घुम्टोले नै ढपक्क ढाक्ने गर्छ । पहाडै पहाडको शहर छ। थप शोभा बढाएको छ, तालहरूले । जहाँ दर्जनको सङ्ख्यामा साना ठूलो तालहरू छन्। ती तालहरूको विशेषता आ–आफ्नै छ। कोही दानवका लागि महत्वको बोकेका छन्, कोही भगवानका लागि। त कोहीले मानवसँग पनि। पुग्नेहरू स्वर्गकै उपमाको संज्ञा दिन्छन्।  

सो स्थानमा बुढीनन्दा भगवतीले बास गर्छिन्। देवीको प्रत्येक वर्षको जनैपूर्णिमाको अवसरमा वर्षको एक पटक पूजा हुन्छ। धार्मीक आस्थाको धरोहरका रुपमा रहेको बुढीनन्दा क्षेत्रको महिमा उच्च भागमा रहेका तालहरूले दिएका छन्। उक्त क्षेत्रबाट मुगु, हुम्ला कालिकोट सहीतका जिल्लाहरूको दृश्य नियाल्न सकिन्छ, भने बझाङ्गमा रहेको साइपाल हिमाल र जेठीबैरानीको मनमोहक दृश्य हेर्न सकिन्छ।  

तालहरू मध्ये राक्षस दहमा दर्शनार्थीहरूले नजर समेत लगाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ। सोही मान्यता अनुसार ताल देखिएपनि दर्शनार्थीहरूले नदेखे झै गर्ने गर्छन्। त्यो तालमा राक्षसले मात्र नुहाउने गरेकोले दृश्य पनि निकै कालो देखिने गरेको, बुढीनन्दा दर्शन गर्न गएकाहररू बताउँछन्।

राक्षस दहको दृश्य देखेमा परिवारमा पीडा थपिने, देवी रिसाउने र मागेको बर नपाईने गरेको किवदन्ती रहेको छ। मन्दिर नजिकै रहेको अर्को तालमा दर्शनार्थीहरूले नुहाउने, गर्छन्। उक्त दहका नुहाएमा पापबाट मुक्त भइने र देवी खुसी भएर मागेको बर दिने भनाइ छ। तर, त्यसको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन हुन सकेको छैन। १५ हजार फिट उचाईमा देवीको मन्दिर छ  त्यो पनि पूर्खाहरूुले ढुङ्गाले बनाएको छ । संरचना राम्रो नभएपनि स्थान प्रकृतिकै उपमा रहेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको भनाइ छ।  

तिलिचो पछिको दोस्रो उचाईमा रहेका तालहरू बुढीनन्दामा पर्छन्। राज्यले कुनै खोजी गरेको छैन्, बोहराले गुनासो गरे। अब प्रचार प्रसार गर्ने र मुलधारमा ल्याउने जिम्मेवारी हाम्रो हो, हामी पालिका स्तरबाटै नै सुरुवाद गर्छौ, बोहराले थपे।

बुढीनन्दाको प्रचारप्रसार नहुँदा थाह भएकाहरू मात्र दर्शनका लागि जाने गरेका छन्। बाजुरा लगायत सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट भक्तजन आएपनि प्रचारको कमी छ। तालैतालको पाटनले भरिएको क्षेत्र हो, बुढीनन्दा। जहाँ उच्च हिमश्रृंखला भएको क्षेत्रमा दर्जन बढी ताल छन्।  

भक्तजनहरूले सन्तान र धन प्राप्तिका लागि बुढीनन्दा देवीको दर्शन गर्ने गरेका छन्। बडिमालिका देवीले नदिएको बर बुढीनन्दा देवीले दिने धार्मीक विश्वास स्थानीयमा छ। निःसन्तानिलाई सन्तान, दुःखीलाई सुःख अन्न धन प्राप्त हुने विश्वास हुने विश्वास छ।  

मार्तडीबाट कालाजग्रा पाण्डुसैन हुँदै कुरुखोला पुगिन्छ। कुरुखोलाको बास पछि धनभण्डार लेकमा पुगिन्छ। त्यहाँ ओढारमा बस हुन्छ र सदरमुकाम मार्तडीबाट तेस्रो दिन बढीनन्दा पुगिन्छ । नेपालगञ्जबाट कोल्टी विमान स्थल हुँदै गएमा दुई दिनमा पनि पुगिन्छ। तर, धार्मिक मान्यता अनुसार तीन दिन लगाएर पुग्नु पर्ने हुन्छ।  

सँधैको समयमा सो क्षेत्र जान सकिँदैन्। जेष्ठदेखि असोजसम्म मात्र सो क्षेत्रमा जान सकिन्छ। मागेको कुरा पाईने, धन लाभ हुने र बाँझोपन भएका, वा सन्तान नभएकाहरूका लागि सन्तान प्राप्त हुने धार्मीक विश्वास रहि आएको छ। सो क्षेत्रमा हकदाबी कोल्टी क्षेत्र नुरी र कुरुखोला क्षेत्रका स्थानीयको छ। उनीहरूले बुढीनन्दा क्षेत्रको वन क्षेत्रको उपयोग र सदुपयोग गर्ने गरेका छन् ।  

वर्षात्का चार महिना तल्लो क्षेत्रमा भेडा च्याङ्ग्रा चरिचरनका लागि छोडिन्छ भने हिउँ पग्लिएपछि जडिबुटीका लागि पनि स्थानीय बुढीनन्दा पाटन जाने गरेका छन्। आकर्षक पाटनहरु तथा ताल वरिपरि रहेका आकर्षक झर्नाहरूले त्यहाँ जाने जो कोहीको पनि मन लोभ्याउने गरेको छ।

खाली खुट्टाले एक दिनको पैदल यात्रा गरे पनि खुट्टामा कुनै प्रकारको कठिनाई नहुने विश्वास छ। सोही बमोजिम बुढीनन्दा यात्रामा जाने भक्तजनहरूले खाली खुट्टा दर्शनका लागि मन्दिर पुग्ने गर्छन्। दलित समुदाय जानु हुँदैन, अनिष्ट हुन्छ भन्ने कुमान्यता रही आएको थियो, त्यो गएको तीन वर्षयता मात्र तोडिएको छ।  

बुहुमूल्य जडिबुटीको खानी तथा लोपन्मुख बन्य जन्तु र चराचुरुङ्गीहरूको बसोबास क्षेत्र पनि सोही स्थानमा पर्छ। रङ्गी चङ्गी फूलहरूको मनमोहक दृष्य हेर्न पाउनु भक्तजनहरूका लागि अर्को सौभाग्य पनि हो। यो क्षेत्र मानसरोसर क्षेत्रसँग पनि जोडिएकोले धार्मिक विशेष बढी छ।  

सरकारी प्रयास शून्य

बुढीनन्दा क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारी प्रयास भने भएको छैन्। प्रकृतिको उपमा बुढीनन्दा राज्यको नजर बाहिर छ। त्यसको नत प्रचार हुन सकेको छ नत संरक्षण नै। २०७० सालमा तत्कालिन नेकपा एमाले बुढीनन्दा यात्रा गरेको थियो। त्यसपछि मात्रै दलित समुदायले त्यो क्षेत्रमा प्रवेश पाएको थियो। त्यस अभियान पछि मात्र बुढीनन्दाले बढी महत्व पाएको हो।

त्यो बाहेक नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बाजुराले तत्कालिन अध्यक्ष ब्रोसर प्रकाशन गरेको छ । हुनु पर्नेजति प्रचार नहुँदा पनि बुढीनन्दाको सौन्दर्य र महिमाले चर्चा पाएको छैन्। यो वर्षबाट केही प्रचारका गतिविधि गर्ने तयारी गरिएको बुढीगङ्गा नगरपालिका–४ का अध्यक्ष राजन रोकायाले बताए। पर्यटकीय सम्भावना बोकेको क्षेत्रको प्रवद्र्धन गर्न सके स्थानीयको आयआर्जनमा वृद्धी हुने देखिन्छ। जसका कारण स्वर्ग जस्तै बुढीनन्दा ओझेलमा छ।  

प्रतिक्रिया दिनुहोस