आइतबार, २३ भदौ २०८१

हामी काम भइरहेको छ भन्न होइन काम सकियो भन्न आतुर छौं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको ५ प्राथमिकता रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थालेको काम पूरा गर्ने, काम गर्ने क्षमता अभिवृद्धि गर्ने, मूल्यांकन प्रणाली बलियो बनाउने, नीतिगत सुधार गर्ने र निर्माण व्यवसायीको भुक्तानी समयमा नै दिने आफ्नो सरकारको प्राथमिकता सुनाएका हुन् ।

नेपालका धेरै विकास आयोजनाहरु वर्क इन प्रोग्रेस ९काम भइरहेको छ० मात्र रहेको भन्दै उनले भने, ‘यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भन्ने सुनाउन आतुर छ ।’

ओलीले विकास आयोजनामा काम भइरहेको देखिने तर कहिल्यै नसकिने देखिएको भन्दै यस्ता आयोजनालाई समेत राष्ट्रिय गौरवमा राखिएको भन्दै आश्चर्य व्यक्त गरे ।

‘कहिले सक्छु भन्ने टुंगो नलाग्ने तर राष्ट्रिय गौरवको आयोजना भनिने, अब हामी विकासका मामिलामा देखिएको यस्तो अनुशासनहीनताको अन्त्य गर्छौं’, उनले भने ।

प्रधानमन्त्री ओलीले सरकारको काम गर्ने क्षमता पनि बढाउने बताएका छन् । हरेक मन्त्रालयले आफ्नो काम व्यवस्थित ढंगले गर्नुपर्ने र मन्त्रालयको कार्यक्षमता सूचक बनाउने र बजेट खर्चको मूल्यांकनका लागि विशेष व्यवस्था गर्ने प्रधानमन्त्री ओलीले बताए ।

सरकारको खर्च गर्ने क्षमता बढाउने, काम गर्ने र नगर्ने कर्मचारीबीच फरक छुट्याउने प्रधानमन्त्रीले बताए ।

‘काम गर्नेले मुद्दा खेप्नुपर्ने र काम नगर्नेहरु स्वच्छ छविको भएर रिटायर्ड हुने वातावरण अन्त्य गरिनेछ’, उनले भने । लापरवाही र बदनियतसाथ गरिएको अनुचित विलम्बका कारण आयोजनाको लागत बढेमा कारबाही गर्ने र ठेक्काको दुरुपयोग गर्नेलाई पनि कारबाही गर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले विकास निर्माणको कामलाई तिब्रता दिन कानुन र नीतिको सुधार गर्ने र निर्माण व्यवसायीले गरिसकेको कामको भुक्तानी छिट्टै दिन पनि ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस