बाजुरा : बाजुरामा एक वर्षमा ४३ हजार ३ सय फलफूलका विरुवा रोपिएका छन् । कृषि ज्ञानकेन्द्र बाजुरा मार्फत सुदुरपश्चिम प्रदेश र स्थानीय तहका कृषि विकास शाखाबीचको सहकार्यमा विरुवा रोपिएका हुन् ।
२०८० साउनदेखि ०८१ को असार मसान्तसम्म्म विभिन्न जातका ४३ हजार ३ सय फलफूल रोपिएको कृषि ज्ञानकेन्द्र बाजुराका निमित्त कार्यलय प्रमुख भुमिराज उपाध्यायले जानकारी दिएका छन् । ज्ञान केन्द्रले प्रत्येक वर्षफलफूल खेतीको प्रवद्र्धन गर्न रोपण कार्य गर्दै आएको छ ।
फलफूल खेतीमा जिल्लालाई आत्मनिर्भर गर्न बाजुराका नौ वटै स्थानीय तह मार्फत वितरण कार्य गरिएको छ । बाजुरा फलफूल खेतीका लागि प्रचुर संभावना बोेकेको जिल्ला हो । वृक्षारोपण कार्य १५ वटा समुह मार्फत गरिएको ज्ञान केन्द्र बाजुराले बताएको छ ।
रोपिएका मध्ये १६ हजार ९ सय ५० सुन्तला, १ हजार ५ सय मेलका बोटमा नास्पती कलमी, २१ हजार पचास कागती, पाँच सय जुनार, पचास अमिलो, २ हजार पाँच सय आँप, पाँच सय लिची, एक सय एभोकाडो रहेका छन् । करिब २ सय ९८ हेक्टर जमिनमा ४३ फलफूल वितरण गरिएको हो ।
रोपिएका मध्ये बाजुराकै नर्सरीमा उत्ािलदन गरिएको १५ हजार ७ सय र बाँकी सबै जिल्ला बाहिरबाट ल्याएर रोपण गरिएको हो । सुदुरपश्चिम प्रदेश सरकारको “कुन्नादरा हराभरा” कार्यक्रम अन्तरगत बुढीनन्दा नगरपालिका २, हिमाली गाउँपालिका ६, स्वामिकार्तिक गाँउपालिका ४, र जगन्नाथ गाउँपालिका ३ मा फलफुल बगैँचा स्थापना गरी बर्खे फलफुलका सुन्तला, कागती, टिमुर, र हिउँदे फलफुलका दाँते ओखर र र स्याउका विरुवा रोपिएका कृषि ज्ञानकेन्द्र बाजुराले बार्षिक प्रतिवेदनमा देखाएको छ ।
बृहत तथा विशेष उत्पादन क्षेत्र बिस्तार कार्यक्रम अन्तरगत बडीमालिका नगरपािलका वडा नं ९ उखाडीमा सुन्तला, बुढीनन्दा नगरपालिका ९ अंगाउपानिमा स्याउ,खप्तड छेडेहद गाँउपालिका वडा ५ डोगडीमा ओखर, स्वामिकार्तिक गाउँपालिका ५ जेरामा ओखर, हिमाली गाउँपालिका ४ फैतीमा सुन्तला र कागती रोपि ७ हजार ३ सय बर्खे फलफुल र ७ हजार ३ सय हिउँदे फलफुलका तीनवटा बृहत फलफुलका बगैचा स्थापना गरिएका छन् ।
२ लाख ३० हजार ३७ हेक्टर क्षेत्रफल रहेको बाजुरामा २८ हजार १ सय ३५ अर्थात् कुल क्षेत्रफलको १२.२३ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । जसमा २६ हजार १ सय ६० अर्थात् खेतीयोग्य जमिनको ११.३७ प्रतिशत जमिनमा खेती गरिएको छ ।
कुल क्षेत्रफलको २.२९ प्रतिशत र खेतीयोग्य क्षेत्रफलको १८.७८ प्रतिशत सिंचित क्षेत्र रहेको छ । खेतीयोग्य तर खेती नगरिएको जमिनमा मात्रै पनि फलफुल लगायत विभिन्न किसिमको खेती गर्न सके बाजुरा जिल्लाको भोकमरीमा न्युनिकरण तथा अर्थतन्त्रमा वृद्धिभै जिल्ला मै रोजगारी सृजना गर्न सकिने कृषि विज्ञहरुको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस